.jpeg)
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आगामी पाँच वर्षमा पार्टीलाई पहिलो पार्टी बनाउन तत्काल महासमिति बैठक बोलाएर ‘शीघ्र महाधिवेशन’ तयारी गर्नुपर्ने बताएका छन् ।
कांग्रेसको जारी चुनावी समीक्षा बैठकमा युवा नेताहरुका तर्फबाट ‘‘निर्वाचन समीक्षा र आगामी कार्यदिशा’ का बारेमा लिखित धारणा प्रस्तुत गरेपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता थापाले पार्टीलाई मजबुत बनाउन ‘शीघ्र महाधिवेशन’ को विकल्प नभएको जिकिर गरे ।
‘‘महासमिति तत्काल बोलाऔं । महासमितिको बैठकबाट विधान संशोधन गरेर पार्टीको नयाँ कार्यक्रम तय गरौं’’, उनले भने, ‘‘संशोधित विधानको आधारमा महाधिवेशन गर्न दुईवर्ष नकुरौं । पार्टीको तल्लो स्तरमा संरचना नभएका कारण दुईवर्ष कुर्दै गर्दा पार्टीलाई ठूलो क्षति हुन्छ ।’’
असोज कात्तिकबाट पार्टीको गाउँ कमिटी र वडा कमिटीको निर्वाचन प्रारम्भ गरे एक वर्षभित्रमा महाधिवेशन सम्पन्न गर्न सकिने थापाको भनाई थियो । कांग्रेसलाई आगामी ५ वर्षमा पहिलो पार्टी बनाउन पूराना कार्यकर्ताहरु जोगाएर मात्रै नहुने स्पष्ट पार्दै पहिलो पार्टी बन्नका लागि १५ लाख नयाँ कार्यकर्ता थप्नुपर्ने आवश्यकता पनि औंल्याए ।
‘‘ती कार्यकर्ता थपेर बलियो पार्टी बनाउन कम्तिमा तीन वर्ष लाग्छ, अब दुईवर्ष हामी पार्टीकै आन्तरिक कुरामा अल्मिलिदा समय नहुने भएकाले अर्ली महाधिवेशनमा जानुपर्दछ । यो बाटो गयो भने हामी बल्ल ठिक ठाउँमा पुग्छौं,’’ थापाले भने ।
युवा नेता थापाले विधान नै पार्टीको सर्वोच्चता भएकाले नेतृत्वलाई सहमतिमा नभएर विधान अनुरुप चल्न आग्रहसमेत दिए । उनले थपे ‘‘विधानले जे अधिकार दिएको छ त्यो मात्रै सभापतिज्यूले प्रयोग गर्नुपर्दछ । सहमति खोज्नु परे पनि विधानमा टेकेर खोज्नु पर्दछ ।’’
विधान अनुरुप पार्टी सञ्चालन गर्नका लागि विधान विपरित गठन भएका कार्यसम्पादन समिति र संसदीय समिति बिघटन हुनु पर्नेमा थापाको जोड थियो । थापाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि सीमित स्वार्थका लागि नेतृत्वसँग विधान विपरित सहमति नगर्न पनि सुझाव दिए । ‘‘वरिष्ठ नेताले पनि आफू अनुकूल फाइदा भए पनि सहमति गर्नु हुँदैन,’’ उनले भने ।
युवा नेता थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले ब्यहोरेको पराजयको कारण पार्टी सभापति शेरबहादुर देउवा मात्रै नभएको बताए । ‘‘कांग्रेस पराजयको कारण पार्टी सभापति मात्रै होइनन् । पराजयको कारण थुप्रै छन् । पार्टीको पराजयका कारणहरु खोतल्ने प्रयास गर्नु पर्दछ’’, नेता थापाले भने, ‘‘पराजयको कारण उहाँका एउटा–दुईवटा निर्णय मात्रै होइनन् । यो विषयबाट हामीले भाग्नु हुँदैन ।’’
प्रतिनिधिसभा र प्रदेसभा निर्वाचनमा पार्टीले ब्यहोरेको पराजयको कारण सभापति देउवा मात्रै नभएको भन्दै उनले तर पराजयको जिम्मेवारीबाट नेतृत्व पन्छिन नपाउने स्पष्ट पारे ।
‘‘पराजयको जिम्मा कस्ले लिने भन्ने कुरामा हामी प्रष्ट छौं । पार्टीको नेतृत्व मैले लिन्छु भनेर १३ औं महाधिवेशनमा पार्टी सभापति भइसकेपछि उहाँको नेतृत्वमा नेपाली कांग्रेस हो’’, उनले भने, ‘‘आज पार्टी जित्दै गर्दा कसले जितायो देउवाले जिताउनुभयो भन्ने हुन्थ्यो । निर्वाचन कल्ले गरायो भन्दा हामीले शेरबहादुर देउवाले ऐतिहासिक निर्वाचन गराएको भनेका छौं । त्यसैगरी हारको जिम्मा पार्टी सभापतिले लिनुपर्दछ ।’’
कांग्रेसलाई पहिलो पार्टी बनाउन नसकेकाले निर्वाचन पराजयको जिम्मा लिन्छु भनेर पार्टी सभापति देउवाले स्वीकार गर्नुपर्ने उनको भनाई थियो । २०७० को निर्वाचन पछि तत्कालिन पार्टी सभापति स्व. सुशील कोइरालाले संविधान निर्माणमा अभुतपूर्व नेतृत्व लिए पनि पार्टीको मत बढाउन चुकेको स्मरण गर्दै नेता थापाले २०७४ मा सभापति देउवाको नेतृत्वमा ऐतिहासिक काम भए पनि पार्टीको मतदाता बढाउन कांग्रेस नेतृत्व नराम्रोसँग चुकेको जिकिर गरे ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पार्टीको पराजयका कारणहरु खोज्न बाध्य बनाएको भन्दै उनले कारणहरु खोज्दै गर्दा केन्द्रीय कार्यसमिति २०७४ सालको निर्वाचनको सेरोफेरोमा मात्रै बढी केन्द्रीत भइरहेको प्रति असन्तुष्टि व्यक्त गरे ।
‘‘निर्वाचनको परिणाममा निकट विगतको घटनाहरुको महत्व नहुने होइन् । महत्व छ । तर यो मात्रै कारण होइन । खासगरी हामीले २०४८ सालदेखि अहिलेसम्मको यात्रालाई सीमावलोकन गर्नै पर्दछ,’’ युवा नेता थापाले भने ।
फाइल तस्बिर
थापासहितका केही युवा नेताले केन्द्रीय समितिमा पेस गरेको प्रतिवेदन