
काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकको संख्या घट्ने क्रम जारी छ ।
गत असार मसान्तसम्म २७ वटा वाणिज्य बैंक थिए । तर, पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकको संख्या घटेर २२ वटामा झरेको छ ।
हिमालयनले सिभिल बैंकलाई १००ः८०.२९ स्वप रेसियोमा प्राप्ति गरी माघ १८ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरेको छ ।
त्यसैगरी लक्ष्मी र सनराइज बैंक पनि मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ । यी बैंकको एकीकृत कारोबार सुरु भएपछि वाणिज्य बैंकको संख्या २० मा झर्नेछ ।
तर, यो पहिलो चरणको बिग मर्जर भएकोले दोस्रो चरणमा वाणिज्य बैंकको संख्या ६–७ वटामा झर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मेगा र इन्भेष्टमेण्ट बैंकको एकीकृत करोबारमा भनेका छन् ।
ठूला पुँजीका बैंक भए अर्थतन्त्रलाई फाइदा हुने उनको भनाइ छ । त्यसैले पनि धेरै बैंक आवश्यक नभएको उनको निष्कर्ष छ ।
उनले भने जस्तै वाणिज्य बैंकहरू एक आपसमा मर्जर तथा समाहित हुँदै जाँदा धेरै वाणिज्य बैंकको अस्तित्व मेटिँदै जानेछ ।
अहिले पनि बैंक अफ काठमाण्डू, मेगा, नेपाल बङ्गलादेश बैंक, एनसीसी र सेन्चुरी बैंक इतिहास बनेका छन् ।
मर्जरपछि बनेका पाँचवटा वाणिज्य बैैंक चुक्ता पुँजी, ऋण लगानी, कुल सम्पत्ति, ब्याज आम्दानी, कुल नाफालगायतका आधारमा अन्य २० वाणिज्य बैंकहरूको तुलनामा ठूला छन् ।
दुई वाणिज्य बैंक मिलेर बनेका नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई, प्रभु, कुमारी र नबिल बैंकको चुक्तापुँजी २० अर्बभन्दा बढी छ ।
सबैभन्दा कम चुक्तापुँजी हुनेमा प्रभु बैंक छ । यो बैंकले सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि चुक्तापुँजी २३ अर्ब रुपैयाँ पुगेको छ भने सबैभन्दा बढी चुक्तापुँजी भएको वाणिज्य बैंक ग्लोबल आईएमई बैंक छ ।
यो बैंकले जनता बैंकलाई २०७६ मंसिर २० गते प्राप्ति गरी एकीकृत कारोबार सुरू गरेको थियो । त्यस्तै बैंक अफ काठमाण्डूलाई पनि प्राप्ति गरी यो बैंकले गत पुस १५ गतेदेखि एकीकृत करोबार सुरु गरेको थियो ।
यसरी दुई वटा वाणिज्य बैंक प्राप्ति गरेपछि ग्लोबल आईएमई बैंकको चुक्तापुँजीसँगै कुल सम्पत्ति पनि बढेको छ ।
हाल यो बैंकको कुल सम्पत्ति पाँच खर्ब ५ अर्ब रुपैयाँ रहेको छ ।
ग्लोबल आईएमई बैंक सबैभन्दा ठूलो
कुल सम्पत्ति, चुक्तापुँजी, पुँजी कोष, निक्षेप तथा कर्जाको हिसाबमा ग्लोबल आईएमई बैंक पहिलो छ । यो बैंकको पुँजीको आकार ठूलो भएपनि नाफामा भने कमजोर देखिएको छ ।
हुन त यो बैंकले बैंक अफ काठमाण्डूलाई मर्जर गरेपछि पुँजी गत महिनाबाट मात्र एकीकृत कारोबार गरेको हो । त्यसले पनि नाफाको एकिन डाटा नआएको जस्तो देखिन्छ ।
कूल पुँजीको आधारमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ठूलो
कूल पुँजी कोषको आधारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ठूलो देखिन्छ । यो बैंकको कुल पुँजी कोष ५८ अर्ब रुपैयाँको रहेको छ ।
चुक्तापुँजीको हिसाबमा यो बैंक दोस्रो स्थानमा छ । पुस मसान्तसम्म बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ छ ।
यो बैंकले मेगा बैंकलाई प्राप्ति गरेपछि पुस मसान्तसम्म १८ करोड रुपैयाँ नाफा आर्जन गरको छ । बैंकले मेगा बैंकको नाफालाई वितरणयोग्य नाफामा जोडेर हिसाब निकालेको छ ।
तर, उक्त मर्जर गर्दा मेगा बैंक दुई अर्ब ५५ करोड रुपैयाँ नोक्सानीमा देखाइएको छ । वित्तीय विवरणमा मेगा बैंकलाई प्राप्ति नगर्दा बैंकले दुई अर्ब आठ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
नाफाको आधारमा कुमारी बैंक ठूलो
वाणिज्य बैंकको पुस मसान्तसम्मको तथ्यांक हेर्दा जगेडा कोष, व्याज आम्दानीमा नबिल बैंक पहिलो छ ।
तर, नाफाको आधारमा कुमारी बैंक पहिलो देखिएको छ । यो बैंक एनसीसी बैंकसँग मर्जरमा गएपछि तीन अर्ब ४१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो बैंकले एनसीसी बैंकको नाफा वितरणयोग्य नाफामा जोडेको छ । उक्त विवरणमा एनसीसी बैंकको नाफा ८३ करोड रुपैयाँ ऋणत्मक देखिइएको छ ।