site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महासमिति भदौभित्रै बोलाउने तयारी, मस्यौदा समितिले आजैदेखि काम थाल्ने 

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको भए पनि भदौभित्रै महासमिति बैठक बोलाउने तयारी गरिएको छ । त्यसको तयारीका लागि विधान संशोधन मस्यौदा समिति पनि बनाइएको छ भने केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ ।

सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच केन्द्रिय समिति बैठकले गरेको निर्णयअनुसार नै भदौ महिनाभित्रै महासमिति बैठक बोलाउने सहमति भएको कांग्रेस स्रोतले जनाएको छ ।

गत वैशाख १६ गते सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले भदौ महिनाभित्रै महासमिति बैठक बोलाएर पार्टीको संगठनलाई मुलुकको संघीय ढाँचा अनुरुप विस्तार गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम कांग्रेसले बिहीबार नै महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महामन्त्री खड्का संयोजक रहेको समितिमा डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय ‘डिना’, आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पोडेल र रमेश लेखक रहेका छन् । 
यसअघि यही समिति गठनमा ढिलाई भएका कारण कांग्रेस वृत्तमा सभापति देउवाले भदौ महिनामा महासमिति बैठक बोलाउन नचाहेको टिप्पणी हुँदै आएको थियो ।  

कांग्रेस नेतृत्वको प्रभावशाली नेताहरुले नै विभिन्न टिकाटिप्पणी हुन थालेपछि मस्यौदा समिति बनाउन नेताहरु तातिएका थिए । बिहीबार बसेको पदाधिकारी बैठकमा उनले स्पष्ट रुपमा महासमिति बैठकलाई भदौ महिनाभन्दा पछाडि सार्न नसकिने कुरा राखेको स्रोतले जनाएको छ । 

‘‘म भदौभन्दा उता सार्ने कुरामा सहमत हुन्न । रातदिन लगाएर तयारी गरेर भएपनि महासमिति बैठक गर्नुपर्छ भन्नेमा सभापति हुनुहुन्छ,’’ बैठकमा सहभागी स्रोतले भन्यो, ‘‘उहाँले भदौभित्रै महासमिति हुनुपर्छ, सार्ने कुरो हुँदैन भनेर तयारीमा लाग्नुस् भन्नुभएको छ ।’’ 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि सभापति देउवाको भदौ महिनाभित्रै महासमिति बोलाउने मनस्थिति रहेको पुष्टि गरेका छन् । उनी बिहीबार गठन भएको विधान संशोधन मस्यौदा समितिले लगातार रुपमा पाएको जिम्मेवारी अनुरुप काम सम्पादन गरे भदौ अन्तिम साता महासमिति बैठक बोलाउन सकिनेमा ढुक्क देखिन्छन् । 

‘‘केन्द्रीय समिति बैठकले महासमति बैठक भदौमा भनेर निर्णय गरेको छ । रातदिन काम गरेर विधान मस्यौदा समितिले १५–२० दिन तयारी गरेपछि भदौ मसान्तमा महासमिति गर्न सकिन्छ,’’ प्रवक्ता शर्माले बाह्रखरीसँगको टेलिफोन कुराकानीमा भने, ‘‘२२–२३ दिन अझै बाँकी छ । शुक्रबार बिहान विधान संशोधन मस्यौदा समितिको पहिलो बैठक छ । यो बीचमा कस्सिएर लाग्यो भने भदौमै महासमिति हुन्छ ।’’ 

प्रवक्ता शर्माका अनुसार नवगठित विधान संशोधन मस्यौदा समितिको पहिलो बैठक शुक्रबार बिहान ९ वजे बस्दैछ । समितिले सभापतिसँग परामर्श गरेर आफ्नो कार्याविधि आफैँ तयार गरेर लागू गर्ने र समिति संयोजकले आवश्यकता अनुसार विभिन्न व्यक्ति र संस्थाहरुलाई समितिमा आमन्त्रण गर्न सक्ने अधिकार पाएको छ ।  

कांग्रसले शुक्रबार नै केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा महासमिति बैठकको तयारीसँग सम्बन्धित आवश्यक पर्ने निर्णयहरु गरिने प्रवक्ता शर्माले जानकारी दिएका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०७५  ०८:४८
प्रतिक्रिया दिनुहोस्