site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
फाइँफुट्टी ब्लूज 

यत्रो लामो समयसम्म फाफुराको संगत गरेपछि तपाईंलाई लागेको हुनुपर्छ अब त यो बजियाको एकएक कुरासँग परिचित भइयो । तर अझै पनि फाफुराका केही यस्ता गुणहरु (त्यसमा अगाडि ‘अव’ प्रत्यय लगाएर पढ्ने स्वतन्त्रता तपाइँलार्इ संविधानले दिएको छ है ! ) छन्, जसका बारे तपाईँ अझै पनि अनभिज्ञ हुनुहुन्छ । त्यसमध्ये एक, फाफुरा गीतसङ्गीतको पारखी पनि हो । पारखीमात्र किन, कुनै बेला ऊ निकै मिठो गीत कराउन पनि सक्थ्यो । मोबाइलका टावरहरुलाई त बेक्कारमा दोष लगाइयो । खासमा भन्ने हो भने भंगेराहरु पलायन भएको फाफुराको गायनले गर्दा हो । भंगेराबाहेक पनि कोइली, मैनालगायतका केही फाफुरीजस्ता सुर तालको महत्त्व नबुझ्ने चरा पनि फाफुराको स्वरकै कारण पलायन भएका हुन् । तर काग, सारुङ्ग र लाटोकोसेरोजस्ता सङ्गीतका पारखी चरा भने फाफुराको वरिपरि झुम्मिन्थे र मस्त हुन्थे । 

राम्रा गायकहरुले गीत गाउँदा आँखा टम्म चिम्लेको त तपाईंहरुले देख्नुभएकै होला नि । फाफुरा पनि टम्मै आँखा चिम्लेर गाउँथ्यो । किनभने कलाकार भनेको त जन्मजात समवेदनशील हुन्छ । ऊ अरु कसैको पीडा देख्न सक्दैन । फाफुरा पनि आफ्ना श्रोताहरुको पीडा देख्न कसरी सक्थ्यो र ? त्यसैले ऊ आँखा चिम्लेर गीत कराउँथ्यो, कन्थ्यो, रुन्थ्यो । त्यति हुँदाहुँदै पनि अन्ततः आफ्नो घाँटीको कारण कालान्तरमा फाफुराले गाउन छोड्नै प¥यो । सुन्नेहरुले ‘अबदेखि गाइस् भने निमोठिदिन्छौं’ भनेर अन्तिम चेतावनी दिएका थिए । यसरी राष्ट्रले एउटा अत्यन्तै विलक्षण प्रतिभा गुमाएको थियो । नत्र भने फाफुरा आजसम्म भीम निरौलाभन्दा ठूलो गायक भइसक्थ्यो । 

तर के गर्नू, यो देशमा कला र गलाको कदर भनेको भाषण गर्ने र पूरा नहुने सपना देखाउनेहरुको मात्र हुनेरहेछ त । यो कुराको फाफुरालाई सँधै दुःख लाग्थ्यो । त्यसैले फाफुरी आफ्नो जीवनमा आएपछि फाफुराले एकपटक फेरि आफूभित्रको तानसेनलाई बिउँताउने भरमग्दूर प्रयास गरेको थियो । त्यसको परिणम के भयो भन्ने म आज तपाईलाई सुनाउँछु । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हामी नेपालीहरु चाहे जुनबेला जेजस्ता कारणले विभिन्न कित्तामा विभाजित भए पनि धन्य दुईचारवटा यस्ता कुराहरु छन् जसले हमीलाई सँधै एकताको सूत्रमा बाँधेर राख्छ । राजनीति र त्यससँग सम्बन्धित बगम्फुसे समाचारको रुचिबाहेक अरु सबै भनेजस्तो कला र साहित्यसँगै सम्बन्धित कुरा हुन् । हामी अधिकांश नेपाली कवि हौँ । लेखक हौँ । अनि गायक हौँ । अझ स्पष्टसँग भनौ भने हरेक नेपाली जन्मजात गायक राजनीतिज्ञ र साहित्यकार हुन्छ । हामीभित्रको गायक त आमाको गर्भबाट यो धरतीमा अवतरण हुनासाथ पहिलोपटक च्याँ...को आवाज निकाल्नासाथै जागृत भैहाल्छ । राजनीतिज्ञ चाहिँ आठ कक्षा पढ्न थालेका बेलादेखि जुर्मराएर क्रान्ति गर्न थाल्छ । बरो साहित्यकार अलि ज्याद्रो हुन्छ बज्या । त्यसैले बाहिर निस्कन निकै लामो समय लिन्छ । तर, निस्कन चाहिँ कुनै न कुनै बेला निस्किएरै छाड्छ । त्यसमा शंकै नगरे हुन्छ । धेरैजसो मानिसहरुको चाहिँ सरकारी सेवा, प्रहरी वा सेनाको उच्च पद, चिकित्सा तथा अन्य पेसामा अत्यधिक सफल भएपछि फुत्त बाहिर निस्कन्छ र धडाधड सिर्जना गर्न थाल्छ । अवकाश पाएपछि केही कामै भएन, के गरौँ केगरौँ भयो अनि लेख्न थालेँ भन्नेहरु तपाईँले पनि भेट्नुभएकै होला । 

फाफुराभित्रका अरु कुनै कलाकार बाहिर ननिस्के पनि गायक त स्वतः हुर्किसकेको थियो । त्यस साँझ बाहिर झमझम पानी परिरहेको थियो । त्यसैले ऊ बडो साङ्गिीतिक मूडमा थियो । गीत गाउने भनेपछि पनि हरेक नेपालीको एउटा विशिष्ट शैली हुन्छ । तपाईँले कत्तिको हेक्का गर्नुभएको छ कुन्नि । त्यो गौरवशाली परम्परालाई कायम राख्दै अधिकांश नेपालीले जसरी नै फाफुराले आफ्नो गर्धन कक्रक्क हुने गरी अररो बनायो । अनि उसले घोक्रोबाट निस्कने आफ्नो आवाजलाई सकेजति च्यापेर गीत कन्न सुरु गर्‍यो । हामी नेपालीलाई यसरी गीत कराउने, कन्ने वा रुने शैली अपनाएपछि आफ्नो स्वर दुरुस्तै नारायणगोपालको जस्तो भएको भ्रम हुन्छ र हामी त्यही आत्मरतिमा रमाउँछौं ।

त्यसैले फाफुरालाई पनि लाग्यो अब बिनको आवाज सुनेर लठ्ठिएकी नागिन जसरी फाफुरी त्यो स्वरको माधुर्यमा झुम्दै उसको छेउमा आएर लुटुपुटु गर्न थाल्छे । तर, फाफुरी त लुसुक्क बाहिर गएर बरन्डामा पो उभिई । फाफुराभित्रको नारायणगोपाल टक्क रोकियो । सिलिन्डर युग अन्त्यको शंखनादसहित उद्घाटन भएको गोबरग्यास प्लान्ट जसरी नै उसको गायन पनि राम्ररी सुरु नहुँदै अचानक बन्द भयो । यति मीठो तान र आलापको महत्व नबुझ्ने फाफुरी कस्ती होली भनेर उसलाई झनक्क रिस पनि उठ्यो । ऊ ठेक्का नपाएको पप्पुझैँ मुद्रामा बाहिर गयो र फाफुरीलाई त्यसको कारण सोध्यो । उसले मायालु पारामा भनी,
‘‘हेर फ्याफ्स । आजकल अवस्था पहिलेजस्तो छैन । अब पुरुष हिंसाको विरोधमा पनि कडा कानूनहरु बन्दैछन् रे भन्ने सुनेकी छु । तिमीले गाएको सुन्दा बेकारमा छिमेकीहरुलाई मैले तिमीलाई कुट्छु र तिमी रुन्छौ भन्ने भ्रम पर्ला । कसैले पुलिसमा रिपोर्ट गर्देला भनेर तिमी गीत कराउन्जेल म बाहिर गएर उभिएकी हूँ ।’’

