
मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुयल लोपेज ओब्राडोरले अवैध लागुऔषध कारोबारमा संलग्न रहेको अभियोगमा दोषी ठहराइएका कुख्यात जोआक्विन 'एल चापो' गुजमानको सहयोगका लागि आफूलाई पठाइएको सन्देशमाथि मानवताको आधारमा विचार गरिने बताएका छन् । गुजमानले उनलाई आफ्नो काराबास अवधि भुक्तानका लागि अमेरिकाबाट मेक्सिको फर्कन मद्दत गर्न अनुरोध गरेका हुन् ।
एल चापोका एकजना वकिलले उनले आफू मर्कामा परेकाले उद्धार गरिदिने अनुरोधसहित सन्देश पठाएको बताएका छन् । खतरनाक लागुऔषध कारोबार समूह 'सिनालोआ कार्टेल' का संस्थापक एल चापोले अमेरिकी कारागारमा आफूले मानसिक यातना खपिरहेको भन्दै सहयोग मागेका छन् ।
राष्ट्रपति ओब्राडोरले पत्रकारहरूलाई भनेका छन्, "उनको अनुरोध पूरा गर्ने अधिकार मेक्सिकोसँग छ वा छैन स्पष्ट छैन । तर मानव अधिकारको कुरा आउँदा सधैँ ढोका खुला रहेको हुनुपर्छ ।"
सन् २०१९ मा लागुपदार्थ ओसारप्रसार, सम्पत्ति शुद्धीकरण र हतियारसम्बन्धी कानुन तोडेकोलगायतका अभियोगहरूमा दोषी ठहराइएपछि आजीवन काराबास सजाय पाएका उनले कोलराडोस्थित अत्यन्तै कडा सुरक्षा प्रबन्ध रहेको कारागारमा सजाय भुक्ता गरिरहेका छन् ।
उनलाई थुनिएको कोलराडोको फ्लारेन्स स्थित 'सुपरम्याक्स' कारागारमा उनीसँगै अन्य अत्यन्तै कुख्यात अपराधी जस्तै युना बम आक्रमणकारी टेड कास्जिन्स्की, बोस्टन म्याराथुन बम आक्रमकारी झोखार त्सारानाएभ, सन् २००१ को ११ सेप्टेम्बरमा अमेरिकामा गरिएका आत्मघाती तथा आतंककारी हमलाका सुत्राधार जाकारियास मोउस्साओई तथा ओक्लोहामा सहरमा बम आक्रमण गर्ने टेर्री निकोल्सलाई थुनिएको छ ।
एला चापोका वकिलका अनुसार एक्लै र घामसमेत नछिर्ने स्थानमा थुनिएकाले पनि उनी निकै हताश भएका छन् । मंगलबार मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले आफ्नै देशमा पनि दुईपटक कारागारबाट भागिसकेका गुजमानको पक्षमा कुनै पनि सरकारी मध्यस्थताको सम्भावनालाई अस्वीकार गरेका थिए ।
सीबीएस न्युजबाट ।