site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतीयले नेपाल आउँदा भारु १०० भन्दा बढीका नोट किन ल्याउन पाउँदैनन् ?

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सांसदहरूले भारतीय नागरिकले नेपाल घुम्न आउँदा भारू १०० भन्दामाथिका नोट बोक्न नपाउने विषयलाई चासोका साथ उठाएका छन् । बिहीबार बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदहरूले गभर्नर डा. विश्वनाथ पौडेललाई नै प्रश्न गरेका हुन् । 

समितिका सभापतिदेखि नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (एमाले)का सांसद सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले यो विषयलाई जोडतोडका साथ उठाएका हुन् । 

सुरुमा सांसद शाहीले यो विषयलाई गभर्नरले ध्यान दिनुपर्ने भनेका थिए । शाहीले भारतबाट नेपाल घुम्न आउने पर्यटकले पर्याप्त पैसा बोक्न नपाउँदा सिमाका नेपाली होटेल व्यवसायीमा समस्या उत्पन्न भएको बताए । नेपालका सिमानामा सञ्चालन हुँदै आएका होटेलमा यही करणले समस्या उत्पन्न भएको उनको भनाइ छ । भारतीय नागरिकले पर्याप्त पैसा ल्याउन नपाउँदा व्यवसाय नै समस्यामा परेको उनले बताए । “विदेशबाट पैसा आउँदा त देशलाई फाइदै फाइदा छ त, देशलाई के घाटा छ ? हामीले उल्टो नीति बनायौँ । राष्ट्र बैंकको नीतिले गर्दा समस्या निम्तिएको छ,” उनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँभन्दा माथिको नोट भारतबाट ल्याउन नपाउने नीति बनाएर नेपालमा पैसा खर्च नगर भनेको शाहीले बताए । यो कानुनलाई परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । 

समितिका सभापति सन्तोष चालिसेले पनि सांसद शाहीकै कुरालाई सहमत जनाउँदै ५०० का नोट के कारणले रोक लगाएको भनेर सोधेका थिए । “भारु १०० र त्योभन्दा तलको नोट साढे चार लाखको बिटो ठूलै हुन्छ । त्यसका लागि ठूलै व्याग बोकेर आउनपर्ने हुन्छ । भारतमा २००, ५०० र हजारको नोट पनि छ जस्तो लाग्छ,” सभापति चालिसेले भने, “यो ५०० को नोट कुन कानुनले ल्याउन नपाउने हो ?”

भारतमा सन् २०१६ मा भएको ५०० र हजारका नोट प्रतिबन्धका कारण यो नीति नेपालले लगाएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेलले बताए । त्यसअघि भारू ५०० र एक हजारका नोट २५ हजारसम्म राख्न पाउने व्यवस्था रहेको पनि उनले बताए । त्यो बेलाका पैसा नेपालीहरूसँग पनि हुनसक्ने सम्भावना भएकाले भारू ५०० र हजारका नोट नेपाल ल्याउन नपाइने व्यवस्था गरिएको उनको भनाइ छ । “भारतमा नोटबन्दी (डिमोनिटाइजेसन) हुनुभन्दा पहिले भारू १०० भन्दा ठूला नोटहरू २५ हजारसम्म राख्न पाउने व्यवस्था थियो । त्यही भएर नेपाली र बैंक तथा वित्तीय संस्थाहरूसँग निकै ठूलो मात्रामा १०० भन्दा माथिका नोटहरू थिए,” पौडेलले भने । 

भारतमा नोटबन्दी भएपछि ती नोटहरू भारतलाई औपचारिक रूपमा बिक्री गर्न नसकिएको पौडेल बताउँछन् । पटक–पटक अनुरोध गर्दा पनि ती नोट बिक्री हुन नसकेको उनको भनाइ छ । अहिले भारतले ठूला नोट लिएर आउन दिने तर, यताबाट लैजान नदिने व्यवस्था गरेको छ । यसो गर्न भारू ठूला नोटहरूले नेपालका नोटहरूलाई विस्थापन गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

नेपाली नोटलाई प्रचलनमा बढाउन पनि भारतीय ठूला नोट प्रतिबन्ध लगाइएको पौडेलको भनाइ छ । भारतीय ठूला नोटहरू नेपालमा प्रचलनमा ल्याउँदा त्यो नोट साट्न नसकिने र यहाँ भएका नोट पनि वैधानिक हुनसक्ने भएकाले ठूला नोट प्रतिबन्ध गरिएको उनको संकेत थियो । 

अहिले भारतीय नागरिक तथा नेपाली नागरिकले नेपालमा भारु १०० भन्दा कमका नोट ल्याउन पाउने व्यवस्था रहेको पौडेलले बताए । यसमा पनि पाँच हजार अमेरिकी डलर बराबरको भारू भन्सारमा जानकारी गराएर ल्याउन पाउने उनले बताए । तर, भारू १०० भन्दा तलका मात्र नोट ल्याउनुपर्ने व्यवस्था रहेको पौडेलले बताए । “भारतीय नागरिक तथा भारतमा काम गरेर फर्किने नेपाली नागरिकले पाँच हजार अमेरिकी डलरबराबरको भारू नेपाल ल्याउन पाउने व्यवस्था छ । त्यो भनेको चार लाख भारू ल्याउन सकिन्छ । तर, चार लाख ल्याउन पाए पनि भारू १०० भन्दामाथिको नोट ल्याउन पाइँदैन,” पौडेलले भने, “१० लाख नेपाली रूपैयाँभन्दा बढी लिएर नेपाल प्रवेश गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था छ ।” 

नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री कार्कीले भारतीय ठूला नोट खुल्ला गर्दा नेपाली अर्थतन्त्रमा ठूलो समस्या आउन सक्ने बताए ।

यसमा चिन्ता व्यक्त हुनु स्वभाविक भएकाले सोच विचार गरेर देशको अर्थतन्त्रमा पर्ने प्रभावलाई पनि हेर्नुपर्ने उनले बताए । “भारतीय पर्यटकहरूले ५०० को नोट किन ल्याउन पाइँदैन भन्ने चासो माननीय सांसद शाहीले चासो देखाउनु भएको छ । यसमा सरकारले सहजीकरण गर्नुपर्ने के छ ? तर, यसको दूरर्गामी असर पर्छ,” सांसद कार्कीले भने, “हाम्रो अर्थतन्त्र कमजोर अवस्थामा छ । भारू ५०० को हजारको नोट हामीले एकैचोटी खुला गर्दा त्यसले हाम्रो अर्थतन्त्रलाई के असर गर्छ भन्ने हेर्नुपर्छ ।” समितिमा सामान्य छलफल गरेर मात्र यो निर्णय गर्न नसकिने सांसद कार्कीको भनाइ छ ।  

त्यसैगरी सांसद थापाले यो प्रतिबन्धले अर्थतन्त्रमा प्रभाव परेको भन्दै सच्याउनुपर्ने बताए । यसअघिका गभर्नर महाप्रसाद अधिकारीको पालामा  पनि समितिमा छलफल भएको र निर्देशन दिएको पनि सम्झिए । “भारतीय नागरिकले खर्च गर्न ल्याउने पैसा हाम्रा कानुनका कारणले गर्दा ल्याउन पाएका छैनन् । यसलाई सहजीकरण गर्नुपर्छ,” थापाले भने ।

यो प्रतिबन्धले गर्दा नेपालमा भारतीय पर्यटकले खर्च गर्न नपाएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्