site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कोरोनाले घरको मूल खाँबो भाँचिदियो !

बुवाको तालिकाबद्घ फुर्तिलो जीवन शैली थियो । उमेर २०७७ भदौमा ६९ पूरा भएको थियो । कुनै दीर्घ रोग थिएन । यस्तैमा बुवालगायत सबैको दैनिकी एकाएक फेरियो ।

१५ आश्विन २०७७ 

मेरो १४ वर्षको छोरालाई टन्सिल बढेर हनहनी ज्वरो आएको छ । बुवा सुतिरहेको नाति नजिक बारम्बार पुगिरहनु भएको छ । प्यारो नातिलाई सुम्सुम्याई रहनुहुन्छ । ज्वरो नापेर आवश्यकताअनुसार सिटामोल खुवाउनु हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

१७, आश्विन 

दुई दिन निस्लोट सुतेको छोरोको ज्वरो आजबाट कम भयो । तैपनि लत्रिरहेको छ । शारीरिक कमजोरी भने स्पष्ट देखिएको छ । बेलुकापख छोरीलाई पनि ज्वरो आयो । 

Global Ime bank

१८, आश्विन 

बेलुका चार बजेतिर म कार्यालयमै थिएँ । शरीर एक्कासि गलेर आयो । टाउको दुख्यो । एकै छिनमा ज्वरो बढ्यो । घर हिडेँ । अनिता जागिरमा पुग्नेबित्तिकै ज्वरो आएकाले तुरुन्तै फर्किएकी रहिछ । घर पुग्दा सुतिरहेकी थिई । बेलुका मेरो तालुक कार्यालयबाट तुरुन्त कोभिड जाँच गरेर रिपोर्ट पेस गर्नु भन्ने आदेश आयो । सात दिनका लागि म कार्यरत शाखा बन्द गरिएको जानकारी पनि साथै थियो । बल्ल पो हामी झस्कियौँ - “कतै कोभिड नै त होइन ?” 

देशका मुख्य मुख्य सहरमा कोभिडको प्रथम लहरले उर्लँदै थियो । कोभिड जाँच गराउने प्रक्रिया बुझियो । तर, भिडमा लाइन बसेर जाँच गराउने हिम्मत भएन । 

हामी दुवै ओछ्यान पर्यौँ । भान्साको जीम्मेवारी आमाको थाप्लोमा आयो ।

२१, आश्विन 

दुईदिने ज्वरोले छोडे पनि शरीर थिलथिलो भएर दुखेकै छ । म पुरुष भएकै नाताले अझै ‌ओछ्यानमा सुतेरै मोबाइलमै घोप्टी रहने सुविधा छ । तर अनिता जबरजस्ती घरधन्दा सम्हाल्न लागिसकेकी छ । अनिताले म नजिक आएर भनी - “बुवालाई पनि ज्वरो पो आयो । १०३ डिग्री” अब घरमा कोही अछुतो नरहने भयो । अनि कोभिड जाँच गराउन निस्किएँ । बेलुका आमालाई पनि ज्वरो आयो ।

२२, आश्विन 

बिहान उठ्नासाथै आमाले भन्नु भयो - “राति बुवालाई गाह्रो भयो । राम्रो डाक्टर खोजेर जचाउन पाए हुन्थ्यो ?” लामो समयको बन्दाबन्दीपछि भनेका बेला भनेको डाक्टर जचाँउने सुविधा अझै छैन । मामाले एकजना चिनजानका डाक्टरको नम्बर दिनुभयो । पाटन अस्पतालमा कोभिडका बिरामी नै हेरिरहेका डाक्टर रहेछन् । लक्षण सुनेपछि उनले कोभिडकै शंका गरे । “ख्याल गर्नु सास फेर्न गाह्रो भयो भने अक्सिजन लगाउनुपर्छ ।” 

२३, आश्विन 

दिउसो म ओच्छ्यानमै थिएँ । अनिता आएर भनी - “बुवा त अजीब कुरा गर्न थालिस्यो ।” 

“..... ?? ”

“.....अब म बाँच्दिन पो भनिसिन्छ ।”

“ह्या । बुवा पनि ! त्यसै आत्तिनुहुन्छ ।”

