site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मार्च आठ र दलित महिला

आठ मार्चका दिन संसारभर अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाइन्छ । यस दिवसलाई संयुक्त राष्ट्रसंघ महिला नामक संस्थाले आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धि र समस्यामा छलफल गरी मनाउँदै आइरहेको छ । महिला दिवसको यस वर्षको नारा लैंगिक समानताका लागि प्रविधि र नवीनता रहेको छ । 

अर्कातिर, यस्ता दिवसले समग्र उत्पीडित महिला विषेशगरी गरिब मुुलुकका महिलाको अवस्थामा अपेक्षित उपलब्धि हासिल हुनसकेको छैन भन्ने मत राख्ने अभियानकर्ताको उपस्थिति पनि बाक्लै देखिन्छ ।

यस्ता दिवसहरु मनाइरँहदा पनि अल्प विकसित मुलकका, विशेषगरी अश्वेत, अफ्र्रिकी र दक्षिण एसियाका दलित महिलाको अवस्था किन अत्यन्त निरीह छ भन्ने ठूलो प्रश्न उठिरहेकै छ । किन यी महिलाहरुको शिक्षा, स्वास्थ्य, आम्दानीजस्तै व्यक्तिगत जीवन अन्य महिलाभन्दा कमजोर छ ? किन उनीहरुको सार्वजनिक जीवन हेलोहोचो, उत्पीडन, हिंसा, बलत्कारबाट गुज्रिरहेको छ  ? भन्नेजस्ता अनेक सबालहरु देखिन्छन् । जसरी संसारमा विविधता रहेको छ र विभेदमा पनि विभिन्नता देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी महिलाहरुबीच पनि विविधता रहेको छ । सबै प्रकारका महिलाहरु लंैगिक हिंसाबाट उत्पीडित रहे पनि यो उत्पीडनको क्षेत्र र मात्रा फरक हुन्छ । सोहीअनुसार यस्ता दिवसहरुले अभियान सञ्चालन गर्नुपर्छ भन्ने उनीहरुको बुझाइ छ ।

महिलामाथि हुने उत्पीडन र शोषणविरुद्ध संसारमा महिलाहरुले सदियौँदेखि आआफ्नै प्रकारले प्रतिरोध गर्दै आइरहेका छन् । महिला आन्दोलनको सुरुआत भएको लगभग ४५० वर्ष भयो ।  संसारमा हाल उदारवादी, माक्र्सवादी, क्रान्तिकारी, समाजवादी महिला मुक्त्ति आन्दोलन चलिरहेका छन् ।

Global Ime bank

यी धारणप्रति थुपै प्रकारका प्रश्न र आरोपहरु प्नि छन् । पहिलो आरोप के छ भने यी सिद्धान्तहरुमा महिलाको परिभाषा अपूूर्ण रहेको छ । यसले सबै महिला समान छन् भन्ने मान्यता राख्छन् । परन्तु, महिलाभित्र पनि श्वेत/अश्वेत, पश्चिमा/पूर्वीय, उत्तर/दक्षिण, धनी/गरिब महिला हुन्छन् ।

यी सिद्धान्तहरुले किन एउटी महिलाले रंग, जातीयता, वर्ग, ठाउँ आदिका आधारमा अर्की आफूजस्तै महिलालाई उत्पीडन गर्छिन् र यिनीहरुबीचमै किन असमानता रहेको छ भन्ने विश्लेषण गर्दैन ।

यी सिद्धान्तहरु अमेरिका र युरोपका गोरी मध्यमवर्गीय महिलालाई ध्यानमा राखेर प्रतिपादन गरिएका हुन् भन्ने आरोप पनि छन् । त्यसैेले अमेरिकाको महिला आन्दोलनले गोरी भए पनि गरिब, आप्रवासी, अश्वेत महिलाको समस्यालाई यस्ता दिवसहरुले सम्बोधन गर्न सकेनन् भनिन्छ । 

त्यसैगरी, यी सिद्धान्तहरुले उत्पीडकहरुको परिभाषा पनि स्पष्टरुपमा गरेका छैनन् भनिन्छ । पुरुष उत्पीडक हो, पुँजीवादी पुरुष उत्पीडक हो, यिनले प्रभुत्व जमाएको संस्था उत्पीडक हो भनियो तर कस्तो रंगको, कस्तो ठाउँको, कस्का लागि, कस्तो प्रकारको पुरुष उत्पीडक हो भनेर विश्लेषण गरिएन । यिनै कमजोरीलाई सम्बोधन गर्न अमेरिकाबाट फरकधार महिलावादी आन्दोलन बाहिर आएको दखिन्छ ।

उनीहरुका अनुसार समाजमा साधन र स्रोतहरु वर्ग, रंग, जातीयताका आधारमा असमानरुपले वितरण भएको हुन्छ ।

जस्तै श्वेतहरु साधन सम्पन्न हुन्छन् । त्यसैले श्वेत र अश्वेत महिलाबीच असमानता हुन्छ । धनी र गरिब महिलाबीच खाडल निर्माण हुन्छ र महिला महिलाबीच विभेद र उत्पीडन उत्पन्न गर्छ भनिन्छ । 

यस अवधारणका अभियन्ताहरुले किन र कसरी एक गोरी महिलाले अर्की महिलाप्रति उत्पीडन, विभेद गर्छिन् भनी विश्लेषण गर्छन् ।

यिनीहरुले महिला र पुरुषबीचको सम्बन्धमात्र नहेरी, असमानता, विभेद, उत्पीडनका सबै पाटालाई विश्लेषण गर्छन् । समाजका कमजोर महिला जस्तै गरिब अश्वेत महिलामाथि पुँजीपति, शक्तिशाली श्वेत पुरुष किन र कसरी निर्दयी हुुन्छ र अत्याचार गर्छ भन्ने मिहिन पक्ष पनि विश्लेषण गर्नुपर्छ र यस्ता दिवसका कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ भन्ने यी अभियन्ताको धारणा देखिन्छ ।

अश्वेत अमेरिकी महिला अधिकारकर्मीले सञ्चालन गरेको फरकधारका महिला आन्दोलनबाट सिक्दै भारतीय मूलधारका महिला आन्दोलनलाई नकार्दै भारतबाट दलित, आदिवासी, बहुजन फेमिनिज्म पनि सुरु भएको पाइन्छ ।

यसमा पनि केही अभियन्ताले अफ्रिकी–अमेरिकी महिला र यी महिलाहरुले समान खालको ऐतिहासिक विभेद भोगेको हुनाले त्यसका सिकाइहरु लागु गर्नुपर्छ भनेका छन् भने धेरै महिला अधिकारकर्मीले यी महिलाका समस्या रंगका आधारमा नभई जातिका आधारमा भएको र हिन्दु धर्मसँग जोडिएका हुनाले फरक ढंगले जानुपर्छ भन्ने मान्यता राख्छन् ।

यस्ता अभियान वा आन्दोलन स्वाभाविकरुपमा महिलामाथि हुने उत्पीडन र हिंसाविरुद्ध सदीयौंदेखि चल्दै आएका छन् । यसले लैंगिक विभेदविरुद्ध आवाज उठाइरहेको पनि छ । तर, के लैंगिक उत्पीडनविरुद्ध आवाज उठाउनु नै महिला आन्दोलनका लागि पर्याप्त छ ?

यो महिला आन्दोलनका लागि महत्त्वपूर्ण र गंभीर प्रश्न हो । यसपछि जातीय विभेदविरुद्ध, रंगका आधारमा हुने उत्पीडन, क्षेत्रीय शोषण, आर्थिक शोषण, शैक्षिक असमानताविरुद्ध पनि समान रुपमा आवाज उठाउनु पर्छ कि पर्दैन भन्ने प्रश्न पनि खडा हुन्छ ।

नेपालमा पनि महिला आन्दोलनको संगठित प्रयासले एक शताब्दी नाघेको छ । विसं. १९७३ सालमा योगमाया न्यौपानेको नेतृत्वमा गठित महिला समिति नामक संस्था नै नेपालमा पहिलो र संस्थागत संगठन हो ।

नेपालको महिला आन्दोलनले सुरुदेखि नै विविधतालाई सम्बोधन गर्ने प्रयास गरेको थियो र यसले समग्र महिलाको सशक्तीकरणका सन्दर्भमा अत्यन्त सकारात्मक भूमिका खेलेको देखिन्छ । योगमाया बहुविवाह, बालविवाह तथा अनमेलविवाहविरुद्ध थिइन् ।

उनले समाजमा रहेको जातीय तथा महिलामाथि हुने विभेदको विरोध गरेकी थिइन् । नेपालमा त्यतिबेलासम्म पनि कायम रहेकोसती प्रथाको पनि उनले खुलेरै विरोध गरेकी थिइन् । 

नेपालमा यो अन्तर्राष्ट्रिय महिला दिवसलाई ०४६ सालको आन्दोलनपछि महिला दिवसको रुपमा मनाउन थालिए पनि २०५८ सालमा राष्ट्रिय महिला आयोग गठन भएपछि आयोगकै तर्फबाट श्रमिक महिला दिवस नाम दिई मनाइएको पाइन्छ ।

त्यसपछि २०७४ सालमा श्रम कानुन निर्माणपछि यो दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाइँदै आएको छ। नेपालमा मनाइने यस्ता दिवसहरु महिलाभित्रका विविधतालाई सम्बोधन गरी सञ्चालन गर्नुपर्छ र वास्तविक श्रमिक महिलालाई केन्द्रमा राख्नुपर्छ भन्ने माग व्यापकरुपमा उठेको छ । 

नेपाल बहुजातीय, बहुभाषिक र भौगोलिक विविधता भएको देश हो । यसैले महिलाहरुबीच पनि विविधता छ । यहाँ ब्राम्हण क्षेत्री, खस महिला, दलित महिला, जनजाति महिला, मुस्लिम महिला, अपाङ्गता भएका महिला तथा दुर्गम क्षेत्रका महिला छन् ।

यी महिलाहरुबीचै पनि थुप्रै प्रकारका असमानता छन् । यी महिलाहरुमाथि हुने उत्पीडनका स्वरुप र दायरा पनि फरकफरक छन् । यी महिलाहरुका माग, आवश्यकता, प्राथमिकता पनि फरकफरक छन् । यस्ता दिवसहरुमा सञ्चालन गरिने अभियानहरु यी समग्र महिलाहरुको चासो, समस्या र प्राथमिकतालाई ध्यानमा राखेर गरिनुपर्छ ।

उनीहरुमाथि हुने लैंगिक हिंसाको विविधतालाई एकै ठाउँमा सोलोडोलोमा राख्दा स्वाभाविकरुपमा सहरीया, सभ्रान्त, उच्च जातका पहाडी मूलका महिलामात्र लाभान्वित हुने र अरु महिला पीडित हुने कुरालाई अस्वीकार गर्न सकिँदैन । 
महिलाभित्र पनि एक महिलाले अर्की महिलालाई गर्ने भाषागत, जातीय, धार्मिक विभेद, छुवाछुत उत्पीडन आदिलाई विश्लेषण गरेर सोहीअनुसार अभियान सञ्चालन गर्दा लाभदायक हुन्छ । 

नेपालमा २००८ सालमा महिला संघ र अखिल नेपाल महिला संघको स्थापनापश्चात् संस्थागतरुपमै महिला आन्दोलन सुरु भएको पाइन्छ ।

यस अवधिमा महिला मुक्तिका लागि भन्दै थुप्रै संघसंस्था र संगठनहरु निर्माण भएका छन् र कैयौं आन्दोलन पनि भएका छन् ।

यी सबै संरचना, नीतिनियम र आन्दोलनहरुले दलित महिला, वादी महिला, मधेसी महिला, मुस्लिम महिला, जनजाति महिला, गरिब महिला, कर्णाली क्षेत्रका महिलाहरुका निर्दिष्ट माग, आवश्यकता र प्राथमिकता, प्रतिनिधित्वका सवाललाई कसरी सम्बोधन गरेको छ ?

छुवाछुत तथा जातीय विभेद, जातीय अत्याचार र हिंसाविरुद्ध आवाज उठायो कि उठाएन? दलित महिला भएकै कारण हुने यौन शोषण, बलात्कार र अन्तरजातीय प्रेम तथा विवाहका नाममा गरिने हत्याविरुद्ध कस्ता प्रयासहरु गरिए ? कहाँ कमजोरी रहे भन्नेजस्ता पक्षको विश्लेषण गरेर यस्ता अभियान सञ्चालन गर्न आवश्यक देखिन्छ । 

नेपालमा दलित महिला सबैभन्दा बढी हिंसा सहन बाध्य समूह हो । उनीहरु नै नेपालका वास्तविक श्रमिक महिलाहरु हुन् । अधिकांश दलित महिलाहरु शारीरिक श्रमको काममा रहेका छन् ।

अधिकांश ग्रामीण इलाकामा दलित महिलाहरु कृषि मजदुरकै रुपमा रोजगारमा रहेका छन् । अधिकांश पुरुषहरु भारतमा रोजगारमा जाने र कुनै विकल्प नभएपछि महिलाहरु गाउँकै जमिनदारको खेतमा रोपाइँ गर्ने, मल बोक्ने, बाली काट्नेजस्ता काम गर्छन् ।

सहरीकरण भइरहेको ठाउँमा उनीहरु घर तथा बाटो निर्माणमा मजदुुरका रुपमा काम गर्छन् । बालुवा बोक्ने, बालुवा चाल्ने, ढुंगागिटी कुट्ने, इँटा बोक्ने, सिमेन्ट बोक्ने, सिमेन्ट बनाउने, घर रंगाउनेजस्ता काममा अधिकांश दलित महिला रहेका हुन्छन् ।

यसैगरी दलित महिलाहरु निम्न स्तरको प्रदूषणयुक्त काममा पनि रहेका हुन्छन् । बाटो र नाली सफा गर्ने, शौचालय सफा गर्नेजस्ता सरसफाइका काममा रहेका छन् । दलित महिलाको शिक्षित रोजगारदर पनि  बिस्तारै बढ्दै भने गएको छ ।

नेपालको मूलधारको महिला अभियानले महिलामाथि हुने उत्पीडनमध्ये घरेलु लैङ्गिक हिंसालाई बढी महत्त्व दिएको पाइन्छ । तर, दलित महिलाहरुले बढी उत्पीडन भने सार्वजनिक स्थल वा घरबाहिर भोग्नुपर्छ ।

मूलधारको महिला आन्दोलनको प्राथमिकता समान मौका, समान ज्यालाजस्ता सबालमा बढी केन्द्रित देखिन्छ । तर, दलित महिलाका समस्या भने मानसिक अत्याचार, यौन उत्पीडन, बलात्कार, प्रणालीगत वेश्यावृत्ति सबैभन्दा जटिल हुन् । 

मूलधारको महिला आन्दोलनले महिला उत्पीडनको जातीय कारण विश्लेषण गरेको पाइँदैन । उदाहरणका लागि कतिपय रोजगार जस्तै खाना पकाउने वा भात पकाउने काममा जातीयताकै कारणले गर्दा दलित महिलाले काम पाउँदैनन् । दलित महिलाले चिया पसल, होटेल खोले भने पनि सफल हुँदैन ।  


यसैले यस्ता अभियानहरु दलित महिला केन्द्रित हुनु आवश्यक देखिन्छ । अधिकांश दलित महिला गरिब, सर्वहारा वर्ग, श्रमिक वर्ग भएकोले उनीहरुको जीविकोपार्जनमा सुधार हुने अभियान सञ्चालन हुनसकेमात्र समग्र महिलाहरुको सशक्तीकरण हुन सक्छ ।

औपचारिक शिक्षामा पहुँच कम भए पनि दलित महिलाहरु सीप, कला, कौशलका धनी हुन्छन् । यसैले यस्ता सीपको विकास र प्रयोग बढाउन राज्यले कस्तो खालको नीति अपनाउनु पर्छ भन्ने बहस हुनसके श्रमिक महिला दिवस मनाउनुको महत्त्व पनि बढ्नेथियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २४, २०७९  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC