site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल उडान बन्द गर्नुअघि एयर एसियाले सबै बक्यौता चुक्ता गर्ने 

काठमाडौं । नेपाल उडान बन्द गर्ने घोषणा गरेको मलेसियाको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी एयर एसिया एक्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण बक्यौता चुक्ता गर्ने भएको छ ।  यसअघि त्रिभुवन विमानस्थल व्यवस्थापनले बारम्बार ताकेता गरेपछि एयर एसिया एक्सले करिब २३ करोड रुपैयाँ चुक्ता गरेको थियो । अब यसले १८ करोड रुपैयाँ तिर्न बाँकी छ । यसमा सेवा शुल्क ५ करोड र विलम्ब शुल्क १३ करोड रहेको छ । 

“१८ दिनअघि नेपाल उडानमा घाटा लागेको भन्दै सेवा बन्द गर्ने जानकारी गराएको एयर एसिया एक्सले सबै बक्यौता चुक्ता गर्ने प्रतिबद्धता जनाएको छ । यसबारे आज (बिहीबार) दिउँसो एयर एसियाका नेपाल प्रबन्धक निमेष शाक्यसँग छलफल भयो,” त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बिहीबार बाह्रखरीसँग भने, “मलेसियास्थित एयर एसियाको मुख्यालय बक्यौता चुक्ता गर्न प्रतिबद्ध रहेको शाक्यले बताउनुभयो ।”

आगामी असोज २७ बाट लागु हुने गरी नेपाल उडान बन्द गर्ने औपचारिक पत्र एयर एसियाबाट प्राप्त भएपछि उसले तिर्नुपर्ने सबै रकमको हिसाबकिताब निकालिएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । अझै पनि १८ करोड रुपैयाँ बक्यौता रहेका कारण उसले उडान बन्द गर्नुअघि नै बक्यौता उठाइसक्ने उनको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“उडान बन्द नगरी निरन्तरता दिन्छन् भने बक्यौता चुक्ता गर्न थप केही अवधि दिन सक्छौं,” क्षेत्रीले भने, “होइन, उडानै बन्द गर्ने हो भने त्यसअघि नै सम्पूर्ण बक्यौता चुक्ता गर्नुपर्छ भनेका छौं, एयर एसिया यसमा सकारात्मक छ । हामी जसरी पनि बक्यौता उठाउँछौं ।”
३ सयभन्दा बढी सिट क्षमतायुक्त ‘ए३३०’ सिरिजको जहाजबाट नेपाल उडान गर्दै आएको एयर एसियाले गएको पाँच महिनादेखि यो सेक्टरमा चरम घाटा खाँदै आएको भन्दै उडानै बन्द गर्ने निर्णय गरेको थियो । नेपालले वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसिया तत्कालका लागि बन्द गरेयता एयर एसिया यो सेक्टरमा घाटामा सञ्चालन हुँदै आएको थियो । 

“मलेसियाको क्वालालम्पुरबाट आउँदा ३ सय यात्रु हुन्छन्, तर काठमाडौंबाट फर्किंदा जम्मा ४० जना यात्रु हुने गर्छन्,” एयर एसियाको नेपालस्थित कार्यालयका एक अधिकारीले भने, “यसरी लगभग खालि जहाज उडाउनुभन्दा यो सेक्टर नै बन्द गर्ने निर्णयमा कम्पनी पुगेको हो ।”

एयर एसियाले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई तिर्नुपर्ने विमानस्थल विकास शुल्क, अवतरण (ल्यान्डिङ) र विसान (पार्किङ) शुल्क, हवाई परिवहन (सञ्चार परिवहन उपकरण प्रयोग) शुल्क, सुरक्षा शुल्क, कोठा काउन्टर शुल्कलगायत दुई वर्षभन्दा बढी समयदेखि ठूलो परिमाणमा चुक्ता गर्न बाँकी छ । 

बक्यौता सम्बन्धी छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले २०७४ मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न भनेको थियो । तोकिएको म्यादभित्र दुई दर्जन वायुसेवाले ५६ करोड ८७ लाख रुपैयाँ तिरेका थिए ।

त्यसपछि विमानस्थलले पुस २३ भित्र सबै हिसाब चुक्ता नगरे उडान रोक्ने चेतावनीसहितको पत्र एयर एसिया एक्सको मुख्यालय मलेसिया पठाएको थियो । उसको नेपालस्थित आधिकारिक बिक्री प्रतिनिधि (जिएसए) इन्सेन्टिभ्स टुर्सलाई त्यसअघि पठाइएको पत्रको जवाफ नआएपछि विमानस्थलले मलेसिया पत्र पठाएको थियो । जति ताकेता गर्दा पनि अटेर गरेको एयर एसियाले गत वर्ष फागुनदेखि हालसम्म किस्ता–किस्तामा गरी करिब २३ करोड रुपैयाँ चुक्ता गरेको थियो । 


 

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०७५  १७:५२
प्रतिक्रिया दिनुहोस्