site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीले कति सांसदको साथ पाउलान् ? यस्तो छ अंकगणित
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै छन् ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठकबाट विश्वासको मत लिने जानकारी आजको बैठकमा सभामुख देवराज घिमिरले दिएका थिए ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । कुल २७५ सदस्यीय संसद्बाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मत चाहिन्छ ।

Agni Group

गएको पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले पुस २६ गते २६८ सांसदबाट विश्वासको मत पाएका थिए । त्यतिबेला नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले पनि विश्वासको मत दिएका थिए । तर, ती दुवै दल प्रतिपक्षमा बसे ।

अहिले गठबन्धनको समीकरण फेरिएको छ । संसद्को प्रमुख दल एमालेसहित प्रतिपक्षमा पुगेका छन् भने कांग्रेस सत्तामा पुगेको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने निश्चितजस्तै छ ।

Global Ime bank

शनिबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूले विश्वासको मत दिनेमा सहमति जनाएका थिए ।

बैठकमा सत्ता गठबन्धनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा (राजमो), प्रभु साह नेतृत्वको आम जनता पार्टी र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गरी कुल १० दलका नेता सहभागी थिए ।

प्रचण्डले कति सांसदको साथ पाउलान् ?

नेपाली कांग्रेस : मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका ८९ सांसद निर्वाचित भएका थिए । तर, कांग्रेसबाट प्रधानमन्त्रीलाई ८६ मत मात्र आउने देखिन्छ । निर्वाचितमध्ये मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । तनुहँ–१ बाट निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् । उक्त स्थान रिक्त छ । त्यस्तै, कांग्रेस सांसद चन्द्र भण्डारी उपचारका लागि भारतमा छन् ।

माओवादी केन्द्र : प्रतिनिधि सभामा माओवादीका ३२ सांसद छन् । जसमध्ये सांसद वर्षमान पुनः उपचारका लागि चीनमा छन् । त्यसैले माओवादीसँग ३१ मत हुने देखिन्छ । 

एकीकृत समाजवादी : एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सांसद छन् । 

जसपा : मंसिर ४ को निर्वाचनबाट प्रतिनिधि सभामा जसपाका १२ जना सांसद निर्वाचित भएका थिए । जसमा बारा–२ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी निर्वाचित भएसँगै बारा–२ रिक्त छ । त्यस्तै, जसपाकी समानुपातिक सांसद सहनाज रहमानको निधन भएको छ ।

जसपाले उनको स्थानमा मन्जु अन्सारीलाई निर्वाचित गर्न सिफारिस गरिसकेको छ । आयोगले निर्वाचित भएको जानकारी गराइसकेको छैन । त्यसैले जसपाबाट प्रधानमन्त्रीको पक्षमा १० मत पर्ने देखिन्छ ।

रास्वपा : सरकारलाई समर्थन दिँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको  छ ।  बसुन्धरास्थित पार्टी कार्यालयमा बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

मंसिर ४ को निर्वाचनबाट रास्वपाका २० सांसद निर्वाचित भएका थिए । जसमा चितवन–२ बाट निर्वाचित भएका रास्वपा सभापतिसमेत रहेका रवि लामिछानेको नागरिकता मुद्दामा पद खारेज भएको थियो । उक्त स्थानमा वैशाख १० गते उपनिर्वाचिन हुँदै छ । रास्वपाबाट प्रधानमन्त्रीले १९ सांसदको साथ पाउनेछन् । 

लोसपा : प्रतिनिधि सभामा लोसपाका चार सांंसद छन् । सत्ता गठबन्धनमा रहेको दल लोसपाले हिजोको बैठकमा मत दिने वचन दिएको छ । 

नागरिक उन्मुक्ति पार्टी : सत्ता गठबन्धनमा रहेको दल नागरिक उन्मुक्तिसँग प्रतिनिधि सभामा चार सांसद छन् ।

जनमत : प्रतिनिधि सभामा जनमतका ६ सांसद छन् । जनमत सत्ता गठबन्धनमा आबद्ध दल हो । 

जनमोर्चा : सत्ता गठबन्धनमा रहेको दल जनमोर्चासँग प्रतिनिधि सभामा एक सांसद छन् । जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन समर्थन जनाइसकेको छ । 

स्वतन्त्रबाट : प्रतिनिधि सभामा निर्वाचित स्वतन्त्र सांसद प्रभु साह र अमरेश सिंहले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै छन् । आम जनता पार्टीको नेतृत्व गरिरहेका साहले गठबन्धनको बैठकमा मत दिने प्रतिबद्धता जनाइसकेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउने क्रममा हस्ताक्षर गरेका अमरेशले बाह्रखरीसँगको कुराकानीमा आफूले विश्वासको मत दिने बताए । 

यसरी हेर्दा प्रधानमन्त्रीले १७३ सांसदको साथ पाउने देखिन्छ । 

विपक्षमा एमाले, राप्रपा र नेमकिपा

प्रधानमन्त्रीको विपक्षमा संसद्को दोस्रो ठूलो दल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को मत पर्ने देखिन्छ । 

एमाले : प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा गठबन्धन फेरिपछि सरकारबाट बाहिरिन बाध्य भएको एमाले उनको विपक्षमा उभिने तयारीमा छ । सचेतक महेश बर्तौलाले पार्टीले विश्वासको विपक्षमा मतदान गर्ने बताए । प्रतिनिधि सभामा एमालेका ७९ सांसद छन् । जसमा झापा–२ बाट निर्वाचित देवराज घिमिरे सभामुख बनेका छन् । संसद्मा पक्ष र विपक्षमा बराबर मत परे मात्रै सभामुखले मतदान गर्न पाउँछन् । त्यस्तो अवस्था नहुने भएकाले सभामुखले मत हाल्ने देखिँदैन ।

त्यस्तै, महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित लक्ष्मी महत्तो कोइरी हत्या आरोपमा फरार छन् । एमालेबाट ७७ मत विपक्षमा खस्ने देखिन्छ । 

राप्रपा : राप्रपा पनि प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । राप्रपा प्रधानमन्त्रीको विपक्षमा उभिने तयारीमा छ । 

“हामीले सरकारको समर्थन फिर्ता लिएपछि सरकारलाई विश्वासको मत लिनुपरेको हो । हामी विपक्षमा उभिन्छौँ,” राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बाह्रखरीसँग भने । 

प्रतिनिधि सभामा राप्रपाका १४ सांसद छन् । 

नेमकिपा :  नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सरकारको विपक्षमा उभिँदै आएको छ । प्रतिनिधि सभामा १ सांसद रहेको नेमकिपा विश्वासको मत दिने पक्षमा छैन । 

त्यस्तै, स्वतन्त्र सांसद योगेन्द्र मण्डल पनि सरकारको पक्षमा छैनन् । उनले अनौपचारिक रूपमा एमालेलाई साथ दिँदै आएका छन् । 

यसरी हेर्दा प्रधानमन्त्रीको विपक्षमा ९३ सांसद उभिने देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC