site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

देशको आर्थिक अवस्थाप्रति सरकार गम्भीर भएको विश्वास जगाउन नसके सङ्कट कुनै पनि बेला देखिन सक्छ । विप्रेषणमा वृद्धिका कारण परिवर्त्य विदेशी मुद्राको सञ्चिति बढ्दैमा अर्थतन्त्र उभो लागेको ठान्नु सही हुँदैन ।


अमेरिकामा केही दिनभित्रै दुईवटा बैंक बन्द भएपछि नियामक निकायले हस्तक्षेप गर्न र अमेरिकी बैंकिङ प्रणाली सुरक्षित रहेको विश्वास कायम राख्न राष्ट्रपति जो बाइडेन स्वयंले आश्वासन दिनुपर्‍यो । अर्थतन्त्रमा सन् २००८मा जस्तै सङ्कटमा जाने सन्देह प्रकट गरिँदैछ ।


नेपालमा हालैका दिनमा वित्तीय संस्थाहरूमा सङ्कटका सङ्केतहरू देखिएका छन् । विशेषगरी अधिकांश लघु वित्त र सहकारी संस्थाहरूको वित्तीय अवस्था सन्तोषजनक नभएको समाचार हालैका दिनमा बढी नै सार्वजनिक भएका छन् । 


अर्कातिर, वित्तीय अवस्था अपेक्षाकृत सन्तोषजनक मानिएका बैंक र वित्तीय संस्थाहरूको ब्याजदर धान्नै नसकिनेगरी चर्को एको गुनासो उद्यमी व्यवसायीले गरिरहेका छन् । यही गुनासोलाई अराजक प्रवृत्तिका व्यक्तिहरूले जनआक्रोशमा बदल्न खोजेको देखिएको छ ।


अर्थात्, जस्तो तस्बिर देखाइए पनि वित्तीय प्रणालीमा निक्षेप असुरक्षित हुने र लगानी डुब्ने जोखिम बढ्दै गएको छ । सेयर बजार निरन्तर खस्कँदो छ । अलिकतिमात्रै पनि सन्तुलन बिग्य्रो भने यस्तो जोखिम सङ्कटमा बदलिन धेरै बेर लाग्दैन ।


यस्तो गम्भीर अवस्थामा पनि अर्थ मन्त्रालय नेतृत्वविहीन छ । प्रधानमन्त्रीले समालेको भनिए पनि राजनीतिक समस्याहरूमै उनको ध्यान केन्द्रित भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका पदाधिकारीहरू भने समस्याग्रस्त ऋणीहरूको मर्का सुन्नभन्दा चेतावनी दिन व्यस्त देखिन्छन् ।

संकटमा परेका लघु वित्त एवं सहकारीबाट जनसाधारणको निक्षेप डुब्न नदिने, ऋणीहरूमाथि ब्याजको गरुंगो बोझ कम गर्ने उपाय सरकार तथा राष्ट्र बैंकले बेलैमा अपनाउनु आवश्यक छ । साथै, यस क्रममा सकेसम्म राज्यको ढुकुटीमा कुनै भार पार्नु हुँदैन । 

बैंकिङ प्रणाली धितोका भरमा नभएर विश्वासका आधारमा चल्ने हो । बैंककै हठ र लोभका कारण व्यवसायीहरू डुबे वा लगानी हुन छाड्यो भने बैंकहरू पनि सङ्कटमा पर्नेछन् । अहिले ब्याजदर केही कम गर्दा बैंकहरू नाफा कम भए पनि घाटामा जाँदैनन् ।

अमेरिकामा सङ्कटको सङ्केत देखिनेबित्तिकै विज्ञहरूले केन्द्रीय बैंकले ब्याजदर बढाउने गति मन्द गरेर बैंकहरूलाई बचाउनुपर्ने सल्लाह दिएका छन् । नेपालमा पनि ब्याज दरको अन्तर (स्प्रेड) कम गर्न दिइएको सल्लाह मनन गर्नु उचित देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro