site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ओलीसँग उद्योगीको गुनासो : व्यवसायी आत्मदाह र आत्महत्यामा उत्रिए, ब्याजदर र बैंक नीतिको त्रास रोकियोस्

विराटनगर । प्रदेश १ का उद्योगी तथा व्यवसायीले आर्थिक समस्याकै कारण कसैले पनि आत्मदाह वा आत्महत्या गर्नुपर्ने त्रासबाट मुक्त गराउनु पर्ने माग गरेका छन् ।

नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको कोसी एक्स्पो उद्घाटन समारोहमा बोल्ने औद्योगिक तथा व्यावसायिक संगठनका प्रतिनिधिले व्यावसायिक क्षेत्रलाई जोगाउन सरकारले विशेष ध्यान दिनुपर्ने माग गरे ।

कार्यक्रमका प्रमुख अतिथि रहेको पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसामु उद्योगीले यस्तो माग गरेपछि उनले देशलाई औद्योगिक हिसाबले अघि बढाउन र आर्थिक वृद्धितर्फ जाने वातवारण सरकारले बनाउने विश्वास दिलाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“प्रविधिसहितको औद्योगिकीकरणको कुरा यहाँ गर्नुपर्छ । उद्योग विकासको अनेक हिसाबले विराटनगर पहिलो सहर थियो । उद्योगलाई प्रोत्साहन गर्न गरिएको काम सह्राहनीय थियो तर अहिले खस्किएको भन्ने चर्चा गरिन्छ,” ओलीले भने, “यो सहरलाई त्यहीरुपमा स्थापित गराउन सरकारले विशेष ध्यान दिनुपर्छ ।” 

ओलीले उद्योगी व्यवसायीलाई संरक्षण गर्ने जिम्मेवारी सरकारकै भएकोमा जोड दिए । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिकीकरणको बाटोबाट देशले आर्थिक फड्को मार्न सहज हुने भन्दै उनले रुग्ण उद्योगलाई समेत सञ्चालन गर्ने बाटोतर्फ सरकार केन्द्रित हुने बताए ।

“विराटनगरकै कुरा गर्ने हो भने भारतबाट यहाँसम्म कार्गो रेल सञ्चालन हुने अन्तिम चरणमा पुगेको छ,” उनले भने, “कोरोनालगायत समस्याबाट माथि उठ्दै गरेको अवस्थामा अहिले व्यवसायीहरु बैंक लोनको चर्को ब्याज तिर्न नसक्दा उद्योग बन्द गर्ने अवस्था पुगेको भन्दै हुनुहुन्छ । सरकार यस्ता समस्याप्रति गम्भीर छ ।” 

प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कार्कीले कतिपय बेला औद्योगिक क्षेत्रलाई सरकारबाट सहयोग गरिएन भन्ने कुरा भए पनि उद्योगी र निजीक्षेत्रले आर्थिक विकासमा ठूलो सहयोग गरेको बताए ।

“प्रदेश सरकारको तर्फबाट हुनसक्ने सबै सहयोग गर्नेछ । गरिएको लगानीको क्षेत्रमा समस्या भए पनि यसलाई निरन्तरता दिनु सकारात्मक हो । विराटनगरको विकासको लागि प्रदेश सरकारले सधैँ काम गर्नेछ,” कार्कीले भने । उनले विराटनगरको विगतको साखलाई पुनःस्थापित गराउने जिम्मेवारी तीनै तहको सरकारको भएको बताए । उनले भने, “प्रदेशको राजधानी बनेको विराटनगरसँग विकासको प्रचुर सम्भावना रहेको छ ।”

नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष विष्णुकुमार अग्रवालले लगातार व्यवसायी निरास हुने र आत्मदाह गर्ने अवस्थाबाट मुक्ति दिलाउन आग्रह गरे । उनले भने, “औद्योगिक क्षेत्रलाई सुदृढ नगरे आर्थिक विकास सम्भव हुँदैन ।” परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले बैंक तथा इन्स्योरेन्स कम्पनीको नीतिका कारण व्यावसायिक क्षेत्र निकै समस्यामा परेको सुनाए ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्योग विकासको पहिलो सहर भएर पनि पछि पर्नुपर्ने अवस्था आउनु दुःखद् भएको बताए । “विराटनगरमा लामो समयदेखि अल्झिएको औद्योगिक प्रदर्शनीस्थल हाम्रो कार्यकालमा निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्दछौँ,” उनले भने ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्