सन् २०११, अमेरिकाको राजधानी वासिङटन डीसीबाट न्युयोर्क सहर पुग्ने बेला झमक्कै साँझ परेको थियो । बसको झ्यालबाट परको झिलिमिली नियाल्दै थिएँ । आँखाले ‘ट्विन टावर्स’ खोजिरहेका थिए । झल्याँस्स भएँ - ‘सेप्टेम्बर ११’ भएको पनि १० वर्ष बितिसकेछ ।
सानै छँदा भिनाजुको डायरीमा लेखिएको थियो- संसारका सबैभन्दा अग्ला भवन अमेरिकाको न्युयोर्क सहरमा छन् । ती १ सय १० तले छन् । उनको डायरीमा भवनको फोटो थिएन । उनी अमेरिका गएका पनि थिएनन् । बेलाबेला लैनचौर घरको झ्यालमा बसेर नयाँबजार घरको तला हिसाब गर्दै जाँदा १ सय १० तला त नागार्जुन पहाडभन्दा माथि पुग्थ्यो। म कल्पन्थेँ— ओहो कत्रो अग्ला बिल्डिङ होलान् ती ! ट्विन टावर्स बिल्डिङ मात्रै हैनन्, अमेरिकाको सान र मानव सभ्यता विकासको विशाल नमुना थिए । न्युयोर्क सहरकै भविष्य अनिश्चित रहेको बेला १९७२ मा विभिन्न संस्था र व्यक्तिले विरोध गर्दागर्दै निर्मित ट्विन टावर्स पर्यटकको गन्तव्य र न्युयोर्क सहरलाई संसारकै व्यापारिक राजधानी बनाउने खम्बा भए । सेप्टेम्बर ११ (साल भन्नै पर्दैन) हुँदा म कान्तिपुर दैनिक कार्यालयबाट घर फर्कंदै थिएँ । मोबाइलमा खबर आयो, तपाईंले बीबीसी हेर्नुभा’ छ ? छैन । किन ? अमेरिकाको ट्विन टावर्समा प्लेन ठोक्कियो, लाइभ आइरहेको छ।
घर पुग्दा दोस्रो टावरमा पनि प्लेन ठोक्किएपछि कसैले आतंक मच्चाएको ठम्याएँ। विश्वासै लागेन। फिल्म हेरेजस्तो। एकैछिनमा आफूसँग भएका 'ट्विन टावर्स'का तस्बिर बोकेर म फेरि कार्यालय फर्कें । तस्बिर र न्युज कभरेज सकेर बिहान तीन बजे घर फर्के पनि टिभीअघि नै बसिरहेँ। भय र मानवीय क्षतिको संवेदना एकातिर छँदै थियो मलाई 'ट्विन टावर्स'को मायाले साह्रै पीडा दियो। अब के हुने हो ? 'ट्विन टावर्स' फेरि उभिएलान् ? अमेरिकासँग क्षमता छ, उभ्याउला नै । तर, तिनैलाई त भगवानले पनि नसक्लान् । आँखा रसाए । त्यसको डेक (छत) मा मैले घन्टौं बिताएको याद आयो। हावा चलिरहने त्यो ठाउँबाट अन्य सयौं गगनचुम्बी भवनहरू पनि साना पुतलीका घरझैं देखिन्थे ।
हेलिकोप्टर र साना प्लेन तलतल उडेको देख्दा आफू बादलमाथि भए झैं लाग्थ्यो । पूर्वमा 'इस्ट रिभर' र 'एटलान्टिक' महासागर, पश्चिममा 'हड्सन' । उत्तरमा गगनचुम्बी सभ्यता, दक्षिणको सानो टापुमा 'स्ट्याच्यु अफ लिबर्टी' । सुन्तला रंगमा सूर्यास्तपछि सहर झिलिमिली हुँदै जाने दृश्य फोटोग्राफरका लागि भ्याइनभ्याई हुन्थ्यो । म त्यो दृश्यको लागि जान्थेँ । सन् १९९५ मा 'ट्विन टावर्स' वरिपरि १० महिना बिताउँदा मेरा लागि ती स्वयम्भू थिए । जताबाट पनि देखिने । जति टाढाबाट पनि देखिने । दिनरात देखिने । जुनै कुनाबाट पनि देखिने । फरकफरक मौसममा, फरकफरक पृष्ठभूमिमा जतिखेर पनि आकर्षक । मलाई नहेरी नहुने । कुनै तडकभडक र घमण्डबिनाका ती गगनचुम्बी, अत्यन्तै साधारण डिजाइनका ती भवन अग्ला भईकन कसैलाई होच्याउँदैन थिए । सालिन थिए, त्यसैले पनि मेरो 'अफेयर' थियो तीसँग । एटलान्टिक सिटी होस्, बाल्टिमोर होस्, डीसी होस्, कतैबाट पनि न्युयोर्क फर्कंदा 'ट्विन टावर्स' नदेखेसम्म बेचैनी हुन्थ्यो । कहिले देखिएला ? परैबाट मसिना धर्सा झैँ देखिएपछि भने घर पुगेको भान हुन्थ्यो । अब त कहिले पनि नदेखिने भयो रे । पत्यार लाग्नै गाह्रो । त्यहीँ पुगेर खोज्न मन लाग्थ्यो, देख्न मन लाग्थ्यो । चिन्ता पनि लाग्थ्यो, पुगेरै नदेखेपछि झन् कस्तो लाग्ने हो । आतंककारीको रिस किन यिनैमाथि ?
सन् १९९३ मा पनि यसको अन्डरग्राउन्ड पार्किङमा बम पड्काएका थिए । १० मानवीय क्षति भएको थियो । घाउ किन ? पीडा किन ? कसरी निको हुने होला ? यसरी नै दस वर्ष बिते । सेप्टेम्बर ११ ले अमेरिकालाई सुरक्षा र आर्थिकरूपले शिथिल पार्यो । मलाई भने 'ट्विन्स'को मायाले शिथिल बनायो । बिन लादेनको मृत्युले पनि मल्हमको काम गरेन । २०११ जुनमा म त्यहीँ पुगेँ । साच्चै नै रहेनछन् 'ट्विन्स' । निकै बेर उभिएर टोलाएँ । नजिकै नयाँ भवन बनाउँदै रहेछन् । भड्किलो लाग्यो । संसारकै उत्कृष्ट एवं चलायमान न्युयोर्क सिटी शिथिल लाग्यो । अझै यो त तङ्ग्रिएको अवस्था रे ! ट्विन्ससँगै दिवंगतप्रति श्रद्धाञ्जली !!