site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमले दसैंमा पाँचवटा जहाजबाट आन्तरिक उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले दसैंमा न्यूनतम पाँचथान जहाजबाट आन्तरिक उडान गर्ने घोषणा गरेको छ । आन्तरिक उडान गर्न हाल निमगसँग आठवटा जहाज छन् ।

निगमले ५८ सिट क्षमताका एक, १९ सिटे दुई र १७ सिटे दुई जहाजबाट दसैंमा उडान गर्ने घोषणा गरेको हो । अर्को एकथान ५८ सिटे जहाज भने दसैंअघि नै सञ्चालनमा ल्याउने गरी निगमले काम गरिरहेको जनाएको छ । 

“यसपालि दसैंमा पाँचथान जहाजबाट दुर्गम र सुगम भेगका गन्तव्यमा सकेसम्म धेरै उडान गर्ने लक्ष्य छ,” निगमका प्रवक्ता अशोक सिग्देलले आइतबार बाह्रखरीसँग भने, “यात्रुका माग र आपूर्तिअनुसार टिकटको भाउ तय हुने छ भने गन्तव्य पनि त्यहीअनुसार हुनेछन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरकारी कम्पनी भएका नाताले निगमले बिक्री गर्ने टिकटको भाउ निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीका दाँजोमा सस्तो रहेको छ । यसबाट पनि यात्रुले निगमका जहाजबाट यात्रा गर्न चाहने गर्छन् । तर, तोकिएको समयमा नउड्ने, टिकट नपाउने, अधिकांश समय जहाज ‘ग्राउन्डेड’ हुनेलगायत कारण निगममाथि यात्रुको विश्वास बढ्न सकेको छैन । 

प्रवक्ता सिग्देलका अनुसार एक महिनाभन्दा बढी समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजको ५८ सिटे एउटा जहाजले आइतबारबाट नियमित व्यापारिक उडान पुनः सञ्चालन गरेको छ । 

हाल निगमसँग ५८ सिटे दुईथान एमए–६०, १७ सिटे चारथान ‘वाई१२–ई’ र १९ सिटे दुईवटा ‘ट्विनअटर डिएचसी६’ सिरिजका जहाज छन् । तीमध्ये एमए–६० र वाई१२–ई चीनमा निर्मित जहाज हुन् । ट्विनअटर भने क्यानडामा निर्मित हुन् । निगमसँग रहेका ट्विनअटर न्यूनतम ४० वर्ष पुराना हुन् ।

आठ जहाजमध्ये दुइटा ट्विनअटर र एउटा एमए–६० त्रिभुवन विमानस्थलमा ग्राउन्डेड छन् । तिनको मर्मत कार्य चलिरहेको प्रवक्ता सिग्देलले जानकारी दिए । “मर्मत पूरा भएपछि असोज २० गतेबाट दुईथान ट्विनअटरले नियमित व्यापारिक उडान सुरु गर्नेछन्,” उनले भने, “अर्को एमए–६० लाई पनि दसैंअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।”

उनका अनुसार ग्राउन्डेड एमए–६० को ‘प्रोेपेलर’ मर्मत गर्न चीन पठाइएको छ । दसैंअघि नै ल्याउने गरी काम गर्न चिनियाँ जहाज निर्माता कम्पनीलाई आग्रह गरिएको छ । त्यसबाहेक एउटा एमए–६० लाई रात्रि उडानमा प्रयोग गर्ने तयारी भइरहेको छ । हाल धनगढी, नेपालगन्ज, भैरहवा, विराटनगर लगायत गन्तव्यमा रात्रि उडान सुविधा उपलब्ध छ ।

निगमसँग आन्तरिक उडान गर्न दुई दर्जनभन्दा बढी गन्तव्य छन् । ती गन्तव्यमा उडाउन हाल आठथान जहाज भए पनि चिनियाँमात्र सञ्चालनमा छन् । चारथान वाई१२–ईमध्ये दुईमात्र सञ्चालनमा छन् भने पाइलट अभावका कारण बाँकी दुईलाई निगमले उडानमा प्रयोग गर्न सकेको छैन । 

सरकारले एकैपटक चारथान खरिद गर्ने र दुइटा सिँत्तैमा पाउने गरी २०६९ मंसिर १४ मा ६ थान चिनियाँ जहाज खरिद सम्झौता गरेको थियो । यसका लागि चीनसँग साढे ३ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण सरकारले लिएको छ ।  सरकारले सम्झौता गरेको र व्यापारिक उडान गर्ने भएका कारण चिनियाँ जहाजको सञ्चालन भने वायुसेवा निगमको जिम्मामा परेको थियो । 

चीनसँग भएको सम्झौताअनुसार चारथान वाई१२–ई र ५८ सिटे दुईथान एमए–६० सिरिज ल्याइएका थिए । निगमले अनुदानमा पाएका एक–एकथान वाई१२–ई र एमए–६० जहाज सुरुमा ल्याएको थियो । त्यसपछि खरिद गरिएकामध्ये वाई१२–ई र एमए–६० ल्याएको थियो । पछिल्लो पटक अन्तिम दुई वाई१२–ई ल्याएको थियो । 
 


 

प्रकाशित मिति: आइतबार, असोज १४, २०७५  १९:०१
प्रतिक्रिया दिनुहोस्