आइतबार बिहानै नेपाल वायुसेवा निगमका प्रमुख कार्यकारी निर्देशक सुगतरत्न कंसाकारले ट्विट गरे :
‘‘नेपाल वायुसेवा निगमले ६ वटा जेट विमान खरिदको लागि २०६५ सालमा नै प्रस्ताव आह्वान गरेकोमा ६ वर्षपछि २०७१ सालमा मात्र दुईवटा A320 विमान आई पुगेको र १० वर्षपछि अब २०७५ सालमा दुईवटा A320आउने भएको छ । यो ‘विकासको गति’ पक्का पनि पर्याप्त छैन, यदी विश्वमा के भैरहेको छ भनी हेरियो भने !’
ट्विटरमै उनलाई जिजुविषले प्रश्न गरे : ‘‘थन्काउने कि साँच्चै उडाउने हो ? कोहीले विश्वास छैन रे’’
अनि कंसाकारले जवाफमा लेखे : ‘‘हामी नेपाली नागरिक भएकोले विमान संचालन गरी हवाई सेवाको व्यापार गर्न सक्तैन, अन्य २०० मुलुकको नागरिकले मात्र सक्छ भन्ने सोच भएको व्यक्तिहरुसँग त कुरा गर्नै बेकार हुन्छ भन्ने मेरो व्यक्तिगत धारणा रहेको छ ।’’
सुगत सर,
यहाँबाट यस्तो जवाफको अपेक्षा किन रहँदैन भने :
०१. सकारात्मक सोच राख्नुपर्छ भन्ने यहाँको धारणामा दुईमत नहोला तर यहाँको हरेक सार्वजनिक हुँकारमाथिको प्रश्नको जवाफ दिनु यहाँजस्तो सार्वजनिक महत्त्वको जिम्मेवारी लिएकाहरूको दायित्व हो ।
०२. कुनैपनि नेपालीको जिज्ञासामा ’बेकार’को सोच भनी पन्छिनु गैरजिम्मेवारी हो विशेषगरी यहाँले । जवाफ दिनुस् : यो एउटा प्रश्न लाखौंको हो ।
०३. यहाँ नै भन्ने गर्नुहुन्छ ‘‘निगम सरकारको हैन तीन करोड नेपालीको हो ।’’ भनेपछि बुझ्नुस् यहाँलाई आधा खर्बको संस्था हाँक्ने जिम्मा दिएका छन् तिनै तीन करोड नेपाली मालिकले ।
०४. पन्छिनु नै छ भने यहाँ जस्तो जिम्मेवार मुखियालाई सामाजिक सञ्जालमा नआउन सुझाव छ । यहाँमा अपरिपक्वता नझल्कियोस् । सामाजिक सञ्जालमा सबै फूलमाला लिएर बस्दैनन् ।
०५. “जुन गन्तव्यमा १५७ सिटको एयरबस –३२० भर्न सकेका छैनौं उही गन्तव्यमा २७५ सिटको वाइडबडी भर्ने योजना के छ?“ प्रश्न गर्नेलाई सोझै ’विकास विरोधी’ नभनी दिन अनुरोध छ ।
०६. साना ६ जहाज, त्यसका लागि अलग ६–७ सय कर्मचारी र १९ गन्तव्य रहेको आन्तरिक उडान व्यवस्थापन बारे सञ्चारको प्रश्नमा यहाँले सिधै ‘‘मेरो फोकस अन्तर्र्रािष्ट्रय हो, आन्तरिकमा व्यापार कम छ’’ नभन्न पनि अनुरोध छ ।
०७. उडान प्राविधिक विषय बारे अनभिज्ञ मन्त्रीसँगको छलफलमा यहाँले सोझै भनिदिनु भयो – यो वाइ टुवेल्भ उडाउने अंग्रेजी बोल्ने (आइपी) इन्स्ट्रक्टर पाइलट दक्षिण अमेरिका र अफ्रिकातिर रहेछन्, उनीहरूसँग कुराकानी भै’रा छ, उनीहरूलाई ल्याएपछि हाम्रो समस्या समाधान हुन्छ । सर, यी जहाज अस्तिमात्र आएका नभई, चार वर्षदेखि निगममा थन्के सरह छन् । यसरी थन्काउनु नै थियो भने २ वटा सित्तैमा पाइयो भनी ४ वटा किन्नुको कुनै तुक थिएन । यहाँले भन्ने गरे झैँ त्यो सरकारी चासो र निर्णय थियो भने सरकारलाई रोक्ने कर्तव्य यहाँको थिएन र ?
