
बगदाद । दक्षिणी इराकी सहर बासरास्थित एउटा खेलकुद रंगशाला बाहिर अचानक मच्चिएको भागदौडमा किचिएर कम्तीमा एकजनाको ज्यान गएको छ । बिहीबार भएको घटनामा अन्य ६० जना घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।
इराक र ओमानबीचको अरेबेयन गल्फ कपको फाइनल खेल हेर्न दशौँ हजार मानिस बासरा अन्तर्राष्ट्रिय रंगशालातर्फ जाने क्रममा भागदौड मच्चिएको हो ।
सरकारी अधिकारीहरूले टिकट नभएकाहरूले पनि रंगशाला छिराइने आशा गरिरहेको बताएका छन् । एउटा चिकित्सकीय सुत्रले घाइतेमध्ये केहीको हालत चिन्ताजनक रहेको सरकार नियन्त्रित इराकी राष्ट्रिय निकाय (आईएनए)लाई बताएका छन् ।
सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा भुँइमा थुप्रै मानिस अचल अवस्थामा ढलिरहेका र चिकित्सकहरूले एकजना पुरुषमाथि कृत्रिम श्वासप्रश्वास प्रक्रिया अपनाइरहेको देखिन्छ । स्थानीय समय अनुसार साँझ ७ बजे फुटबल सुरु हुने कार्यक्रम थियो । तर, त्यसको घन्टौँ पहिलेदेखि नै दर्शकहरू रंगशालातर्फ ओहिरिएका थिए ।
रंगशालाभित्र रहेका एएफपी समाचार निकायका एकजना पत्रकारले दर्शकका लागि रंगशालाका प्रवेशद्वारहरू खोलिनुअघि नै बाहिर भागदौड मच्चिएको बताएका छन् । पछि टिकटबिना जम्मा भएकाहरूलाई हटाएर टिकट लिएका दर्शकहरूलाई रंगशालामा प्रवेश गराइएको थियो । तर, केही समयपछि प्रवेशद्वार पुन: बन्द गरिएको थियो ।
प्रधानमन्त्री मोहम्मद सिया सुडानी स्थलगत रूपमै परिस्थितिको निरीक्षण गरिरहेका थिए । इराकी सेनाले फाइनल खेल इराकको इज्जतसँग जोडिएकाले यसलाई सभ्य ढंगले सम्पन्न गराइनुपर्ने अनुरोध बासरावासीलाई गरेको छ ।
बीबीसीबाट ।