site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
दुई दर्जन आन्तरिक उडान अब राति पनि हुने

काठमाडौं । प्रमुख आन्तरिक वायुसेवा कम्पनीहरूले त्रिभुवन विमानस्थलबाट दैनिक दुई दर्जन उडान रातिको समयमा सञ्चालन गर्न थालेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयको प्रस्तावपछि निजी वायुसेवा बुद्ध एयर, यती एयरलाइन्स र श्री एयरलाइन्सले रात्रि उडान सुरु गरेका हुन् । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले ती वायुसेवाको उडान तालिका स्वीकृत गरेपछि रात्रि उडान सञ्चालन हुन थालेको हो ।

‘प्रमुख आन्तरिक वायुसेवाले उल्लेख्य संख्यामा राति उडान गर्न थालेका छन्,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मंगलबार बाह्रखरीसँग भने, ‘यसबाट विमानस्थलमा भइरहेको दिउँसोको उडान चापमा कम गराउन धेरै नै सहयोग पुगेको छ ।’
उनका अनुसार बुद्ध, यती र श्रीले साँझ ६ बजेदेखि राति ९ बजेसम्म काठमाडौंबाट विभिन्न गन्तव्यका लागि दैनिक २५ उडान सञ्चालनको स्वीकृति पाएका छन् । बुद्धले १४, यतीले ७ र श्रीले ४ उडान रातिको समयमा गर्नेछन् । काठमाडौंबाट विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलमा राति उडान हुन थालेको हो । ती सबै विमानस्थलमा रात्रि उडान सुविधा उपलब्ध छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उड्डयन प्राधिकरणले पाँचदेखि सात महिनाभित्र भद्रपुर (चन्द्रगढी) र जनकपुर विमानस्थलमा पनि रात्रि उडान सुविधा थपिसक्ने गरी काम अगाडि बढाएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोका हवाई चाप कम गराउन आन्तरिक उडानको केही हिस्सा राति सञ्चालन गर्न थालिएको हो । 

‘यसबाट यात्रुलाई पनि गन्तव्य पुग्न सहज हुने छ,’ उनले भने, ‘कामको चाप भएका व्यस्त अनि दिउँसो भीडभाडमा किन जानु भन्ने यात्रु यस्ता रात्रिकालीन उडानबाट लाभान्वित हुनेछन् ।’

त्यसबाहेक बुद्ध एयरले पोखरा र विराटनगरका लागि ‘नाइट स्टप’ गर्ने जानकारी गराएको क्षेत्रीले बताए । काठमाडौंबाट ती दुई गन्तव्य जाने बुद्धका जहाज त्यस दिन उतै बस्नेछन् र भोलिपल्ट यात्रु लिएर फर्कने छन् । श्री एयरलाइन्सले भने नेपालगन्जका लागि नाइट स्टप गर्ने जानकारी दिएको छ । 

बुद्धसँग हाल ११ थान जहाज सञ्चालनमा छन् । तिनमा ७२ सिट क्षमताका ६ थान ‘एटिआर७२–५००’, ४७ सिटे तीनथान ‘एटिआर४२–३२०’ र १८ सिट क्षमताका दुईथान ‘बिचक्राफ्ट–१९००डी’ सिरिजका जहाज छन् । त्यस्तै यतीसँग २९ सिट क्षमतायुक्त आधा दर्जन ‘जेटस्ट्रिम–४१’ सिरिजका जहाज छन् । र दुर्इवटा ‘एटिआर७२–५००’ रहेका छन् । अर्को कम्पनी श्रीसँग ५० सिट क्षमताका दुईथान ‘क्यानेडियन रिजनल जेट’ (सिआरजे–२००) र ७० सिटे दुईथान ‘सिआरजे–७००’ सिरिजका जहाज सञ्चालनमा छन् । बुद्धले काठमाडौंबाट दैनिक करिब चार दर्जन, यतीले करिब तीन दर्जन र श्रीले डेढ दर्जनजति उडान गरिरहेका छन् ।  

भदौ १६ बाट आन्तरिक टर्मिनल भवन बिहान ५ बजे खुल्न थालेपछि आन्तरिक उडान केही सहज भएको विमानस्थल व्यवस्थापनको भनाइ छ । त्यसअघि विमानस्थल बिहान ६ बजे खुल्थ्यो भने पहिलो आन्तरिक उडान साढे ६ बजे हुने गथ्र्यो । तर, अब भने पहिलो उडान अधिकतम ६ बजे हुन थालेको छ । यसबाट लुक्ला र माउन्टेन फ्लाइटमा सहज भएको महाप्रबन्धक क्षेत्रीले जानकारी दिए । 

त्रिभुवन विमानस्थलमा बिहान ५ बजे खुल्ने गर्छ भने भोलिपल्ट बिहान ३ बजे बजे बन्द हुने गर्छ । हाल दैनिक २ सय आन्तरिक र अधिकतम ८० अन्तर्राष्ट्रिय उडान–अवतरण हुने गर्छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०७५  ०७:३६
प्रतिक्रिया दिनुहोस्