०८. मन्त्रीलाई यहाँले के पनि भनिदिनु भयो भने – अन्तर्राष्ट्रिय उडान करिब करिब राम्रो छ । हामी ढुक्क छौँ । हामीले अन्तर्राष्ट्रिय उडान खाली गराएको छैनौ । प्रधानमन्त्रीको फ्लाइटमा मात्र ४ सिट ‘नो सो’ (यात्रु अनुपस्थिति) भयो ।” सर, गत साताको एउटा बैंकक उडानमा जाँदा ५८ सिट खाली र फर्कंदा ११८ सिट खाली थिए । यो त खालि एउटा उदाहरण हो ।
०९. आन्तरिक उडान नियमित किन भएन भनेर मन्त्रीलाई यहाँले भनिदिनु भयो, ‘‘अरुसँग ९ जहाज ९ गन्तव्य छन् । हामीसँग ६ जहाज १९ गन्तव्य छन् । १९ जहाज १९ गन्तव्य भए हामी नियमित हुन सक्छौं ।’’ सर, हिसाब उडान संख्यामा हुनुपर्ने होला, गन्तव्य नभई । एकै गन्तव्यमा १० उडान पनि हुनसक्छन्, हैन र ? अर्को कुरा, २० वर्षअघि यही निगमका १ एभ्रो र ६ ट्विनअटरले ४० भन्दा बढी आन्तरिक नियमित दैनिक उडान गर्थे ।
१०. टिकट बेच्ने प्रणालीमाथि मन्त्रीको जिज्ञासामा तपाईं बोल्नै सक्नु भएन । यो त व्यापारको अहम् विषय होइन र ? जवाफ त तब दिन सकिन्छ जब यसमा रुचि राखिन्छ । खासमा तपाईंको बजार व्यवस्थापन फितलो किन छ भने निगमको जनरल सेल्स एजेन्ट र प्यासेन्जर सेल्स एजेन्ट लिन दिन हानथाप हुने गर्छ । विदेशको जीएसएले निर्देशकलाई गाडी नै उपहार दिएको विगत पनि छ निगममा । डेढ दशकअघि जापानको (जीएसए नभई) पीएसए मात्र दिलाएबापत पनि चालीस हजार डलर कमिसन लिने असफल प्रयास भएको थियो यो पंक्तिकारसँग ।
देश विदेशका यस्ता एजेन्टले सिट होल्ड गर्छन् अन्तिम समयसम्म, कुनै यात्रु आउलान् कि भनेर । यिनीहरूले होल्ड गरेको सिट निगमले थुतेर बेच्न सक्तैन । अनि अन्तिम समयमा निस्किएको सिट निगमले बेच्नै सक्तैन । न त अन्तिम समयसम्म रोक्ने एजेन्टलाई नै कारबाही र जरिवाना गर्न सक्छ निगम । यस्तै कमजोर बजार रणनीतिको कारण निगममा सिट पाइन्न, जहाज भने खाली रहन्छन् ।
१०. दुई एयरबस – ३२० आइसके, एयरबस – ३३० पर्सि आउँदैछ । निगमसँग पाइलटको अभाव छ । निगमका पाइलटले नै पंक्तिकारसँग भन्ने गरेका छन् –‘‘आरामै गर्न पाइन्न ।’’ खासै भन्नुपर्दा नयाँ वाइडबडी एयरबस – ३३० जहाज निगमको व्यापारले माग गर्नुभन्दा कंसाकार सरकै रणनीतिमा आउँदैछन् । ४३ वर्ष बोइङमा अभ्यस्त निगम प्रविधि विनाअध्ययन एयरबसमा हामफाल्नु, संक्रमणकालीन मुलुकको कमजोरीमा निहित स्वार्थको लागि गराइएको निर्णय देखिन्छ यो । यी नयाँ जहाजसँगै विदेशी पाइलट पनि आउँदैछन् उडाउन । यसबारे यहाँ खुल्नु भएको छैन ( यी पाइलट र प्राविधिकका तलब भत्ता सबै खरिद मूल्यमै गाभिएको छ । देख्नलाई भने ‘निःशुल्क’ छ । चालीस लाख रुपैयाँभन्दा बढी पर्छ प्रतिव्यक्ति प्रतिमहिना । यिनीहरू गएपछि पाइलटको खड्को हुन्छ फेरि । त्यसैकारण पनि यहाँले ‘फौजदारी मुद्दामा रहेका’ र निगमले नै कार्वाही गरी ‘फरार’ रहेका पाइलटलाई प्रशिक्षण र नियुक्ति दिनुभएको छ । यसलाई अख्तियार दुरुपयोग र दण्डहीनता भनिन्छ ।
