site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अर्ली महाधिवेशन’ बारे के भन्छन् कांग्रेस जिल्ला सभापतिहरु

काठमाडौं । मकवानपुरको हेटौंडामा भेलाको तयारीमा रहेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि चर्चामा आएको ‘अर्ली महाधिवेशन’ को कुनै आवश्यकता नरहेको बताएका छन् । 

पार्टीको संस्थापन पक्षइतरका केन्द्रीय सदस्यहरुले नेतृत्वको कमजोरीकै कारण चुनावमा पराजय भोग्नुपरेको दाबी गर्दै ‘अर्ली महाधिवेशन’ डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने माग अघि सारे पनि जिल्ला सभापतिहरु भने ‘अर्ली महाधिवेशन’ का लागि इच्छुक देखिएका छैनन् । 

‘‘अर्ली महाधिवेशनको कुनै औचित्य छैन । न कहिले भएको थियो, न त हुने नै हो । यसको आवश्यकता नै छैन,’’ कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले बाह्रखरीसँगको टेलिफोन कुराकानीमा भने, ‘‘अहिलेको चुनावमा मात्रै कांग्रेस हारेको होइन । ०६४ मा पनि हारेकै थियो ।’’ 

उनले ‘अर्ली महाधिवेशन’ भन्दा पनि पार्टीलाई आगामी ५ वर्षभित्र मजबुद बनाउनका लागि गुट–उपगुट र भागबण्डाको राजनीति अन्त्य गर्नुपर्नेमा जोड दिए । भक्तपुर सभापति थापाले निर्वाचनमा पार्टीले ब्यहोरेको पराजयकै कारण देखाएर नेतृत्व परिवर्तन सम्भव नै नभएको पनि दाबी गरे । 

कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बूले पनि पार्टीको केन्द्रीय कार्यसमितिमा चुनावी समीक्षा बैठकमा उठेको ‘अर्ली महाधिवेशन’ को सम्भावना नै नभएको प्रतिक्रिया दिए । पार्टीको महासमिति बैठकले पार्टीलाई संघीय संरचनामा लैजान विधान परिमार्जनका लागि गठन गर्ने समितिले जिम्मेवारी पूरा गर्दासम्म विधानले तोकेको समयमै महाधिवेशन गर्ने समय आउने उनको भनाइ छ । 

‘‘नयाँ क्रियाशिल र साधारण सदस्यबाहेक अर्को सदस्यताको व्यवस्था, विधान संशोधनको प्रक्रिया आदि गर्दा समय लाग्छ । यो सबै गर्दासम्म महाधिवेशनको समय आइहाल्छ,’’ जिल्ला सभापति लिम्बूले भने, ‘‘त्यसैले यो अर्ली महाधिवेशनको कुनै सम्भावना देख्दिन ।’’
कांग्रेसका जिल्ला सभापतिहरुले असार पहिलो साता हुन गइरहेको हेटौंडा भेलामा ‘अर्ली महाधिवेशन’ को मुद्दा छलफलमा भने आउन सक्ने सम्भावना रहेको बताएका छन् । भेलामा ‘अर्ली महाधिवेशन’ को मुद्दामा छलफल भए पनि यसका बारेमा पार्टीको महासमिति बैठकले मात्रै निर्णय गर्ने अधिकार भएको उनीहरुले प्रतिक्रिया दिएका छन् । 

‘‘सभापतिहरुको भेलामा अर्ली महाधिवेशनको विषय उठ्न सक्छ तर विधानमा व्यवस्था भएअनुसार यसको निर्णय महासमितिले मात्रै गर्ने हो,’’ कांग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले प्रतिक्रिया दिए । 

सभापतिहरुले पार्टीलाई मजबुद र सुदृढीकरणका लागि गुट–उपगुटको अन्त्य हुनुपर्ने, पार्टी नेतृत्व विधानअनुसार चल्नुपर्ने, भागबण्डाको परिपाटी समाप्त गरेर जनताका माझ जानुपर्नेमा जोड दिएका छन् । 

‘‘अर्ली महाधिवेशन गरेर समाधान निस्केला जस्तो लाग्दैन । अब पार्टी कसरी सुदृढीकरणमा जाने, त्यतापट्टी ध्यान दिनुपर्छ । आगामी राणनीतिका बारेमा छलफल चलाएर गाउँ–गाउँ जानुपर्छ,’’ कांग्रेस दाङका सभापति कीर्तबहादुर खड्काले भने । 

विभिन्न जिल्लाका कांग्रेस सभापतिहरुले बाह्रखरीसँगको टेलिफोन कुराकानीमा ‘अर्ली महाधिवेशन’ गर्दैमा पार्टीले निकास नपाउने दाबी गरेका छन् । ‘‘डा. शेखर कोइरालाले अर्ली महाधिवेशन नेतृत्व परिवर्तनका लागि होइन भनिसक्नु भएको छ । त्यसैले यो विषयले महत्व राख्दैन,’’ कांग्रेस कैलालीका सभापति नरनारायण शाहले प्रतिक्रिया दिए । 

कांग्रेस झापाका सभापति उद्धव थापाले चुनाव हार्दैमा नेतृत्वले राजीनामा दिनुपर्ने पक्षमा आफू नरहेको बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम लगत्तैबाट केही नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने भने पनि त्यो उचित नभएको बताए । 

‘‘चुनावमा हारजीत हुन्छ । चुनाव हार्दैमा राजीनामा दिनुपर्छ भन्ने हुँदैन,’’ झापा अध्यक्ष थापाले भने, ‘‘सभापतिहरुको भेलामा मात्रै होइन् कि महासमिति बैठकमा पनि राजीनामाको माग उठ्दैन, उठी हाले पनि कार्यान्वयन हुनेमा विश्वस छैन म ।’’  
        

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २३, २०७५  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro