-1716213976.jpg)
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले बजेट वितरण प्रणालीमा रहेको विकृतिमा प्रश्न उठाएकी छन् । पार्टीको असार १६ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा शुक्रबार धारणा राखेकी नेतृ गौतमले सबै तहका बजेटले जनतामा खुसी दिनुपर्नेमा निराशा थपिरहेको बताइन् ।
“वडा सदस्यदेखि मन्त्रीसम्मका नेताहरूको भूमिकाप्रति नागरिक र पार्टीका साथीहरू सन्तुष्ट हुन सकेका छैनन्,” सांसद समेत रहेकी गौतमले भनिन्, “सबै सरकारका मन्त्रीहरूको बजेट वितरण पारदर्शी भएन । लुटको धन फुपूको श्राद्ध भनेझैँ आफ्नै क्षेत्रभित्र मात्रै लैजान पर्ने ! यो भएन ।”
उनले मन्त्रीहरूको यो शैलीको नियन्त्रण पार्टीबाट हुनुपर्ने बताइन् । “अब पार्टीले वैज्ञानिक ढंगबाट बजेट वितरण प्रणालीको विधि बनाउन लाग्नुपर्छ,” गौतमले भनिन् ।
उनले त्यसो नगर्दासम्म सांसदहरूलाई मन्त्रीहरूले मगन्ते बनाइरहने बताइन् । “माननीयलाई मन्त्रीसँग बजेट माग्न जाने ‘मगन्ते’ बनाउने प्रवृत्तिको अन्त्य गर्न जरुरी छ,” उनले भनिन् ।
उनले नेविसंघसहित भातृ संस्थालाई अधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने अभ्यास बसाल्न म्याद थप्ने प्रवृत्ति रोकिनुपर्ने बताइन् । “भातृ संगठन नेविसंघ, महिलासंघ लगायतका संगठनहरूका आवधिक अधिवेशन हुन नसक्दा आज पार्टी नै कमजोर बन्यो,” गौतमले भनिन्, “युवाहरू विद्यार्थीहरूलाई पार्टीले काम दिन सकेन ।”
एकातिर समयमै अधिवेशन नगर्ने र म्याद मात्रै थप्ने अर्कातिर उमेरहद लगाउने अभ्यासले विद्यार्थी राजनीति मारमा परेको उनको भनाइ छ । गौतमले कांग्रेसको बैठक हलभित्र चलिरहे पनि देशविदेशको चासो जोडिएको भन्दै आपसी हिलो छ्यापाछ्यापले पार्टीलाई नोक्सानी हुनेतर्फ सचेत रहन नेताहरूलाई आग्रह गरिन् ।