site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगमको चिनियाँ जहाजले गर्‍यो एकैदिन चार विमानस्थलमा सफल परीक्षण उडान
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १७ सिटे चिनियाँ जहाजबाट बुधबार एकैचोटि दुर्गम भेगका चार गन्तव्यमा सफल परीक्षण उडान गरेको छ । निगमले चिनियाँ जहाज काठमाडौं ल्याएको चौथो वर्षमा मंगलबार सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा सफल परीक्षण उडान गरेको थियो । त्यहाँबाट सुरु भएको चिनियाँ जहाजको यात्रा बुधबार हुम्लाको सिमिकोट, डोल्पाको जुफाल, मुगुको रारास्थित ताल्चा र जुम्ला विमानस्थलमा सफल परीक्षण उडान गरी उक्त जहाज नेपालगन्ज फर्केको थियो ।

“एकैचोटि दुर्गमका चार गन्तव्यमा सफल परीक्षण उडान गर्यौं,” वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार बाह्रखरीसँग भने, “मौसमले साथ दिनाले थप सहज भयो । अब दुर्गम भेगका विमानस्थलमा चिनियाँ जहाजबाट नियमित व्यापारिक उडान गर्नलाई बाटो खुलेको छ । हामीले चिनियाँ जहाज ल्याएको खासमा दुर्गम भेगमा उडान गर्नलाई नै हो ।”

निगमका अनुसार बुधबार बिहान ७ः१० बजेबाट सुरु भएको परीक्षण उडान चारवटै विमानस्थलमा सफल भई दिउँसो १ः०५ बजे नेपालगन्ज विमानस्थल अवतरण भएको थियो । ती सबै गन्तव्यमा प्रशिक्षक पाइलट आङनुरी शेर्पा र क्याप्टेन उद्धव घिमिरेले जहाज उडाएर लगेका थिए । साथमा निगमका प्राविधिकदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक पनि थिए । 

निगमले दर्ता नम्बर ‘९एन–एकेयु’ भएको १७ सिटे ‘वाई१२–ई’ सिरिजको जहाजबाट आज चारवटै गन्तव्यमा सफल परीक्षण उडान गरेको हो । यही जहाजबाट उसले मंगलबार लुक्लामा सफल परीक्षण उडान गरेको थियो । मंगलबारको उडानमा सहभागी सबै बुधबारको उडान पनि सहभागी थिए । 

निगमसँग रहेका १७ सिट क्षमतायुक्त चार थान वाई१२–ई जहाजमध्ये पहिलो २०७१ कात्तिक १७ गते नेपाल आइपुगेको थियो । निगमले दुर्गम भेगका साना विमानस्थलमा उडाउने उद्देश्यले नै ती जहाज चीनसँग खरिद गरेको थियो । पहिलो वाई१२–ई आएदेखि धेरै पटक लुक्लामा परीक्षण उडान गर्न खोजे पनि पाइलट अभाव तथा प्राविधिक समस्याका कारण सकेको थिएन । 

यही जहाजबाट निगमले सोमबार लुक्लाका लागि परीक्षण गर्ने उडान गरे पनि खराब मौसमका कारण जहाज त्यहाँ अवतरण गर्न नसकेपछि रामेछापमा अवतरण गरेको थियो । 
निगमसँग १७ सिटे चिनियाँ जहाज चार थान भए पनि सुरुमा आएका दुईबाहेक पछिल्लो पटक ल्याइएका दुई जहाज भने पाइलट अभावका कारण उडानमा प्रयोग गरिएको थिएन । चिनियाँ जहाज उडाएर निगमलाई ठूलो परिमाणको घाटा हुँदै आएको छ । 

सरकारले एकैपटक चारथान खरिद गर्ने र दुइटा सित्तैमा पाउने गरी २०६९ मंसिर १४ मा ६ थान चिनियाँ जहाज खरिद सम्झौता गरेको थियो । यसका लागि चीनसँग साढे ३ अर्ब रुपैयाँबराबरको सहुलियत ऋण सरकारले लिएको छ ।  सरकारले सम्झौता गरेको र व्यापारिक उडान गर्ने भएका कारण चिनियाँ जहाजको सञ्चालन भने वायुसेवा निगमको जिम्मामा परेको थियो । सम्झौता गरेको दुई वर्षपछि २०७१ कात्तिक १७ मा पहिलो पटक १७ सिटे वाई१२–ई काठमाडौं अवतरण गरेको थियो ।

चीनसँग भएको सम्झौताअनुसार १७ सिटे चारथान वाई१२–ई र ५८ सिटे दुईथान ‘मोडर्न आर्क’ (एमए–६०) सिरिजका छन् । निगमले अनुदानमा पाएका एक–एकथान वाई१२–ई र एमए–६० जहाज सुरुमा ल्याएको थियो । त्यसपछि खरिद गरिएकामध्ये वाई१२–ई र एमए–६० ल्याएको थियो । पछिल्लो पटक अन्तिम दुई वाई१२–ई ल्याएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०७५  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro