
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल अतिकम विकसित देश (एलडीसी)बाट स्तरोन्नतिपछि पनि बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणहरूको लागि विश्व समुदायसँग आग्रह गरेका छन् ।
मंगलबार स्पेनको सेभिल्लास्थित फाइब्स सेभिल्ला प्रदर्शनी र सम्मेलन केन्द्रमा आयोजित “सशक्तिकरणका लागि लचिलोपनः दिगो एलडीसी स्तरोन्नतिका लागि जलवायु–स्मार्ट वित्तीयकरण ” कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् ।
अध्यक्ष ढकालले सन् २०२६ मा अतिकम विकसित राष्ट्रबाट स्तरोन्नति हुने विषय नेपालका लागि उपलब्धिसँगै चुनौतीपूर्ण रहेको पनि बताए । उनले नेपालको एलडीसी स्तरोन्नतिका लागि तीन मापदण्डमध्ये दुई पूरा भएको भए पनि प्रतिव्यक्ति आयस्तर र जलवायु परिवर्तनको प्रभावप्रति उच्च जोखिममा रहेको उल्लेख गरे । “नेपालमा धरै अवसरहरू छन् । देशको ४० हजार मेगावाटभन्दा बढीको जलविद्युत सम्भावना छ । विश्वस्तरीय साहसिक पर्यटन गन्तव्यका रूपमा नेपाल परिचित छ । डिजिटल तथा सूचना प्रविधि सेवाहरूमा युवाहरूको सहभागिता बढ्दो छ । तर यो सम्भावनालाई वास्तविकतामा परिणत गर्न बलियो साझेदारी र जलवायुमैत्री वित्तीयकरणको आवश्यकता छ,” उनले भने ।
नेपालको वित्तीय आवश्यकता ठूलो र बढ्दो क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसका लागि विश्वसमुदायसँग सहयोग र सहकार्यका लागि आग्रह गरे । “सरकारको राष्ट्रिय अनुकूलन योजनाले सन् २०५० सम्म जलवायु अनुकूलनका लागि करिब ४७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरेको छ, जुन वार्षिक रूपमा लगभग १.३ अर्ब डलर हो,” उनले भने, “साथै, दिगो विकास लक्ष्यहरू प्राप्त गर्न नेपालले प्रत्येक वर्ष जीडीपीको करिब ११ प्रतिशतको वित्तीय अन्तरको सामना गरिरहेको छ ।”