बुवाको कुरा मलाई साह्रै हल्का लाग्दैछ । ससानो कुरामा आत्तिने स्वभाव छ बुवाको । आजमात्र होइन भारतमा कोभिड देखिएपछि नै  बुवा आत्तिन थाल्नुभएको हो । भन्नुहुन्थ्यो- “यसैले सिध्याउने भयो ।”  

तैपनि अनिताले बुवाको अवस्था बारे सरिता (दिदी) लाई खबर गरी । सरिता हुरहुराउँदै आई पुगी र भनी - “ पीसीआर जाँच गराउनुपर्छ । अस्पताल जान परे काम लाग्छ ।” बुवाआमाको नमुना नेपाल मेडिकल कलेजमा छोडियो । भिटामिन सीलगायत केही औषधि र अक्सिमिटर सरिताले ल्याई । सबैको औला च्यापेर जाँच गरियो । बुवासमेत हामी सबैको अक्सिजन स्तर ६०/६५ देखायो । हामी कसैलाई सास फेर्न असजिलो भएको थिएन । बुवासमेत ज्वरोबाहेक अरु समस्या छैन भनिरहनु भएको थियो । मेसिन नै गलत भएको वा हामीले जाँचेको तरिका नमिलेको निष्कर्ष निकाल्यौँ । 

आजै स्वास्थ्य मन्त्रालयको वक्तव्य आएको छ - “ कोभिडका बिरामी बेहोस भएमा वा हुन लागेमा मात्र अस्पताल जानु ।” । कोभिडका बिरामीले सामान्य बेड पाउन पनि ठूलै संघर्ष गर्नुपरेको समाचारहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् ।

बुवाको ज्वरो टसको मस भएको छैन । दुई घन्टामा नै सिटामोलको प्रभाव सकिन्छ र भन्नुहुन्छ- “काम ज्वरो आउला जस्तो भयो ।” मेरो पीसीआर रिपोर्ट पोजेटिभ आयो ।

सुत्ने तरखर गर्दै गर्दा बुवा गाह्रो भयो भन्दै बरन्डामा गएर पल्टनुभयो । “सास फेर्न गाह्रो भएको त छैन नि ?” मैले सोधेँ । 
“छैन” भन्नुभयो । बुवा बाहिर सुत्नु  भएकोले म भित्रपट्टि सोफामा सुतेँ । राति कतिखेर हो बुवा उठेर भित्र आउनु भएछ । 
“ल ! यो त यहाँ पो सुतेछ,” भन्दै बुवा आफ्नो कोठाभित्र पस्नु भयो । 

२४, आश्विन 

बिहान म उठ्दा बुवा घरभित्रैको शौचालय गएर फर्कदै हुनुहुँदो रहेछ । लठ्ठीको सहारा लिनुभएछ । अचम्म लाग्यो ।

शरीर लर्बराएको थियो । अनुहार गलेको देखिन्थ्यो । असन्तुलित पाराले टेकिएको लठ्ठी भुइँको पार्केटमा ठोकिँदा टक्रक टक्रक’ आवाज आइरहेको थियो । मलाई देखेपछि भन्नुभयो, “दम आउलाजस्तो भयो । ”

अनि बरन्डामा गएर सुत्नुभयो । तुरुन्तै अक्सिजन लगाइयो । त्यसपछि अराम महसुस गर्नुभयो । अक्सिमिटरले देखाएको स्याचुरेसनप्रति विश्वास नलागे पनि बेलाबेलामा जाँचिरहेका थिथौँ । अक्सिजन लगाउँदा ७०/७५ र नलगाउँदा ६०/६५ देखाउँथ्यो । अक्सिजन लगाउँदा बढ्ने भएकोले मेसिनले काम गरेकै छैन भन्न सकिएन । मैले उनै पाटन अस्पतालका डाक्टर केशव सिग्देललाई फोन लगाएँ । सबै कुरा बुझेपछि उनले भने - “...ओहो ! तुरुन्तै भर्ना गर्नुपर्छ । आज फेरि अति धेरै बिरामी आएका छन् । के गर्ने होला ? ... सशस्त्रको अस्पतालतिर कोहीसँग चिनजान छ ?”

मैले भनेँ - “छैन ।”

“ल ठिकै छ । यहीँ ल्याउनु । कुनै डिस्चार्ज हुने बिरामीको बेड म रोकिराख्छु । जति सक्दो छिटो फिवर क्लिनिकमा आउनु ।”

अब हामी आत्तियौँ र हतारियौँ पनि । 

म आफैँ पनि संक्रमित भएको कारणले एम्बुलेन्समा मिसिइन । छुट्टै मोटर साइकलमा चढेर गएँ । दाइ र सरिता बुवासँगै गए । सरकारले जारी गरेको सूचना मनमा खेल्दै थियो, “संक्रमितहरू जथाभावी घरबाहिर निस्किए पक्राउ गरिनेछ ।”

मभन्दा अघि एम्बुलेन्स अस्पताल पुगेछ । म पुग्दा बुवाको दाहिने हातको मुठ्ठीमाथि क्यानोला भर्खर लगाइएको रहेछ ।

सुई घोपिएको ठाँउबाट थोरै रगत बगेको थियो । दाइ र सरिता सँघै उभिएका थिए । बुवा सामान्य कोभिड वार्डमा भर्ना हुनुभयो । ह्विल चेयरमा राखेर भित्र लगियो । । कुरुवा जान पाउने व्यवस्था थिएन । निरीह हामी उभिएर हेरिरह्यौँ ।

अस्पतालको बाहिर बस्नुको औचित्य थिएन । परे आधा घन्टामा पुगिन्थ्यो । हामी घर फर्कने भयौँ । दाइ र दिदी ट्यासीमा फर्किए । म बाइकबाट फर्कँदै थिएँ । बानेश्वर आइपुग्दा बुवाले फोन गर्नु भयो - “बाबु ! लठ्ठी र चस्मा पठाई दे न ।” मैले हस् त भनेँ तर मसँग ती सामान थिएनन् । दाइलाई फोन गरेर बाटैमा रोकिन भनेँ र ती समान लिएर अस्पतालै फर्किएँ । 

एकपटक कोभिड वार्डमा छिरेको मान्छे छुट्टी भएपछि मात्र निस्कने रहेछ । डिउटी सुरु गर्न जाने कर्मचारीले बोकेर गएमात्र  बिरामीका सामान भित्र जाने रहेछ । बाहिर सामानहरू खात लागेका थिए । छेवैमा बिरामीको नाम लेखेर टाँस्न पट्टि राखिएको थियो । मैले बुवाको चस्मालाई लट्ठीमा टेपले बेरिदिएँ र ठेगाना लेखेर त्यहीँ छोडिदिएँ ।

शिवप्रसाद प्याकुरेल ।

कोभिड वार्ड, पहिलो तल्ला ।

२५, आश्विन राति अबेरसम्म निन्द्रा लागेन । बिहान पख मस्त निन्द्रामा थिएँ । चार बजे बुवाले फोन गर्नुभयो । फोन उठाएँ । “....बाबु काँ छौ ?”

 “हामी त घर पो फर्कियौँ बुवा !,” मैले ढाँट्न सकिन । 

“ए ! ल ठीक गरेछौ ।” - बुवाले हाम्रो गल्ती देखाउन चाहनु भएन ।

“हिजो बेलुका बेडमा ल्याएर छोडेपछि सिटामोल खान दिए । त्यसपछि कोही पनि आएका छैनन् । अक्सिजन लगाइदिएका छन् । सबै ऐया ! ऐया ! र मरेँ ! मरेँ ! भनेको मात्र सुनिन्छ । डाक्टर नर्स कोही पनि छैनन् । के गर्ने हो विचार गर है ।” - बुवाले आफ्नो समस्या सुनाउनुभयो । मसँग बुवालाई दिने जवाफ थिएन । अवाक् भएँ, बोल्नै सकिँन । सुनिमात्र रहेँ । बुवाले नै फेरि भन्नुभयो -

“अहिले चचाहिँ तातो पानी खान पाए हुन्थ्यो । छ न त हिजो खाना दिँदा दिएको एक बोतल पानी छ  तर त्यसै खाने आँट आएन । के गर्ने होला ?” 

बैशाख जेठमा पनि बुवा सधैँ मनतातो पानी खानुहुन्थ्यो । एकाबिहानै ज्वरोको बिरामी बुवालाई चिसै पानी खानु भन्न पनि सकिन । 

“थर्मसमा पानी पठाउन सकिन्छ कि म प्रयास गर्छु नि ।” बुवालाई आश्वासन दिन खोजेँ । 

“खोई ! हिजोको लठ्ठी र चस्मा त राति बाह्रबजेभन्दा पछि आयो ।” - बुवाले पत्याउनु भएन ।

दुईवटा समस्या देखियो । एक तत्काल बुवासम्म एक गिलाँस मनतातो पानी कसरी लैजाने ? अर्को बुवाले उपचार नै नपाउने अवस्था आयो के गर्ने होला ? पानी तताएर थर्मस भरियो । सँगै थोरै खाना पनि बनाएर हटकेसमा हालियो । बिहान छ बजे पानी र खाना भाञ्जाले अस्पताल लगेर नामलेखेर छडिदिए । 

अस्पतालमा एकमात्र सम्पर्क सूत्र थिए उनै डाक्टर केशव सिग्देल । तर, महामारीका बेला ड्युटीमा खटिएका डाक्टरलाई पटकपटक फोन गर्नु उचित थिएन । तैपनि लाज पचाउनुपर्ने अवस्था थियो । उनले भने - “तपाईँहरूलाई थाहै छ यसको औषधि छैन । त्यही अक्सिजन दिने हो । फिवर क्लिनिकमै रेम्डिसिभिर पनि चलाई सकियो । तर त्यो एन्टिभाइरलमात्र हो । कोरोनाको अचुक औषधि होइन । कसैकसैलाई काम पनि गर्छ । उपचार नभएको होइन, भएको छ । त्यहाँ वार्डमा डिउटी भने एकजनाको मात्रै छ । म्यान पावर नै छैन के गर्ने । तै पनि आवश्यक नै भयो भने उहाँलाई आईसीयुमा सार्छौँ ।”

अलिदिन अगाडि दिल्लीबाट हेलिकप्टरमा रेम्डिसिभिर ल्याएर बिरमीलाई लगाइएको र बिरामी ठीक भएको समाचार आएको थियो । बुवा हरेक कुराको खबर राख्ने मान्छे । रेम्डिसिभिर लगाएको कुराले बुवामा सकारात्मक उऊर्जा सञ्चार हुने कुरा पक्का थियो । मैले बुवालाई फोन गरेँ ।

“.....तातो पानी आईसीयु जानेतिर ढोकैमा छ रे बुवा । कसैलाई भनेर ल्याउन सकिन्छ त ?”

“याँ सबै बिरामीमात्रै छन् । म त्यहाँसम्म जान सक्दिन । हुन्दे ! चिसै खाइसकेँ । पानी नि नखाई सकिएन ।” सामान्य अवस्थामा त चिसो पानी खान नसक्ने मान्छे  ज्वरो आएको अवस्थामा कसरी खानु भयोहोला एकाबिहानै खाली पेटमा चिसो पानी ? मेरो मन चिसो पानीका कुराले निथ्रुक्क भयो । केही बोल्न सकिँन । थप कुरा केही भएन । साँढेसात बजे बुवा आफैँले फोन गर्नुभयो र खुसी हुँदै भन्नु भन्नुभयो - “तैँले पठाएको सामान आइपुग्यो बाबु । पानी पनि खाएँ ।” 

बुवाको त्यसै खुसीलाई मैले थप बढाउन चाहेँ - “हिजो तल फिवर क्लिनिकमा रेम्डिसिभिर पनि त दिइसकेछन् नि त बुवा । त्यै औषधि क्या ! अस्तिनै हेलिकप्टर चार्टर गरेर ल्याएर लगाए भनेर समाचारमा आएको थियो नि ?”

सायद बुवाले पत्याउनु भएन । भन्नुभयो - “खै ! के गरे !”

दिउसोँ अनिताले जुक्ती निकाली- “एउटा इलेक्ट्रिक जग बुवासम्म पुर्‍या उन पर्‍यो    । बेड छेउ जोड्ने ठाऊँ त पक्कै होला ।”

त्यसमा मैले पनि थपेँ - “उसोभए एउटा मल्टिप्लग पनि पठाइदिऊँ । स्विच यताउता रहेछ भने पनि काम आउँछ ।” 
“उसो भए बुवालाई सोधौँ एकपटक ।” तुरुन्तै अनिताले फोन लगाई ।

“.....त्यती भए त काइदा हुन्थ्यो । ” बुवाले भन्नुभयो । किनिएका नयाँ सामानमा नाम टाँसेर अस्पताल बाहिर छोडियो ।

२६, आश्विन 

हिजो बिहान मलाई जसरी नै उही समयमा सरितालाई फोन गर्नु भएछ तर समस्या अर्कै । बिहानको खाना हिजो दिउँसो एक बजेतिर मात्र आयो । बेलुका आउँदै आएन । घरबाट पठाएको बिस्कुट खाएर सुतेँ । पानी त अब चिसै खानु पर्ला ... हिजो दिउँसो छातीको एक्स रे चाँही गरे । के गर्ने हो विचार गर है ।” 

रेम्डिसिभिर अभाव भएको र खोज्न मानिसहरू वीरगञ्जसम्म पुगेका समाचारहरू अनलाइन र छापामा आएका छन् । आज भने बिहानको खाना बुवाले समयमै पाउनुभयो । तर हामीले हिजो दिउँसो बुवालाई पठाएका सामानको अत्तोपत्तो भएन । हरायो !

२९, आश्विन 

बिहानै डाक्डर केशव सिग्देलले मामालाई मेसेज पठाएछन् । त्यही मेसेज मामाले मतिर पठाउनुभयो । जुन यस प्रकार थियो -

भरत सर, हिजो बेलुका उहाँलाई आईसीयुमा सारिएको छ । अक्सिजन स्याचुरेसन मिलाउनको लागि हुड सी प्याप (hood C-pap) मा राखिएको छ । त्यसपछि उहाँको स्वास्थ्य स्थिर छ । उहाँको स्वास्थलाभको कामना गरौँ । 

हामीले के रहेछ हुड सी प्याप भनेर सोधखोज गर्दा थाहा भयो  टाउको पूरैलाई अक्सिजनको थैलोभित्र बन्द गरेर राख्ने प्रविधि रहेछ । 

आईसियुमा सरेर हुड सी प्याप लगाएपछि भने बुवाले अलि आराम महसुस गर्नु भएजस्तो बुझिन्छ । समय समयको सन्तुलित खाना, पर्याप्त हेरविचार  पाउनुभएको महसुस हुँदैछ । हामीले अन्दाज लगायौँ, जति पाउनु दुःख वार्डमा पाउनुभयो । अब उठ्नुहुन्छ बुवा । 

३०, आश्विन 

आइसियुमा फोन गरेर सिधै डिउटीका डाक्टरसँग कुरा गर्न पाईने सुविधा छ । एका बिहानै कुरा भयो । तर सकारात्मक कुरा गरेनन् । भने, “...बाहिरबाट हेर्दा त राम्रै देखिन्छ । उहाँले पनि अलि सजिलो महसुस गर्नुभएको छ । अक्सिजन १५ लिटर चलाएका छौँ । तै पनि स्याचुरेसन ८० मात्र छ । खाना खुवाउन अक्सिजन निकालेलेको बेला अक्सिजन स्वाट्टै घट्छ । कतिखेर खाना सक्काउनु होला र फेरि लगाउनुजस्तो हुन्छ । कुनै पनि बेला भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ ।”  

१, कार्तिक 

सायद खाना खान अक्सिजन निकालेको बेला हुनुपर्छ बुवाले दिनको एकपटक बिहान वा बेलुका फोन गर्नुहुन्थ्यो ।

मधुरो आवाजमा बोल्नुहुन्थ्यो । त्यो पनि पूरै बुझिन्नथ्यो । बुवाको फोन आउँदा मेरो मन डराउन थालेको थियो । बुवालाई के जवाफ दिने भन्ने चिन्ता रहिरहन्थ्यो ।

हिजो बेलुका भने बुवाको फोन आएन । बिहान सात बजे अस्पतालमा फोन गरेर जानकारी लिएँ । भने - “ हिजो बेलुकाबाट भेनन्टिलेटर राखिएको छ । तर पाइप छिराउने खालको होइन । दिउँसो अक्सिजन घटाएर हेर्छौँ । हेरौँ कत्तिको लिन सक्नुहुन्छ ? ” महिला डाक्टरले जानकारी गराइन् । थाहा भयो भेन्टिलेटर धेरै प्रकारको हुँदो रहेछ ।
बिहान करिब एघार बजे अस्पतालबाट फोन आयो - “प्लाज्मा थेरापी गर्नुपर्छ । अस्पतालबाट चिठी लिएर जानु !”  