११. यी आउने वाइडबडी पनि अमेरिकी ‘एआर कंपनी’सँग खरिद गरिएका हुन् तर भुक्तानी पोर्चुगलको ‘हाइ फ्लाइ’लाई दिइयो । प्रमाणित नभई अनियमितता छ र छैन भन्न नसकिएला तर यो नीतिसंगत भने थिएन ।
१२. निगमले नयाँ ४ एयरबसका लागि झन्डै ४० अर्ब रुपैयाँ ऋण बोकेको छ । वार्षिक ब्याज रु ३ अर्ब ६० करोड छ । निगमको उडान व्यापार घाटामा छ । ग्राउण्ड ह्यान्डलिङबाट तीनदेखि साढे तीन अर्ब कमाउँछ । जुन ब्याज तिर्नैमा ठिक्क हुन्छ ।
१३ . हामीलाई शंका निगमको छविसँग होइन । हामीलाई थाहा छ, निगमलाई विदेश र विदेशी गन्तव्यले धेरै माया गर्छन् । जापानले त होटलमा समेत सहुलियत सुविधा दिएको थियो । कतारले नयाँ हामाद इन्टरनेसनल एयरपोर्टमै स्लट दियो र इमिरेट्सले, केयुएल, हङकङले पनि प्राथमिकतामा राख्छन् । हामीलाई शंका तपाईंको सकारात्मक सोचमाथि पनि होइन । शंका त तपाईँको हचुवा पाराको व्यवस्थापनमाथि हो । सूक्ष्मताको कमीमाथि हो । कमजोर बजार अध्ययनमाथि हो । चुस्त समूहको खाँचोमाथि हो । सहजै अख्तियारी दुरुपयोग गर्ने तपाईँको शैलीमाथि हो । नेतृत्वको स्वार्थको लागि अपराधलाईसमेत सहजै स्वीकार्ने खतरनाक दण्डहीन सोचमाथि हो । नेपालको राज्य प्रणाली, ऐन, नीति नियम बारे न जानकारी, न चासो छ, न त सम्मान नै देखियो यहाँमा । हुँदो हो त संसदीय लेखा समीतिमा गएर ‘‘जहाज जसरी पनि आउँछ, मैलै सरकारलाई ट्रयापमा पारिसकेँ’’ भन्नुहुन्थेन होला । तपाईँ पर्यटन सचिवलाई त्यसरी धम्की दिनसक्नु हुन्न तर संसदीय समितिलाई दिनु सक्नुभयो । किनभने समितिलाई ‘‘सस्तो खुलामञ्च’’ भन्दामाथि मानिएन । राष्ट्रिय ध्वजावाहक अवश्य चाहिन्छ । प्रश्न हो – कुन मूल्यमा ?
१४. हामीले बुझेको व्यापार दुईथरी हुन्छन् : १. बजारकेन्द्रित, २. उत्पादन केन्द्रित । तर तपाईंको व्यापार शैली भने अदुवा आकारको विकेन्द्रित भान हुन्छ । विनाआकार, भगवान भरोसा, आधा खर्बको लगानी ! तपाईको आफ्नो बजार योजना छैन, अरुको बजारमाथि धावा बोलेको भान हुन्छ, त्यो पनि विनापूर्वतयारी । बजार केन्द्रित हो भने कंपनी बाहिर गई बजार अध्ययन गरेर रणनीति र कार्यनीतिमा चुस्त निर्णय लिनुपर्ने हुन्छ । आफ्ना उपभोक्ता र यात्रु बुझ्नुपर्यो अर्थात् आफ्ना प्रतिस्पर्धी र तिनको शक्ति र रणनीतिक शैली बुझेर अगाडि बढ्नुपर्ने हुन्छ । निगमले थाई, कतार, सिल्क, ड्रयागन, इत्तिहाद, कोरियन एयर, चाइना साउदर्न, मलेसिया, जेट, एयर इन्डिया आदिसँग उही गन्तव्यको लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । के छ त कार्ययोजना ?
