विस. २०१५ सालको नेपालको प्रथम संसदीय निर्वाचनबाट संसद्को दुई तिहाइ बहुमत प्राप्त नेपाली कांग्रेसका नेता प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जनतासँगको प्रत्यक्ष सम्पर्कको एउटा रोचक एवम् भावुक प्रसंगको सम्झना मेरो मनमा अझै ताजै छ ।
काठमाडौंका जनतालाई खानेपानी अपर्याप्त भइरहेको थियो । त्यसैले काठमाडौंको उत्तरतर्फको छहरे खोलाको पानी काठमाडौंमा रहेको पानी पोखरीमा ल्याई मिसाउने योजनाको उद्घाटन कार्यक्रम थियो । सो कार्यक्रम विसं २०१६ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा गर्नेगरी मिलाइएको रहेछ । प्रधानमन्त्री बीपी कोइराला एउटा जिपमा त्यस ठाउँमा जाने हुनुभएकाले सुरक्षाकर्मी र मसमेत सो ठाउँमा पुग्यौं । प्रधानमन्त्रीले कार्यक्रमको उद्घाटन गर्नुभयो ।
बीपी कोइरालालाई हेर्न भेट्न त्यहाँ त्यस भेगका सर्वसाधारणको भिड लागेको थियो । उपस्थित सबैलाई आयोजनाको तर्फबाट सुसियालीमा विभिन्न रंगका फूल र मिठाइ बाँडिएको थियो । प्रधानमन्त्रीलाई योजनाका तर्फबाट र त्यहाँ उपस्थित जनताले माला लगाइदिए । प्रधानमन्त्रीजीले आफ्नो गलामा मालाको थुप्रो भएपछि सो माला निकालेर जनता र बालबालिकातर्फ नै फाल्नुभयो । सबै जना हर्षित र उल्लासमा थिए ।
त्यसपछि प्रधानमन्त्री बीपी कोइरालाले सरल भाषामा त्यहाँ भाषण गर्नुभयो । आफ्नो भाषणमा उहाँले काठमाडौं सहरमा खानेपानीको अभाव भएकाले यहाँको खोलाबाट पानी लगी पानी पोखरीमा पानी थपिएपछि काठमाडौंवासीको जीवनमा केही सजिलो होला भन्ने आशा र विश्वास पनि प्रकट गर्नुभयो । आफ्नो भाषणको सिलसिलामा उहाँले भन्नुभयो – म पनि तपाईँहरुजस्तै हुँ । काठाडौंदेखि पूर्वमा रहेको मोरङ जिल्लाबासी हुँ । त्यहाँको ग्रामीण क्षेत्रबाट तपाईँहरुजस्तै सर्वसाधारण जनताबाट निर्वाचित भै जनप्रतिनिधिको हैसियतले प्रधानमन्त्री भएको हुँ । अबदेखि तपाईँहरुले नै चुनावद्वारा छानेको जनप्रतिनिधि नै अब मन्त्री, प्रधानमन्त्री हुनेछन् । देशमा प्रजातन्त्र आइसकेको छ । म पनि तपाईँहरुजस्तै एउटा साधारण नेपाली हुँ । मेरो घरमा पनि गाई पालेको छ । एउटा सानो घर छ । खेती किसानी गरी खाने केही जग्गाजमिन पनि छ । जसरी तपाइँहरुले रोग र भोकविरुद्ध लडिरहनुभएको त्यसरी नै हामी सबै मिलेर गरिबी रोग, भोक र अशिक्षाविरुद्ध संघर्ष गर्नुपर्छ । तपाईँहरु सबैको सहयोग सहायता भएमा देशको विकास अवश्य हुन्छ ।’
प्रधानमन्त्री बीपी कोइरालाको भाषण सुनिसकेपछि त्यहाँ उपस्थित गरिब जनता भावुक भएका थिए । उनीहरुका आँखाबाट आँसु झरिरहेको थियो ।
(लेखक बीपी कोइरालका तत्कालिन निजी सचिव हुन् )