एक जना भारतीय धर्म गुरु जग्गी वासुुदेवलाई उनका अनुयायीले सोधेछन् – ‘गुरुजी, संसारका सबैभन्दा ठूला कम्पनीहरूमध्ये नौवटामा भारतीय मूलका व्यक्ति प्रमुख कार्यकारीका रूपमा कार्यरत् छन् । यस्ता कम्पनीका संस्थापकहरू पनि गुरुजीहरूको कृपा पाउन सधैँ प्रयासरत रहन्छन् । तथापि किन भारतमा विश्वव्यापी ‘कङ्लोमरेट’ स्थापना हुन सकेन ?’
सद्गुरुका रूपमा परिचित वासुदेवले भनेछन् – ‘भारतमा यस्ता मान्छेहरू छन् जो अरू कसैको प्रगति देख्न चाहँदैनन् । यहाँका मान्छेहरू कसैको सफलता हेर्न पनि चाहँदैनन् र अरु खुसी हुँदा उनीहरूलाई पीडा हुन्छ । यो समाजमा मान्छेको गुणभन्दा अवगुणको चर्चा गर्ने र सबैलाई असफल बनाउने परम्परा बसेको छ ।’
विश्व विख्यात ‘मोटिभेसनल स्पिकर‘ अर्थात् प्रेरक वक्ता दिग्गज डा. दीपक चोपडाको भनाइ पनि सद्गुरुको भनाइसँग मेल खान्छ । चोपडा भन्छन् – कुनैबेला उनको कुरा सुन्दा नाक खुम्च्याउने उनकै देशका भाइबन्धु अहिले घन्टाँै लाममा बसेर उनको प्रवचन सुन्न आउँछन् । यस्तो किन भयो ? किनभने डा. दीपक चोपडा स्वेदशमा भन्दा विदेशीका बीच धेरै परिचित भए र उनको वाहवाही भयो । विदेशमा उनको गुणगानको चर्चा भएपछि बल्ल भारतीयले उनको क्षमताको पहिचान गरे ।
यी दुईवटा उदाहरण भारतको भए पनि नेपाली सामाजिक अवस्थामा मेल खान्छ । हामी नेपालीले विश्वको शान्तिदूत भगवान् बुद्धलाई समेत धेरै महत्त्व तब दियौँ जब बुद्ध वचन पश्चिमा संसारले अत्यन्त महत्त्वका साथ ग्रहण ग¥यो । हामीहरू आफ्नै व्यक्तिलाई नायके बनाउन चाहँदैनौ, आफ्नै उज्यालो पनि चिन्न सक्तैनौ र विदेशीले त्यसको महत्त्व बुझेर प्रयोग गर्न थालेपछि बल्ल हामी पनि विदेशीको पछि दगुर्छौँ ।
समाज जति कमजोर र अविकसित हुन्छ त्यति नै आफ्नो समाजको सदस्यप्रतिको उसको हेराइ पनि कमजोर हुन्छ भन्ने उदाहरण हामीबाट मात्र होइन अफ्रिकी देशहरूबाट पनि प्रष्ट हुन्छ । अफ्रिकामा धेरै भारतीयहरू अत्यधिक ठूला व्यापारी भएका छन् । किनभने, तिनको समाजले आफ्नालाई भन्दा अरूलाई धेरै महत्त्व दिन्छ । आफ्नासँगभन्दा भारतीयसँग व्यापार गरेर आफू र भारतीय व्यापारीलाई धनी बनाउन मान्छे हिचकिचाउँदैन तर आफ्नै मान्छे अघि बढेको भने उसले रुचाउँदैन । फेरि यो समाजको सोच अमेरिकामा समेत देख्न सकिन्छ । ‘आवर काइन्ड अफ पिपल ः इन्साइड अमेरिकाज ब्ल्याक अपर क्लास’ नामक एउटा पुस्तकमा लेखक लरेन्स अटिस ग्य्राहम लेख्छन् – अमेरिकामा पनि काला जातका मान्छे आर्थिक रूपमा प्रगति गरेपछि गोराको समाजमा बस्न चाहन्छन् ।
माथिका उदाहरणले के प्रष्ट हुन्छ भने गरिब र निम्नस्तरको समाजका सदस्य हातेमालो गरेर अघि नबढेसम्म समाजको बृहत्तर हित हुन सक्तैन । समाजका सबैले कुनै मेहनती, बुद्धिमान र सफल व्यक्तिप्रति गर्व नगरुन्जेल समाजमा फेसबुकका मार्क जकरबर्ग तथा एप्पलका स्टिभ जब्स पैदा हुँदैनन् ।
यो लेखक सानो छँदा व्यापारीका छोराछोरीसँग खेल्न नजानु भनेर आफ्नै बुवाले सम्झाएको अहिले पनि सम्झना आउँछ । पछि ठूलो भएपछि कलेजमा पुग्दा ती व्यापारी र धनीका बच्चा कुनै अर्कै ग्रहबाट आएका प्राणी हुन् कि भन्ने सोचियो । तर, तिनीहरू सबै हामीजस्तै नेपाली मूल्य, मान्यता र सामाजिक प्रणालीमा विश्वास गर्ने देखिए । यो लेखकले त्यसबेला त केही बुझेन तर अहिले बुवाको निर्देशन स्पष्ट भयो । हाम्रो समाजमा पैसा कमाउनुलाई नै नकारात्मकताका रूपमा हेरिने रहेछ ।