उत्पादन केन्द्रित व्यापार हो भने हवाई सेवामा अरूले भन्दा फरक के दिन सक्छौँ ? गुणस्तरीय सेवाको विकास गर्न कत्तिको सक्षम छौँ ? समय, सेवा र सुरक्षामा विश्वसनीयता कसरी बलियो बनाउने ? के छन् त सुधारात्मक कार्ययोजना ? सबै नेपाली नेवानी नै चढ्छन् भन्ने विश्वास लिएर अगाडि नबढ्नुस् । यो सोचलाई थाती राख्नुस् – सुविधाजनक सेवा र समयको प्रतिस्पर्धात्मक जमानामा । हाम्रा राष्ट्राध्यक्षहरूनै चढ्न छोडिसके हाम्रो ध्वजावाहक । किन प्रधानमन्त्रीकै उडान आधा घन्टा धकेलियो ?
१५. मिडिया अथवा मन्त्रीले अथवा संसदीय समितिले तपाईँमाथि यिनै प्रश्न राखे ठोस कार्य योजना बताउन सक्नुहुन्न तपाई । तपाईं यति मात्रै भन्ने गर्नुहुन्छ – ‘‘जाहाज चाहियो नि पहिला । पसल खोल्ने दराज खालि राखेर हुन्छ ? अरु देशले सक्ने नेपालले नसक्ने भन्ने हीनताबोध राखेर हुन्छ ?’’ अनि समयमा उड्न नपाएर यात्रु अलपत्र परे भने यहाँले सहजै भनिदिनुहुन्छ –‘‘त्यो सानोतिनो टेक्निकल प्रोब्लम त आइहाल्छ नि । त्यो सबैको आउँछ ।’’ तर, निगमको साखमा यसले पारेको असर बारे न तपाईँ गम्भीर देखिनुहुन्छ न त कुनै शक्तिशाली छानबिन विभाग नै खडा गर्नुभएको छ, न त दण्डरपुरस्कारको प्रचलन नै राख्नुभएको छ । विसं २०७३ को पुसमा मोबाइल स्विचअफ गरेर पाइलट ड्युटीमा नआउँदा १९० यात्रुको दोहा उडान रद्द भएको छानबिन गर्नुभयो ?? ती यात्रुलाई १२ बजे राति होटेलमा राख्दा कति खर्च व्यहोर्नु पर्यो ? यसलाई सामान्य टेक्निकल समस्या मान्न सकिन्छ र सर ?
१६. गत वर्षको तपाईँको यो तस्बिर हेर्नुस् त ।
तपाईँंहरूको गेटअप संसारको कुनै सीईओभन्दा कम छैन । ‘‘ग्ल्यामर बिजिनेस’’ हाँक्नेको देखावट हुनु जरुरी हुन्छ र तपाईंहरूमा देखिन्छ पनि । तर पछाडिको ब्यानर हेरौँ, झन्डै आधाखर्बको संस्थाको उज्यालो भविष्य दर्शाउन गरेको पत्रकार सम्मेलनमा खुम्चिएको ब्यानरमा A320 जहाजमा आफैँले A330 लेख्नुभएको छ । व्यानर तपाईंँले डिजाइन गर्ने पक्कै होइन । तपाईँले त निगमकै चुस्तता डिजाइन गर्ने हो । तर, यो तस्बिरले भने निगम व्यवस्थापनको सूक्ष्मता र चुस्तता कस्तो छ टक्रक्कै झल्काउँछ ।
यहाँलाई के लाग्छ, यी बुँदाहरू प्रस्तुत गर्ने यो पंक्तिकार ‘निगमको प्रगति र विकास विरोधी’ हो या ‘शुभचिन्तक’ ? ‘ केलाएर, सोचेर जबाफ दिनुहोला । सर्वसाधारण पाठक दर्शक तपाईं हामीभन्दा धेरै विद्वान्, सक्षम र अध्ययनशील छन् हाम्रा काम कर्तुतमाथि ।
तपाईँ र तपाईँको टिमलाई हार्दिक मंगलमय शुभकामना भने रहिरहनेछ । श्री पशुपतिनाथले सबैको कल्याण गरुन् ।