काठमाडौं । एक व्यवसायीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने करोडौ रुपैयाँबराबरको बक्यौता ‘राजनीतिक शक्ति केन्द्र’ को आडमा लामो समयदेखि तिर्न अटेर गर्दै आएका छन् ।
त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र आगमन र प्रस्थान कक्षतर्फ लामो समयदेखि ‘ड्युटी फ्री पसल’ सञ्चालन गर्दै आएका व्यवसायी प्रमोदशमशेर राणाले ती पसल सञ्चालन गरेवापत त्रिभुवन विमानस्थललाई तिर्नुपर्ने ८ करोड रुपैयाँभन्दा बढी रकम चुक्ता गर्न बेवास्ता गर्दै आएका हुन् ।
“जति ताकेता गर्दा पनि ठूलो परिमाणबराबरको रकम चुक्ता गर्न बेवास्ता गरेपछि बाध्य भएर सार्वजनिक सूचना नै जारी गर्नुपर्यो,” त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक तथा मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, “राणाले सञ्चालन गरेका दुइटा पसलकबलको भाडामात्र ८ करोड रुपैयाँभन्दा बढी भइसकेको छ । यसमा विलम्ब शुल्क ३० प्रतिशत जोड्नै बाँकी छ ।”
ती अधिकारीका अनुसार राणाले त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र आगमन र प्रस्थान कक्षतर्फ वर्षौंदेखि युनिभर्सल सप्लाई एजेन्सी र ग्रिनलाइन इन्टरनेसनल प्रालि नाममा दुईवटा ड्युटी फ्री पसल सञ्चालन गर्दै आएका थिए । पसल सञ्चालन गरेर आम्दानी भने गरिरहने तर, विमानस्थललाई भाडा भने एक पैसा नतिरेपछि गत जेठ १४ गतेबाट दुवै पसल बन्द गराइएको थियो ।
युनिभर्सलले बन्द भएको दिनसम्मको भाडावापत त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयलाई ६ करोड ७१ लाख २४ हजार ७७ र ग्रिनलाइन इन्टरनेसनलले १ करोड ३७ लाख २२ हजार ९ सय २८ गरी कूल ८ करोड ८ लाख ४७ हजार ५ रुपैयाँ तिर्न बाँकी छ ।
विमानस्थलले यो रकममा विलम्ब शुल्क ३० प्रतिशत जोडेको छैन । विलम्ब शुल्क जोड्यो भने राणाले थप २ करोड ४२ लाख ५४ हजार १ सय १ रुपैयाँ चुक्ता गर्नुपर्छ । यस हिसाबले अब राणाको नाममा त्रिभुवन विमानस्थललाई चुक्ता गर्नुपर्ने बक्यौता रकम १० करोड ५१ लाख १ हजार १ सय ६ रुपैयाँ भएको छ ।
“तर, हाम्रो पहिलो उद्देश्य राणासँग जसरी पनि भाडा रकम (सावाँ) उठाउने र त्यसपछि मात्र विलम्ब शुल्क उठाउने गरी काम गरिरहेका छौं,” त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, “त्यही भएर राणाको नाममा रहेको बाँकी बक्यौता भुक्तानी गर्ने सम्बन्धमा अत्यन्त जरुरी सार्वजनिक सूचना जारी गरेका हौं ।”
स्रोतका अनुसार राणाको उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध रहेको छ ।
यही ‘राजनीतिक शक्ति केन्द्र’ को आडमा राणाले त्रिभुवन विमानस्थलमा ड्युटी फ्री पसल सञ्चालनको ठेक्का हात पारेका थिए ।
“पसलकबल सञ्चालन गरेर खुरुखुरु भाडा तिरेका भए कुनै समस्या थिएन तर, आम्दानी भने गरिरहने भाडा चाहिँ नतिर्ने गर्न थालेपछि बाध्य भएर पसलै बन्द गरेका थियौं,” प्राधिकरणका ती अधिकारीले भने, “जति चलाउन दियो त्यति घाटा हुने भएपछि बन्द गर्ने निर्णय गरेका थियौं ।”
राणाले सञ्चालन गर्दै आएका दुइटै पसल बन्द भएको १५ दिनपछि त्रिभुवन विमानस्थल कार्यालयले बक्यौता भुक्तानी गर्न उनको घर ठेगानामा हुलाकमार्फत पत्राचार गरेको थियो । तर, उक्त ठेगानामा सम्पर्क हुन नसकी पत्र फिर्ता आएपछि विमानस्थल कार्यालयले बक्यौता रकम भुक्तानी गर्न र नगरे नियमानुसार कारबाही गर्ने भन्दै राणाको नाममा सार्वजनिक सूचना जारी गरेको हो ।
उड्डयन प्राधिकरणले बक्यौता उठाउन ताकेता गरिरहेपछि राणा उल्टै प्राधिकरणविरुद्ध अदालत गएका थिए । जिल्ला अदालत हुँदै उच्च अदालतमा समेत प्राधिरकणसँग मुद्दा हारेपछि राणाले पछिल्लो पटक ‘ड्युटी फ्री सप राम्रोसँग नचलेको, घाटा लागेको, विमानस्थलसँग सम्झौता नभएको लगायत कारण सम्पूर्ण बक्यौता रकम मिनाहा गराइ पाउँ’ भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । यसबारे फैसला हुन बाँकी छ ।
राणाले शुरुमा सञ्चालन गर्दा ड्युटी फ्री पसल थियो तर, बाबुराम भट्टराईले अर्थमन्त्रीको कार्यभार लिनासाथ सरकारले ड्युटी फ्री पसल बन्द गरेको थियो । त्यसको केही समयपछि राणाले त्यही पसललाई ‘ड्युटी पेड पसल’ का रूपमा चलाउँदै आएका थिए । जसलाई विमानस्थल कार्यालयले गत जेठ १४ गते औपचारिक रूपमा बन्द गराएको थियो ।