फाफुरा भित्रको नारायणगोपाल थचक्कै बस्योे । 

त्यही तोडमा फाफुरा डेराबाट निस्क्यो । रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुत्यो र ऊ आफ्नै सुरमा गाउन थाल्यो । उसको गीत सुनेर एकजना दयालु मानिसले वीर अस्पतालसम्म डोर्‍याएर लगिदिन्छु भन्नसमेत आयो । उसलाई लागेछ, फाफुराको एपेन्डिक्स फुटेको हुनुपर्छ । मानवताको नाताले त्यो प्रस्ताव लिएर आएको मानिसलाई आफूले गीत गाइरहेको हो भन्ने बुझाउन फाफुरालाई निकै समिय लागेको थियो । अर्को एकजनाले त स्वीकृति नै नलिई आफ्नो मोबाइलमा फाफुराको गीत रेकर्ड गर्न पनि भ्याए । बल्ल कुनै गीतसङ्गीत बुझ्ने पारखी भेट भयो भनेर फाफुराले उसलाई आधा मानो बदाम पनि खुवायो । ऊ बदाम छोडाउँदै फाफुरालाई भन्न थाल्यो,

‘‘अरु एक दुईवटा यस्तै आवाज निकालिदिनुस् न ।’’

फाफुराले मच्चीमच्ची बच्चुकैलाश र फत्तेमानको हुर्मत लियो । त्यो मानिस फाफुरालाई आभार प्रकट गरेर जान लाग्दा फाफुराले सोध्यो,
‘‘यो केका लागि रेकर्ड गर्नुभएको हो, कमसे कम त्यति त बताइदिनुस् ।’’
उसले भन्यो,
‘‘म सिनेमा बनाउने मान्छे हूँ । अहिले एउटा हरर फिल्म बनाएको छु । त्यसमा भूत आउने बेला मान्छेलाई तर्साउन मलाई पाश्र्वमा के आवाज प्रयोग गर्ने भनेर चिन्ता भइरहेको थियो । आजकल चोरचार गरेर पाश्र्वसंगीत हाल्न मिल्दैन । मसँग नयाँ बनाउने बजेट थिएन । भाग्यले मलाई तपाईँसँग भेटाइदियो । अब हेर्नुस्, हलमा यो सिनेमा लाग्दा दर्शकहरुले सिटैमा सुसु गरेनन् भने मेरो कान काटिदिनुहोला ।’’

त्यो मानिस दंग पर्दै गयो । फाफुरालाई वैराग लाग्यो । उसको प्रतिभाको कदर गर्ने मानिस के यो देशमा नभएको नै हो त ? यही पीरले घोत्लँदा घोत्लँदै अचानक उसको मगजमा एउटा कुरा झिलिक्क चम्क्यो । केही दिनअघि उसले कतै पढेको थियो, आजकल हाम्रो देशमा बडेबडेमानका गायन प्रतियोगिता हुन थालेका छन् । त्यसमा भाग लियो भने एकैपटक देश विदेशमा फाफुराको सुरिलो गायन गुञ्जिनेछ । किन रत्नपार्कमा कराएर आफ्नो प्रतिभा खेर फ्यालिरहनू ? उसको जस्तो आवाजलाई त पूरै देशले सुन्नुपर्छ । ती प्रतियोगिताको अडिसन हुने ठाउँ पत्ता लागउनुपर्‍यो भन्ने जोसले फाफुरा रत्नपार्कबाट काहिर निस्क्यो  । हो, त्यहाँ सुनाउनलाई जति दुःखदायी कथा भयो त्यति नै अघि बढ्ने मौका हुन्छ भन्ने पनि उसलाई थाहा थियो । त्यसैले ऊ ढुक्क थियो । 
किनभने, तपाईंहरुलाई थाहा छ फाफुराभन्दा दुःखी मानिस त अहिले नेपाली कांग्रेसको पार्टीभित्र खोजे पनि पाइँदैन । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  ०९:५५
प्रतिक्रिया दिनुहोस्