site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यसम्पादन समितिमा देउवासँग पौडेलले खोजे बराबरी भाग, ६०–४० गर्न देउवाको आग्रह 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फेरि विवाद देखिएको छ । 

सभापति देउवा र नेता पौडेलबीच कार्यसम्पादन समितिमा भागबन्डा नमिल्दा आन्तरिक विवाद बल्झिएको हो । दुबै नेताहरुबीचको विवादका कारण शुक्रबार बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ ।
शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी अपरान्ह ४ बजे आवश्यक तयारी नपुगेको भन्दै स्थगित गरिएको भए पनि मुख्य कारण दुई नेताबीचको विवाद नै भएको नेताहरुले बताएका छन् ।

बैठक स्थगित गरिएकोबारे जानकारी जानकारी दिँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘आज बैठक महासमितिको तयारीका सम्बन्धमा केन्द्रित रहने गरि बोलाइएको थियो । बैठकमा जाँदै गर्दा पदाधिकारीहरुको बैठकमा केन्द्रीय समितिको बैठकका लागि केही तयारी नपुगेको कुरो आयो । सभापति र वरिष्ठ नेताबीचको सहमति र सल्लाहमा थप तयारी गरेर भोलि (शनिबार) बस्ने निर्णय भएको छ ।’’ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार शुक्रबार स्थगित गरिएको बैठक शनिबार बिहान ११ बजे बोलाइएको छ । महासमिति बैठकको तयारीसँग सम्बन्धित आवश्यक पर्ने निर्णयहरु गर्न कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको थियो । 

प्रवक्ता शर्माले आवश्यक तयारी नपुगेका कारण शुक्रबार बैठक स्थगित गरिएको प्रतिक्रिया दिएपनि कांग्रेस स्रोतले सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच कार्यसम्पादन समिति गठनका बारेमा कुरो नमिलेका कारण बैठक स्थगित भएको दाबी गरेको छ । 
‘‘विधान संशोधन मस्यौदा समिति जिल्ला सभापतिहरुको प्रतिनिधित्व हुन नसकेको बारेमा वरिष्ठ नेताज्यूले असहमति जाहेर गर्दा आजको बैठक स्थगित भएको भनिएको छ,’’ कांग्रेस केन्द्रीय सदस्य स्रोतले भन्यो, ‘‘तर मुख्य कुरो दुवै शीर्ष नेताहरुका बीचमा कार्यसम्पादन समितिमा कुरो नमिल्दा बैठक नबसेको हो ।’’ 

स्रोतका अनुसार कार्यसम्पादन समितिमा ६०–४० को भागबन्डा गर्ने सभापति देउवाको प्रस्तावलाई वरिष्ठ नेता पौडेलले अस्वीकार गरेका छन् । ‘‘यस अघिदेखि चलिआएको ६०–४० को भागबन्डालाई वरिष्ठ नेताले अस्वीकार गर्नुभएको छ । उहाँले सभापतिसँग बराबरी भाग खोज्नुभएको छ । यसमा सिटौला समूहका बारेमा केही कुरै गरिएको छैन् ।’’

संस्थापन इतर समूहले बिहीबार गठन भएको विधान संशोधन मस्यौदा समितिप्रति पनि आपत्ति जनाएको छ । शीर्ष नेताहरुका बीचमा भएको सहमति विपरित कार्यसम्पादन समिति गठन गरिएको भन्दै संस्थापन इतर समूहले आपत्ति जनाएको छ । 

‘‘शीर्ष नेताहरुका बीचमा नौ सदस्यीय समिति बनाउने सहमति भएको रहेछ । तर समिति घोषणा गर्दा ११ सदस्यीय भएर आयो । हेटौंडा भेलाको म्यान्डेडअनुसार जिल्ला सभापतिहरुको पनि प्रतिनिधित्व भएन । अब जिल्ला सभापतिहरुलाई पनि समावेश गराउने सहमति भएर आजको बैठक भोलिका लागि सरेको हो,’’ कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने ।    

त्यस्तै कांग्रेसका अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुको सहभागिता नभएकाले थप छलफल गर्न केन्द्रीय समिति बैठक स्थगित गरिएको जानकारी दिए । 

‘‘संगठनको जिम्मेवारीमा रहेका जिल्ला सभापतिहरुको विधान मस्यौदा समितिमा रिक्तता देखियो । उहाँहरुको सहभागिता हुनुपर्छ भन्ने कुरा हामीले अगाडि बढायौं । यसकै बारेमा छलफल गर्न भनेर बैठक स्थगित भएको छ,’’ नेता भण्डारीले बाह्रखरीसँग भने । 
कांग्रेसले बिहीबार महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । 

समितिमा डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पोडेल र रमेश लेखक रहेका छन् । 

यसैबीच विधान संशोधन मस्यौदा समितिले कार्यालय सचिव तथा सूचना अधिकारी केशव रिजाललाई सदस्य सचिवमा मनोनित गरेको छ । शुक्रबार बिहान बसेको समितिको पहिलो बैठकले सूचना अधिकारी रिजाललाई सदस्य सचिवमा मनोनित गरेको प्रवक्ता शर्माले जानकारी दिए । 

‘‘बैठकमा विधान संशोधन मस्योदा समितिले आफूले लिने समायावधि लिइसकेर केन्द्रीय कार्यसमितिले विस्तारित रुपमा मस्यौदा बनाएर लैजाने भन्ने कार्ययोजना अनौपचारिक रुपमा मात्रै केन्द्रीत भयो,’’ बैठकका बारेमा जानकारी दिँदै प्रवक्ता शर्माले भने, ‘‘बैठकले सूचना अधिकारी केशव रिजाललाई सदस्य सचिवमा मनोनित गर्यो ।’’   

फाइल तस्बिर 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०७५  १८:०६
प्रतिक्रिया दिनुहोस्