तपाईँहरुलाई फाइँफुट्टीराजको प्रमोशन भएको त थाहा भैसकेको छ नि हैन ? कसैलाई थाह छैन भने एकपटक फेरि भन्दिन्छु है ? फाफुरा एलिट भएको छ । अब त्यो कुराको किन हल्ला गर्छस् फाफुरो भनेर सोध्नुहोला । यहाँ मानिसहरु आजकल आफ्नो छोराछोरीको विदेशी युनिवर्सिटीबाट अफर लेटरमात्र आउँदा त हल्ला गर्न थालिसके । फाफुराले त ठूलै फड्का मारेको छ । रत्नपार्कमा टोपीले मुख छोपेर सुत्ने फाफुरा एकैपटक गार्डेन अफ ड्रिम्समा क्यापले फेस कभर गरेर स्लिप गर्ने भनेको चानचुने कुरा कहाँ हो र ? अब यी दुई कुरामा के फरक छ चाहिँ नभन्नुहोला । टोपीलाई क्याप, मुख छोप्नेलाई फेस कभर गर्ने र सुत्नेलाई स्लिप गर्ने भन्नासाथ सर्वहारा फाफुरा अब एलिट भैसक्यो । नेपालीमा बोल्दा अश्लील मानिने शब्दहरु त अँग्रेजीमा बोले सभ्य मानिन्छ हाम्रो समाजमा ! चचाचिवाला शव्द सुन्दा कान थुन्ने समाजले फफाफुबाट अँग्रेजीकरण गरेको त्यही अर्थ लाग्ने शब्दहरु वेद पचाए जसरी पचाउँछ ।
अनि फाफुराले किन सेखी नगर्नू ? अब त ऊ एलिट फाफुरोमा परिणत हुँदैछ । एलिट बन्ने सबैभन्दा पहिलो योग्यता भनेकै नेपाली बोल्दा त्यसमा सकेसम्म अँग्रेजीको मिसावट गर्नु हो । त्यसका लागि उच्चारण वा व्याकरण शुद्ध हुनु पनि पर्दैन । त्यसैले त हामी केही यस्ता अँग्रेजी शब्दहरु प्रयोग गर्छौं जुन सुनेर अँग्रेजले पनि शब्दकोष पल्टाउनुपर्छ । अलि राम्रो उचाइ भएको मानिसलाई ‘त्यो त क्या हाइटी छ’ भन्ने र अलि विशेष क्षमता हुनेलाई ‘त्यो त ट्यालेन्ट’ छ भन्ने आविष्कार पनि जम्बोजेटसँगै यही देवभूमि नेपालमा ऋषिमुनिकै सन्ततिहरुले गरेका हुन् । त्यसैले गार्डन अफ ड्रिम्समा हन्ड्रेड बक्स पे गरेर क्यापले फेस कभर गरेर सुत्दा फाफुराले अँग्रेजीमा ड्रिम देख्यो । अनि त्यही ड्रिममा फुर्यो – एलिट फाइँफुट्टी ।
पहिलेपहिले डाउडरहरुले नामको अगाडि डा. लेख्थे । पहिलेपहिले त लौ डाउडर पनि ३३ किलोजस्तै हुन्थे, पाउनै गाह्रो । अहिले त हरेक दिन देशभरिका असंख्य मेडिकल कलेजहरुबाट थोकका भाउमा डाउडरहरु उत्पादन भैरहेका छन् । तर, जे भए पनि सयकडा दसले दाहिनेको सट्टा देब्रे चिर्ने गरे पनि बाँकी नब्बे डाउडर भनेको त आपतविपतमा काम लाग्ने मानिस नै हुन् । त्यसैले परैबाट स्पष्ट चिन्न सकियोस् भनेर नामको अगाडि डा. लेखिएको हुनुपर्छ भन्ने फाफुरालाई लाग्छ । त्यसपछि प्राडा खोक्ने चलन पनि सुरु भयो । आजकल मान्छेहरु आफ्नो सुपुत्र वा सुपुत्री इन्जिनियर भए भने बिहेको कार्डमा ‘इ. फलानो’ भनेर लेख्न थालेका छन् । यो देख्दा फाफुरालाई रमाइलो लाग्छ । अचम्म पनि लाग्छ ।