ब्लड बैंक सोल्टीमोडमा प्लाज्मा दिने मान्छेलाई कुरेर बसेको थिएँ । ३ :०३ मा बुवाले फोन गर्नुभयो । बुवाको फोन आएपछि मन अत्तालियो । हात खुट्टा लगलगाए । बल्लतल्ल उठाएँ । “ ..बाबु ... म अब कति दिन बस्नपर्छ ? ” 
बुवाको आवाज दबेको तर बुझिने थियो । 

"अब प्लाज्मा थेरापी गर्ने बुवा । डोनर पाइसकियो । गरेपछि दुई चार दिन बस्नपर्छ ।"

"ए ! ल" भनेर फोन काट्नु भयो । धेरै बेल्ने अनुमति र शक्ति दुवै रहेनछ । प्लाज्मा डोनरको कागज पत्र नमिलेकाले त्यस दिन काम भएन ।

२, कार्तिक 

बिहानै फेसबुकमा समवेदना देखेँ । मेरो मुखबाट एक्कासि निस्कियो -

“लौ ! रामचन्द्र दाइ त मरेछन् ।”

भान्सामा काम गरिरहेकी अनिताले ढोकैमा आएर सोधी - “को रामचन्द्र भन्या ?”

“यहीँ गाउले दाइ हुन् ।”

रामचन्द्र भन्ने हाम्रै गाँउको मान्छे, बुवाभन्दा करिब पन्ध्र वर्ष कान्छो । कोभिडले पाटन अस्पतालमा भर्ना भएका रहेछन् । उही आईसीयुमा बुवासँगै । बुवा ससानो कुरामा पनि आत्तिने मान्छे । आँखै अगाडि आफैँलाई लागेको रोगले आफ्नै गाउँ ठाउँको भाइ मरेको देख्दा बुवाको मनोदशा कस्तो भयो होला ? बुवाको अवस्था आफ्नो शय्या छोडेर दायाँबायँ गर्नसक्ने  खालको नभएकोले रामचन्द्र दाइ त्यही वार्डमा भर्ना भएको बुवालाई पत्तै नहुन पनि सक्छ । तैपनि दिनहुँ कुनै न कुनै मृत्युको साक्षी बुवाले बस्नुपरेको अनुमान लगाउन गाह्रो थिएन ।

हल्ला सुनियो - “रामचन्द्र दाइ त तगडै थिए रे ! सबैलाई फोन गरेर बस्थे रे । दुई दिनअघिसम्म फोनमा अब दुईचार दिनमा डिस्चार्ज हुन्छु होला भन्दै थिए रे !” तर बुवा त साह्रै गल्नुभएको छ । अक्सिजन फुकालेर कुरा गर्दा एक मिनेट पनि कुरा गर्न नपाउँदै सास सकिन्छ । 

०००

नौ बजेतिर घरको लाइनमा फोन बज्यो । आमाले उठाउनु भयो । बुवाले गर्नुभएको रहेछ । अप्रत्यक्ष बुवाले आमासँग बिदा माग्नुभएछ । भन्नुभएछ - 

“म फर्केर आउँला नआउँला । तैँले घर परिवारको विचार गर्नु । मेरो दराजमा बाहिरै पैसा छन् । आपतका बेला परचक्रीको हात पर्ला । सुरक्षित गरेर राख् ।” 

आमाले रुँदै बुवाका दराजका पैसा सम्हाल्नु भयो । खाना खाएर फेरी ब्लड बैँकतिर गएँ । डोनरको रगत निकालियो ।

रगतबाट प्लाज्मा छुट्याउन समय लाग्ने रहेछ । बेलुका लिन जाने गरी फर्किएँ । रगतबाट प्लाज्मा छुट्याएर अस्पताल पुर्‍याउन समय लाग्ने देखियो । बेलुका आठ बजे बुवालाई  मेसेज लेखेँ, “बुवा नआत्तिनु है । प्लाज्मा छुट्याउन समय लागेको मात्र हो । आउँछ ।” राति नौ बजेतिर म र भान्जा गएर अस्पतालमा प्लाज्मा छोडिदियौँ ।

३, कार्तिक 

बिहान आठ बजे मोबाइलमा बुवाको फोन आयो । प्लाज्मा दिएकी दिएनन् थाहा थिएन । बुवालाई के भन्ने होला ? मुटु थिचेर फोन उठाएँ । 

“बुवा ?” 