‘नेवार ईष्ट र बावु दुष्ट हुँदैन’ भन्ने हाम्रो लोकोक्तिले पनि व्यापारमा लागेका मान्छेलाई उद्यमीको रूपमा नहेरी नाफाखोरको दृष्टिले हेर्ने गरिएको स्पष्ट हुन्छ । तर, विकसित देशको उदाहरण हेर्ने हो भने त जति व्यापार र व्यापारीलाई काम गर्ने वातावरण दियो त्यति नै समाजको आर्थिक अवस्थामा सुधार हुँदैगएको देखिन्छ । नेवार अर्थात् व्यापारी ईष्ट हुँदैन भन्नेलाई अहिले बिल गेट्स र वारेन बफेटजस्ता व्यापारीले गतिलो जबाफ दिएका छन् । गेट्सले आफू र पत्नीका नाममा बील एन्ड मेलिन्डा गेट्स फाउन्डेसन खोलेर समाज सेवाका लागि सन् २००० मा नै २८ अर्ब अमेरिकी डलर राखिदिए । यो फाउन्डेसनले मुख्यतः अफ्रिका र एसियामा स्वास्थ्य सेवा सुधार्न धेरै काम गर्दैआएको छ । अझ कसैले राम्रो काम गरेको छ भने आफूले त्यही काम दोहो¥याउन जरुरी छैन भन्दै संसारका अर्का सबैभन्दा धनीमध्येका एक वारेन बफेटले अर्बांै डलर हरेक वर्ष थप्दै लगेका छन् । यस्तै काममा अहिले संसारका धेरै धनी व्यक्तिले निकै पैसा खर्च गरेका छन् । त्यसैले समाजमा रहेको व्यापारी मनकारी हुँदैन भन्ने भ्रम टुट्दै गएको छ ।
वास्तवमा कसैले पनि राम्रो काम गर्छ, रोजगारी सिर्जना गर्छ, कामदारको रोजगारीका लागि आफ्नो सीप, स्रोत र साधनको प्रयोग गर्छ भने उसलाई समाजले सम्मान दिनुपर्छ । कसैले गलत तरिकाले पैसा कमाएको प्रमाणित नहुँदासम्म, कर छलेको प्रमाणित नहुँदासम्म उसलाई फटाहा, भ्रष्टाचारी, बदमास भन्दै धन कमाउने कार्यलाई कलंकित गर्नु हुँदैन ।
नेपालमा कुनै वस्तु वा सेवामा २० प्रतिशतभन्दा बढी नाफा लिनुलाई गैरकानुनी मानिन्छ र कारवाही गरिन्छ । वास्तवमा कसैले जनतालाई महंगोमा वस्तु र सेवा खरिद गराउन सक्छ भने उसले त्यसमा एकाधिकार वा गिरोहबन्दी (कार्टेलिङ) गरेको छ वा छैन भनेरमात्र सरकारले ध्यान दिनुपर्छ । अहिले फेसबुकको नाफा कति प्रतिशत होला वा एप्पलको वा गुगलको ? नेपालको नियमअनुसार हो भने ती सबै कम्पनीका मालिक अहिले जेलभित्र हुनुपर्ने । तर, अमेरिकामा ती व्यक्तिले आफ्ना प्रतिस्पर्धी आउने ढोका अनधिकृतरूपबाट बन्द गरे वा गरेनन् भन्नेमात्र खोजी गरिन्छ । माइक्रोसफ्ट कम्पनी कैयौंपटक यस्ता एकाधिकारकोे मुद्दा लडेको र हारेको पनि छ । तर, उसलाई अपराधीजस्तो गरेर जेलमा पु¥याइँदैन ।
श्रमको जति सम्मान हुनुपर्छ त्यतिनै पुँजीको र सिर्जनात्मक विचारको पनि सम्मान गरिनु पर्छ । कसैले बुद्धि पु¥याएर कुनै काम गरेर अत्यधिक फाइदा लियो भने बजारको नियमअनुसार थोरै समयमै उसका प्रतिस्पर्धी बजारमा प्रवेश गरेर उसले लिएको नाफा कम गराउँदै लग्छन् ।
माथिका भनाइको सार के हो भने नेपालमा कानुनीरूपमा प्रशस्त धन कमाउनेलाई राष्ट्रिय व्यक्तित्व मान्ने र उसको सफलताको कथालाई जनताले सम्मान गर्ने चलन नबस्दासम्म नेपालमा मार्क जुकरबर्ग र स्टिभ जब्स जन्मदैनन् । बरु दाउद इब्राहिम वा अलि फरकरूपमा भन्दा मेक्सिकोका कार्लोस स्लिम हेलुजस्ता मात्र अघि बढनेछन् ।