गणतन्त्रमा नियम कानुन भनेको सबैको लागि बराबर हुनुपर्छ । त्यसैले सीमित पेसाकर्मीहरुले मात्र आफ्नो डम्फु बजाउन पाउनुहुन्न भन्ने फाफुरालाई लागिरा‘ख । कलियुगमा तनहुँका रामचन्द्रमात्र भेटिन्छन् अयोध्याका हैनन् । त्यसैले यातायात, शिक्षा र स्वास्थ्यको सिन्डिकेट त यो देशमा शिवजीको धनु भैहाल्यो – कोइ माईका लालले तोडेर नतोडिने । तर, कमसेकम यो नामको अगाडि पदवीको छोटकरी झुन्ड्याउने सिन्डिकेट भए पनि तोड्नु पर्यो भन्ने महान र क्रान्तिकारी आइडिया फाफुरालाई गार्डन अफ ड्रिम्समा फुरेको हो । ल पढेर, मेहेनत गरेर प्रा। बनेका डाहरुले त प्राडा लेख्ने भए । त्यो उनको अधिकार हो । त्यसो भए शोधपत्र चोरेर पास गर्नेहरुले पनि चोडा लेख्नै पर्छ । त्यसै गरी घोकेर बनेकाहरुले घोडा लेख्नुपर्छ र किनेर पास गर्नेले किडा लेख्नुपर्छ भन्ने फाफुराको जोडदार माग छ ।
आजैदेखि हरेक पेसाका मानिसहरुले अनिवार्यरुपमा यस नियमको कडाइका साथ पालना गर्नुपर्छ । राम्रो कुराको सिको गर्दा अलिअलि आपत परेछ भने आँखा चिम्लन सक्नुपर्छ । सबैले आफ्नो नामको अगाडि उल्टो पुच्छर झुन्ड्याए कस्तो होला भन्नुस् त ? सरकारी कर्मचारीले सक, निजामती कर्मचारीले निक, ठेकेदारले ठे, जग्गा दलालले जद, सेयर दलालले सेद, काँउरेसी कार्यकर्ताले काँका, कम्निस कार्यकर्ताले कका, विवेकशील साझाको कार्यकर्ताले विसाका, लेखकले ले, प्लम्बरले प्ल, कम्पाउन्डरले क र नर्सले न अगाडि नलेखी नामै लेख्नुहुन्न भन्ने कानुन बनाएरै पास गर्नुपर्छ ।
यसो भयो भने सबै मानिस र उसको बारेमा तत्काल जानकारी प्राप्त हुन्छ । कसैले कसैलाई झुक्याउन सक्दैन । मूर्ख पनि बनाउन सक्दैन । हुन त यो कुरामा धेरैको विरोध हुन्छ भन्ने पनि फाफुरालाई थाहा छ । किनभने हाम्रो अहिलेको समाजमा धेरैजसो मुकुण्डोधारीहरु छन् । उनीहरु चिनिन चाहँदैनन् । एक महान् र विश्वले चिन्न नसकेका कविको एउटा भनाइ ठ्याक्कै हाम्रो वर्तमानमा लागु हुन्छ –
‘च्यातिएलान् भनेर आफ्ना नकाबको पत्रहरु
सँधै अरुको अनुहार कोपरिरहन्छ मानिस’
(महान् कविको नाम किन नलेख्या भन्नुहोला । आफ्नो मुखले आफ्नै प्रशंसा कसरी गर्नू !)
जे होस्, यो सिडिकेट तोड्न सबैभन्दा ठूलो विरोध तिनै मानिसहरुबाट हुन्छ भन्ने कुरा फाफुराले बुझेको छ । किनभने फाफुराले भनेको कानुन बन्यो भने र त्यसलाई कडिकडाउका साथ पालना गरियो भने उनीहरूलाई अलि गाह्रो पर्छ । घुस्याहाहरुले आफ्नो नामको अघिल्तिर घु. फलानो भनेर लेख्न पर्ने भयो । त्यसै गरी भ्रष्टाचारीले भ्र. नलेखी आफ्नो नाम लेख्न पाउनेछैन । मानिसका नामहरु पढ्न कति रमाइलो हुन्थ्यो होला एकपटक सोच्नुहोस् त । मूर्तिचोरले आफ्नो नाम अघि मू.चो. फलानो भन्ने भिजिटिंग कार्ड देख्नासाथ त्यसले मूर्ति चोर्दो रहेछ भन्ने थाहा भइहाल्ने । गुन्डाले आफूलाई गु. फलानो भनेर लेख्नुपर्नेछ । सिनेमामा मात्र हो गुन्डा दस हात परबाट चिनिने । जिन्दगीमा त हेर्दा साधुजस्ता हुनेरहेछन् गुन्डाहरु । त्यसपछि त्यो भ्रम रहनेछैन । प्रहरीको पनि काम सजिलो हुन्छ, मुन्द्रा वा चुल्ठो देखेर भ्रममा पर्नै नपर्ने हुन्छ ।
त्यसै गरी ला.औ.व्या., चे.बे.बे., ब., चो., फ., डाँ., बे. र प.मा. जस्ता पदवी नाममै भएपछि सबैलाई आनन्द हुने भएकोले पारदर्शिता र सूचनाको हकको प्रावधानमा टेकेर भए पनि यो कानुन पास गराउनुपर्छ । त्यसको लागि समस्या चाहिँ संसद्मा हाजिरी र उपस्थितिको मात्रै हो । मा. सांसदहरु जहिले पनि भत्ता पचाउँदै चितवनको गैँडामा रुपान्तरित हुनुहुन्छ । त्यसैले कुनै दिन सलमान खानको नयाँ सिनेमा संसद् भवनमा रिलिज गनुपर्छ । हाउसफुल भएको त्यही मौका छोपेर हा.टा. सांसद महोदयहरुबाट यो उपयोगी विधेयक पास गराउनुपर्छ ।
त्यसपछि ती मानिसहरुको औपचारिक कागजपत्र, नागरिकता, मतदाता परिचयपत्र, लाइसेन्स र पासपोर्टमा पनि अनिवार्यरुपमा स्पष्टसँग कामअनुसारको नाम खुल्ने अक्षर उल्लेख गर्ने पनि बन्दोबस्त गर्नुपर्छ । त्यसो हुँदा देशभित्र उसको जति नै धाकधक्कु र सम्मान भए पनि कथंकदाचित विदेशी मुलुकहरुमा जाने बेला उसले हजारौं पटक सोच्नुपर्ने हुन्छ । पासपोर्टमा मा. अ. ह. र यु. अ. लेखिएका महापुरुषहरु विशेष गरेर दाताको पैसामै पनि स्वीट्जरल्यान्ड जानेछैनन् । अनि सीसीटीभी क्यामरा भएको ठाउँमा चोर पनि करबलले साधु भएको जस्तै बिस्तारै बिस्तारै त्यस्ता मानिसहरु सुध्रिन थाल्नेछन् ।
यो सब कुरा सुनेपछि तपाईहरुले सोध्नुहोला, “अरुको त आङको ब्याक्टेरिया केलाउँछस् फाफुरा, तेरो आङको डायनोसर कसले देखाउने ? तेरो नामको अगाडि चाहिँ के राख्नुपर्ला त ?” सुर्ता नगर्नुस् । फाफुरा न्यायप्रेमी मानिस हो । ऊ कहिल्यै पनि अरुको लागि न्यायाधीश र आफ्ना लागि वकिल हुँदैन । त्यसैले आफ्नो कामअनुसारको अक्षर उसले सुरक्षित राखिसकेको छ । जीवनभर फाइँफुट्टी हाँक्नेबाहेक केही नगर्ने उसजस्ता महागफाडी मानिसको लागि ग. सबैभन्दा उचित हुन्छ ग. फाईफुट्टीराज । यो विशिष्ट उपाधि हुनेछ ।
देशको प्रधानमन्त्रीजस्तो गरिमामय मानिसको नामको अगाडि लेखिने अक्षर आफ्नो नामको अघि लेख्न पाउने कुरा सम्झेर नै फाफुरा दंग परिरहेको छ ।
एलिट ग. फाफुरा ।
email: brazesh@gmail.com
twitter: @brazeshk