site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
महंगी बढेको कसैलाई मतलब छैन, शेरबहादुर खराब भन्या’छ, बस्या’छः देउवा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अनुकल माग अघि सार्ने गरेको आरोप लगाएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित पार्टीको भ्रातृ संगठन नेपाल ट्रेड यूनियन कांग्रेसको छैठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सभापति देउवाले वरिष्ठ नेता पौडेलले आफूलाई चाहिएका बेला विधान र सहमतिको कुरा गर्ने गरेको बताए ।  पार्टी एक बनाउन सभापतिले विधान अनुसार सहमतिमा अगाडि बढ्नु पर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई स्मरण गर्दै उनले विधान र सहमति दुवैलाई एक साथ लगेर अगाडि बढ्न नसकिने बताए । 

‘‘कि विधानअनुसार चल्नुपर्यो कि सहमतिअनुसार चल्नुपर्यो । सहमति र विधान दुवै कहाँ हुन्छ ?’’ उनले प्रतिप्रश्न गर्दै भने, ‘‘कि सहमति भन्नुस् विधान जे सुकै होस् कि विधान अनुसार जाउँ । आफूलाई चाहिएको बेला विधान, आफूलाई चाहिएको बेला सहमति, यो कहीँ मिल्छ ?’’ 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कांग्रेसमा एक–अर्काको आलोचना गर्ने परिपाटीले अहिलेको अवस्था आएको सभापति देउवाको दाबी थियो । 

‘‘कांग्रेसमा आफ्नैलाई आलोचना गर्ने परिपाटी छ । आफनाले आफ्नैको आलोचना गर्दा बिग्रेको हो,’’ उनले थपे, ‘‘कम्युनिष्टको कसैले आलोचना गर्दैनन्, उनीहरुले सहन सक्दैनन् पनि ।  शेरबहादुर देउवालाई जति पनि गाली गर्न पाइहालिन्छ नि ।’’

मुलुकमा सिर्जना भएको चुनौतीको सामना गर्न पार्टी एक हुनुको विकल्प नभएको जिकिर गर्दै सभापति देउवाले आफ्नो आलोचना गरेर चुनौतीको समना गर्न नसकिने स्पष्ट पार्न खोजे । ‘‘शेरबहादुरको विरोध गरेर चुनौतीको सामना गर्न सकिनेवालै छैन् । चुनौतीको सामना गर्न पार्टी एक हुन जरुरी छ,’’ उनले भने । 

पार्टी एक हुनका लागि कांग्रेसका सवै नेताहरुले एक भएर हिड्नु पर्नेमा सभापति देउवाले जोड दिए । चुनावमा हारजित स्वाभाविक भएको भन्दै उनले सवैले मिलेर टिकट बाँडेको स्मरण गरे । 

पार्टीमा समस्या सिर्जना भएको स्वीकार गर्दै सभापति देउवाले अहिलेको अवस्थामा नेतृत्वलाई मात्रै गाली गरेर पार्टी बलियो नहुने बताए । आफूलाई गाली गरे चुप लागेर नबस्ने देउवाको चेतावनी थियो । ‘‘अहिलेको बेला मलाई गाली गरेर पार्टी बलियो हुनेवालै छैन् । म पनि चुप लागेर बस्ने त होइन नि । मेरो विरोध गरेर बसे म चुप लागेर बसुला ?,’’ सभापति देउवाले चेतावनीपूर्ण भाषामा भने । 

भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले हदभन्दा बढी चाकडी गरेको कांग्रेस सभापति देउवाको टिप्पणी थियो । ‘‘भारतीय दुतावासले ओलीलाई लुगाको नाप मागेछ । कति सम्मको लम्पसारवाद हो यो । हदभन्दा बढी चाकडी होइन ?,’’ उनले भने । 

दैनिक उपभोग्य वस्तुको मूलयवृद्धि गरेर मुलुकमा कहिल्यै समृद्धि आउन नसक्ने उनको भनाई थियो । ‘‘समृद्धि ल्याउँछु भन्या छ, महंगी बढाएको छ । त्यताप्रति कसैको ध्यान छैन् । शेरबहादुर खराब भन्या छ, बस्या छ,’’ सभापति देउवाले जोडे । 
अहिले कसैले पद छोड भन्दैमा आफूले पद नछाडने उनले दोहोर्याए । मलेसियामा ९२ वर्षका नेता प्रधानमन्त्री भएको उदाहरण पेश गर्दै सभापति देउवाले भने, ‘‘अहिले कसैले हट भन्दैमा म हट्ने वाला छैन् । फेरि हाम्रो पार्टीमादुई पल्टभन्दा बढी चुनाव लड्नै पाउँदैन । एक पल्ट पनि पूरा भएको छैन् अहिले नै हट् । यस्तो पनि कहीँ हुन्छ ?’’  

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको समयमा ‘चुइक्क’ सम्म बोल्न नपाएका नेताहरुले अहिले बोल्न पाएको देख्दा आफूलाई कांग्रेसमा प्रजातन्त्र आएको भान भएको उनको भनाई थियो । ‘‘यो राम्रो हो है । बल्ल प्रजातन्त्र आएको छ  पार्टीमा । यसकारण मलाई खुसी पनि लागेको छ,’’ देउवाले भने । 

ट्रेड यूनियनको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा वरिष्ठ नेता रामचन्द् पौडेलले सभापति देउवा विधानअनुसार सहमतिमा अगाडि बढे पार्टीभित्रको विवाद साम्य हुने बताएका थिए ।  यस्तै उपसभापति विमलेन्द्र निधिले अहिले आरोप–प्रत्यारोप गरेर समय खर्चिने समय नभएको बताए । 

कार्यक्रममा महामन्त्री डा शशांक कोइरालाले कांग्रेस एकतावद्ध हुनुको विकल्प नभएकोमा जोड दिए । “कांग्रेसलाई हराउने ‘जरो’ कांग्रेसभित्रै भएको जिकिर गर्दै उनले भने, ‘‘आपसी तिक्तता मेटाउन जरुरी छ । अर्को चुनाव जित्न पनि एक्तावद्ध हुन जरुरी छ ।’’ 
त्यस्तै कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले संसदमा कांग्रेसले बलियो प्रतिपक्षीको रुपमा आफूलाई प्रस्तुत गर्नुपर्नेमा जोड दिए । 
  

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५  ०५:३१
प्रतिक्रिया दिनुहोस्