“बावु ! राति प्लाज्मा दिए । अब म कहिले घर आउन पाउँछु ?” बुवाको आशावादी स्वर सुनियो । तर, बुवा घर फर्कन प्लाज्मा थेरापीले चमत्कार गर्नुपर्छ । जुन सम्भावना अत्यन्त कम छ । 

“प्लाज्मा थप्नु पर्ने पनि हुनसक्छ । त्यसपछि दुई तिनदिन बस्नुपर्ने हुनसक्छ” - कुरा बनाएँ ।

“ए ! ल ।”- लामो कुरा भएन । बेलुका छ बजेतिर अस्पतालबाट फोन आयो । “फुल भेन्टिलेटरमा नराखे उपाय छैन । के गर्ने भन्नुस् ? तुरुन्तै नराखे बचाउन सकिन्न ।” 

मर्नु भन्दा बहुलाउनु निको । हामीले अनुमति दियौँ ।

फुल भेन्टिलेटरमा राखेपछि अब बुवाको फोन आउनेवाला थिएन । मैले के भनेर बुवालाई सान्त्वना दिऐँ भनेर सोच्नुपर्ने अवस्थाको अन्त्य भयो । मैले मुक्ति पाएँ । 

४, कार्तिक 

भेन्टिलेटरको कुरा आमालाई थाहा थिएन । बिहानै चार बजे आमाले भन्नुभयो - “अब बुवालाई त्यहाँ राखेर हुँदैन । हिँड् ! निकालेर पशुपति लैजाऊँ । अन्तिम अवस्थामा दसदानमात्रै भए पनि पाउनुहुन्छ । दाजुलाई पनि भन् ।” म अवाक भएँ । आमा आफ्नो कोठाभित्र पस्नुभयो । मैले मोबाइलबाट दाइलाई खबर गरेँ । बाहिर निस्किँदा आमा हातमा ब्याग बेकेर बरण्डामा उभिनुभएको रहेछ । मेरो अगाडि बुवाको बास्तविक अवस्था आमालाई जानकारी गराउनेभन्दा अर्को विकल्प थिएन, गराएँ । भने - “ बुवा भेन्टिलेटरमा हुनुहुन्छ । निकाल्नासाथै रहनुहुन्न । पशुपति पुर्‍याउनै भ्याउँदैनौ । बरु घरैमा दशदान गरौँ ।” 

बुवाको नामबाट दशदान, वैतरणीलगायत शास्त्रले बताएअनुसारका अन्तिम अवस्थामा गरिने सबै दानहरू गरियो ।

५, कार्तिक 

कोरोनाले आफ्नो रौद्र रूप देखाउँदै मेरो घरको मूल खाँबो भाँचिदियो । बिहान नौ बजे अस्पतालबाट मोबाइलमा शोक सन्देश आयो । कोरोना कल्पको एक अध्याय सक्काएर मेरो परिवारको प्रेत कल्पमा प्रवेश गर्‍यो  । डायरी लेखन रोकियो । सायद, अब मेरो घरभित्र कोरोनाको उपद्रो सकियो होला । यसबारे लेख्ने कुरा पनि बाँकी छैन । मेरो कोरोना डायरी सकिएको अनुमान गरेँ  । 

१३, कार्तिक         

बिहान सवाआठ बजे कोरोनाको जोडदार पराकम्प पटटट सुरु भयो । एकाएक तीखा शब्द बाँणहरू बर्सिए - “मर्नु भएको होइन । मारेका हुन् ।”

धिक्कार छ मलाई जसले पितृहत्याको दोष सहनु पर्‍यो । सम्झने प्रयास गर्दैछु, बुवालाई बचाउने मेरो प्रयासमा के कस्ता कमजोरी भए ? सायद, मैले कुनै प्रयास नै पो गरिन कि ? बरु मैले उल्टै बुवालाई मृत्युको मुखमा धकेल्ने षड्यन्त्र त गरिन ? आज चेतना शून्य छु । केही सम्झन सकिरहेको छैन । आजमात्र थाहा पाएँ  कोभिड -१९ले मेरो जीवनमा कालो छ्यापेको रहेछ । यस प्रश्नले मलाई चितासम्मै लखेटिरहनेछ - “के म आफ्नै बाउको हत्यारा हुँ त ?”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC