
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीका नेताहरूलाई कमजोर पार्ने काम भइरहेको बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय समितिको बैठकमा खतिवडाले पार्टी सभापति, उपभापति, महामन्त्री, केन्द्रीय सदस्यलाई खुइल्याउने र कमजोर पार्ने काम भइरहेको बताए ।
बैठकमा चलिरहेको आरोप–प्रत्यारोपबारे खतिवडाले भने, “यो पद्धति कहाँसम्म जाने ? हामी यी आरोपप्रत्यारोपमै सीमित भयौँ भने जनताले, कार्यकर्ताले के गर्ने ?”
उनले पार्टीको नेतृत्व र पदाधिकारी कमजोर हुँदा 'बलियो चाहिँ को हुने हो ?' भने प्रश्न गरे ।
“चाहे बालकृष्ण खाँण होस्, चाहे मोहनबहादुर बस्नेत । चाहे रमेश लेखक होस्, चाहे आरजु देउवा, कसैलाई पनि खेदेर पार्टी बलियो हुँदैन,” उनले भने, “पार्टी पंक्तिमा गगन थापा कमजोर भयो भने, अरू को चाहिँ बलियो हुन्छ ?”