काठमाडौं । निर्मला पन्तको हत्या भएको करिब दुईमहिना बित्न लाग्यो । रौतहटमा दुई बालिकामाथि दरखाने रातमा एसिड प्रहार गरियो । महंगी दैनिक बढिरहेको छ । बलात्कार, हत्या, हिंसाका घटना उत्तिकै बढिरहेकै छन् । दुईतिहाइको सरकारले पनि जनताका समस्या समाधान गर्न सकेको छैन ।
सडक, यातायात, खानेपानी, स्वास्थ्यलगायत कैयौं समस्या छन् । सरकार मौन छ । काम गर्न सकिरहेको छैन । प्रतिपक्ष पनि जनताका त्यस्ता समस्या उठान गर्न चुक्दैछ ।
सरकारमा रहेका दल तथा नेतृत्वले जनताका पक्षमा काम गर्न नसक्दा प्रतिपक्षले सदनमार्फत जनताका ती विषय सम्बोधन हुने गरी आवाज बुलन्द पार्नुपर्ने हो । तर सकेको छैन । प्रतिपक्ष नै संसद्मा कमजोर अवस्थामा उभिएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेस आफैं अलमलमा छ । सरकारको नीति तथा कार्यक्रममा मौन समर्थन जनायो । तर पछि पार्टीको आन्तरिक बैठकमा नेतृत्वको तीव्र आलोचना भयो । सरकारको नीति तथा कार्यक्रममा त मौन समर्थन जनायो नै जनताका अन्य समस्यामा पनि प्रतिपक्ष मौन छ ।
‘समृद्धि’ र ‘सुशासन’ लाई मुख्य चुनावी नारा बनाएर चुनाव लडेको कम्युनिष्ट गठबन्धनको नेतृत्वमा सरकार गठन भएको ६ महिना बितिसक्यो । तर, नागरिकले प्रत्यक्ष रुपमा अनुभूति गर्नसक्ने कुनै महत्वपूर्ण काम भएको छैन ।
सरकारका प्रायः गतिविधिहरु दिनानुदिन विवादित बन्दै जाँदा वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न त सकेको छैन तर ‘छाँया’ सरकारको रुपमा हेरिने प्रतिपक्ष पनि निकै कमजोर भूमिकामा रहेकाले जनताका समस्या सम्बोधन हुन सकेको छैन ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा अकल्पनीय पराजय बेहोरेको कांग्रेस आफैं कांग्रेस आन्तरिक कलहमा फस्दै गएको छ ।
त्यसैले पनि संसद्मा प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्न असमर्थ देखिएको छ । वैचारिक, सांगठनिक र नेतृत्वको रुपमा कमजोर भएका कारण कांग्रेसले संसद्मा सशक्त प्रतिपक्षको भूमिका निभाउन नसकेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइ छ ।
‘‘कांग्रेसले बोकेको एजेण्डाहरुमा आफै कन्फ्युज भएका कारण पनि जनताको अपेक्षाअनुसार उसले प्रतिपक्षको भूमिका निभाउन नसकेको देखिन्छ,” उनले भने । पछिल्ला ३० वर्षमा अधिकांश समय सत्ता वरिपरी मात्रै केन्द्रित भएका कारण अहिले आएर कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आचार्यको टिप्पणी थियो ।
सरकार पक्षले ल्याएका ऐन, कानुन, नियम र जनताको बीचबाट उठेका मुद्दाहरुलाई संसदमा र जनताका बीचमा उठाउनु नै प्रतिपक्षको धर्म भएपनि संसदमा प्रतिपक्ष दलको नेतासमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवामा इच्छाशक्ति नदेखिएको उनको टिप्पणी छ ।
‘‘प्रतिपक्षको धर्म निभाउनका लागि प्रभावशाली शैली चाहिन्छ । संसद्भित्र प्रतिपक्ष दलको नेताको गम्भीर उपस्थिति हुनुपर्छ । सभापतिबाट त्यो हुन सकेको छैन । प्रतिपक्ष दलको भूमिका सबैभन्दा बढी दलको नेताले संसद्मा खेल्नु पर्दछ,” आचार्यले भने ।
नेतृत्वको कमजोरीका कारण सरकारका एकलौटी निर्णय, ऐन–कानुन, सरकारले ल्याउने बजेटविरुद्ध आवाज उठाएर प्रतिपक्षले आफूलाई सरकारको वैकल्पिक शक्तिका रुपमा आशा जगाएर बस्नका लागि छाँया सरकार गठन गर्नुपर्ने कांग्रेसभित्रै उठेका आवाजले सार्थकता पाउन सकेको छैन ।
कांग्रेस नेतृत्वलाई छाँया सरकार गठन गरेर जनताको बीचमा भिज्ने इच्छाशक्ति नभएकै कारण सार्थकता पाउन नसकेको सभापति देउवाका आलोचकहरु बताउँछन् ।
‘‘छाँया सरकार गठनमा कांग्रेसलाई रुचि नै छैन । आफ्नै आन्तरिक कलहमा रुमलिएको छ । सभापति देउवामा क्षमता पनि छैन र उनीसँगैका अरु नेताहरु पनि सबै थाकेका छन् । यसले कांग्रेस अहिलेपनि डिप्रेसनमा नै छ भन्ने देखिन्छ,’’ सभापति देउवाका एक आलोचक भन्छन् ।
तर संस्थापन पक्षीय नेताहरु नाराजुलुस गरेर सडकमा जनता उचालेर र दिनदिनै संसद अवरुद्ध गरेर मात्रै राम्रो प्रतिपक्षको अर्थ नहुने दाबी गर्दछन् । ‘‘प्रतिपक्षको भूमिका घटनाहरुका आधारमा हुन्छ । राम्रो प्रतिपक्ष भनेको दिनदिनै नाराजुलुस गर्ने, दिनदिनै संसद् अवरुद्ध गर्ने, दिनदिनै सडकमा जनता उचाल्ने मात्रै राम्रो प्रतिपक्षको अर्थ हुँदैन,” संस्थापन पक्ष निकट एक नेताले भने ।
केही महिनाअघि संसद्मा सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएपछि कांग्रेसकै नेताहरुले प्रतिपक्षको भूमिका सशक्त नभएको टिका–टिप्पणी गरेका थिए । सोही क्रममा पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षको भूमिकाका विषयमा गरिएका टिका–टिप्पणीको प्रतिवाद गर्दै भनेका थिए, ‘‘संसद्मा तोड्फोड गर्न त दुई जना सासंद भए पनि पुग्छ । नेपाल बन्द गर्नका लागि सयवटा पम्प्लेट र सय जना मान्छे भए पनि पुग्छ । तर कांगेसका लागि यस्ता काम सुहाउँदैन । कांग्रेसले जिम्मेवार कदम चाल्छ ।’’
कांग्रेसको प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकसमेत रहेका वरिष्ठ पत्रकार तथा विश्लेषक पुरुषोत्तम दाहाल पनि कांग्रेसले अपेक्षाकृत ढंगबाट संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउँछन् । तर कांग्रेसले प्रतिपक्षको भूमिकामा केही पनि गर्नै नसकेको दाबीलाई भने उनले अस्वीकार गरे ।
‘‘कांग्रेसले कतिपय मुद्दाहरुमा आफूलाई प्रस्तुत गरिरहेको छ । साउन १५ गते विरोध प्रदर्शन, अहिलेपनि संसद्मा आफ्ना कुराहरु राख्दा अवरोध नै गर्नुपर्ने स्थिति आयो । कांग्रेसले जति गर्नुपथ्र्यो त्यो पुगेन होला,’’ बाह्रखरीसँगको कुराकानीमा उनले भने, ‘‘कांग्रेस चलायमान त छ तर जनताले कुन ढंगको अपेक्षा गरेका हुन् ? त्योअनुसार नभएको हुन सक्छ ।’’
कांग्रेस अहिले आन्तरिक कामहरुमा केन्द्रित भएकाले पनि भूमिका सशक्त नदेखिएको हुन सक्ने उनको भनाइ छ । ‘‘अहिले कांग्रेस आन्तरिक रुपमा कतिपय कामहरुमा अल्झेको छ । आफ्नै विधान मस्यौदा गर्नमा कांग्रेसको पूरा ध्यान केन्द्रित छ । आन्तरिक संगठन बलियो भएन भने बाहिर केही काम गर्न सकिँदैन,” उनले भने ।