अरू नेपालीजस्तै फाइँफुट्टीराजलाई पनि लघुशंकाको लागि न त खुट्टा उचाल्नु पर्छ न खम्बा नै चाहिन्छ । झन्, 'यहाँ पिसाब नगर्नू होला' लेखेर कसैले पनि हामी वीर नेपालीलाई चुनौती दियो भने त्यहीँमुनि तुरुक्क पार्नैपर्ने महान गुण भगवानले फाफुरामा पनि खाँदीखाँदी हालिदिएका छन् । हुन त बाटोमा मूत्रत्याग गर्नु हाम्रो रहर र बाध्यता दुवै हो । तसर्थ, पल्याकपुलुक चारैतिर हेरेर कुनै पनि सडक छेउ, पर्खालको ढेप वा कुनामा दुवै खुट्टा भुईँमै राखेर जलसिञ्चन गर्ने कलामा फाफुरा पनि अरूसरहै पारंगत भैसकेको छ । अलि परबाट कुनै मानिस वा सवारी साधन आइरहेको छ भने त्यसको गति, आफ्नो शरीरभित्रको तरल पदार्थको मात्रा र त्यसको निष्कासनको चापको अनुमानित हिसाबकिताब गरेर ती छेउमा आइपुग्नु अघि नै काम भ्याउने कलामा त हामीलाई झन् कसैले जित्न सक्तैन होला ।
'यहाँ पिसाब नगर्नू होला' लेखेको देख्नासाथ हाम्रो अर्को एउटा ग्रन्थी पनि क्रिकेटको विकास गर्न क्यान सक्रिय भएजसरी सक्रिय भैहाल्छ । त्यसको प्रारम्भिक असर हाम्रो औँलोमा पर्छ । अनि कागजमा लेखिएको भए त्यो शब्दको अगाडिको 'न'लाई कोट्याएर, च्यातेर, वा पेनले कोरेर 'नगर्नुहोला' बाट 'गर्नुहोला' बनाएर त्यसको प्रारूपको क्रान्तिकारी परिवर्तन नगरून्जेल हाम्रो औँलोको चिलाइ मर्दैन । इनामेलले लेखेर टाँसेका पाताहरू पनि हाम्रो वीरताको सामु टिक्न सक्तैनन् । सुका, मोहोर वा रुप्याँको ढ्याकले भए पनि निकै मेहेनतका साथ हामी त्यसलाई खुर्किदिन्छौँ ।
हुन त त्यस्ता डबलहरू आजकल पाटेबाघजस्तै लोपोन्मुख जिनिस हुन् । त्यति सुलभरूपमा प्राप्य नहोलान् । तर, हामी 'जहाँ इच्छा त्यहाँ उपाय' भन्ने उक्तिमा अटल विश्वास गर्छौँ । भटभटेको साँचो, नेल कटर, पेन ड्राइभजस्ता एउटा न एउटा वैकल्पिक हतियार त हाम्रो खल्तीमा कहिले पनि टु्ट्दैन । तिनैको सहाराले हामी मेहेनतका साथ आफ्नो कार्य फत्ते गरेरै छाड्छौँ । मूत्रत्यागको लागि मात्र हैन, अरू जुनै ठाउँमा जे जे 'नगर्नुहोला' भनेको हुन्छ, त्यसलाई 'गर्नुहोला' बनाएर हामी गौरवान्वित हुन्छौँ । फोहोर नगर्नुहोला, हल्ला नगर्नुहोला, घाँसमा नटेक्नुहोला, हर्न नबजाउनुहोला लगायतका कुनै पनि 'न'हरू हाम्रो वक्रदृष्टिबाट उम्कन सक्तैनन् । अनि ती नगर्नुहोला भनेको काम गरेपछि हामीलाई आनन्द आउँछ । हाम्रो छाती गर्वले तनक्कै तन्किन्छ । हामीलाई नियमकानुन मान्न पो मरेजस्तो लाग्छ ।
किन मान्नू ? महान् नेपाली पो हौं त हामी । हामीसँग अनुशासनको कुरा गर्ने ? अरे यार, कम हौँ हामी ? बुद्ध वाज बर्न इन नेपाल !
सदियौंदेखि बन्देजमा बाँचेर वाक्कदिक्क प्याक्कछ्याक्क भैसकेका हामीले के फेरि नियमै मानेर बस्न ल्याएको हो र विभिन्न किसिमका तन्त्रहरू ? अब त हामी उन्मुक्त प्राणी । हामीलाई जे मन लाग्छ त्यही गर्न पाउनुपर्छ । त्यसैले हामी आजकल सानादेखि ठूला सबै कुराहरूमा जे जे गर्न हुन्न भन्यो त्यही त्यही गरेर रमाउछौँ । बल्लबल्ल पाएको स्वतन्त्रताको त्यति पनि उपभोग गर्न नपाए के अर्थ भो त हैन र ? राति सवारी चलाउँदा आफ्नो सवारीको बत्तीको हाइ बिम बाल्न हुन्न भन्ने हामीलाई थाहा छैन र ? उताबाट आउनेले त्यसैगरी आउँदा हाम्रो पनि त आँखा गुच्चा हैन, तिरमिराउँछ नि ।
तै पनि हामी उताबाट आउनेको आँखा चाहिँ गुच्चै हो भन्ने मान्छौँ । एक छिन धैर्य नगरी विपरीत लेनमा गाडी वा भटभटे छिराउँदा सबैलाई समस्या हुन्छ भन्ने कुन चाहिँ त्यस्तो गूढज्ञान हो जसलाई बुझ्न कुनै मानार्थ विद्यावरिधि चाहियोस् । तर, हामी अलि पर मामाहरू बसेर सवारी चालक अनुमति पत्र खोसिरहेका छन् भनेमात्र नियम मान्छौँ । नत्र त हामीलाई बालै फरर । मापसे पनि कंस मामाहरूले निकै कडा नगरेको भए हामी टेर्ने थिएनौ । आफ्नो पैसाले रक्सी खाने त वातावरण नै छैन यो देशमा !
त्यसैले जे नगर्नू भन्यो त्यही गर्नुपर्ने अनि जे गर्नू भन्यो त्यो मरेकाटे नगर्ने हामी वीर नेपालीहरूको मानसिकताको गहन, सूक्ष्म र व्यावहारिक अनुसन्धानपश्चात् फाफुराले साना ठूला केही नियमहरू सहितको 'फाफुरावली' तयार पारेको छ ।
फाफुरावलीका बाह्र बुँदाहरू
१.
घरबाट निस्कँदा हरेक मानिसले कम्तीमा तीन लिटर पानी खाएको हुनुपर्नेछ ता कि उसलाई बाटोमा लघुशंकाले अनिवार्य च्यापोस् । त्यसरी बाटोमा पिसाब फेर्ने हरेक जिम्मेवार नागरिकलाई ड्यूटीमा खटिएका नगरप्रहरीले खादा ओढाएर सम्मानित गर्नेछन् । अझ कुनै बहादुरले बिष्ट्याउनै सक्यो भने उसलाई प्रमाणपत्र पनि प्रदान गरिनेछ । बाटोमा कम्तीमा एकपटक दैनिक रूपमा मूत्रत्याग गर्न नसक्ने वा लाज मान्नेलाई दुई सय रुपैयाँ जरिवाना गराइनेछ । गोजीमा नगद नभएको अवस्थामा कान समातेर दस पटक उठबस गराइनेछ ।
२.
करोड पर्ने गाडी वा लाखौं पर्ने भटभटेबाट मन लागेको बेला पछाडि नहेरी पिच्च थुक्न पाउने मौलिक अधिकार सुनिश्चित गरिनेछ । अगाडि गैरहेकोले कुनै पनि बेला, केही पनि गर्न सक्छ, सावधान रहनुपर्छ । अग्रगामीहरू मानिसहरूले पछाडि हेर्दैनन् । त्यो ऊनीहरूलाई शोभा दिँदैन भन्ने बुझ्नुपर्छ । त्यो थुकका छिटा अरू कसैलाई पर्छ भने त्यो थुकिनेको दोष मानिनेछ । आगामी दिनहरूमा सावधान रहन चेतस्वरूप थुक छल्न नसक्नेलाई हरेक पटक थुकिँदा नगद पचास रूप्याँ जरिवाना गरिनेछ । पैदल यात्रुले पनि हरेक पाँच मिनेटको अन्तरालमा कम्तीमा एकपटक बाटोमा थुक्नै पर्नेछ । यस गौरवशाली कार्यका लागि प्रोत्साहन स्वरूप हरेक पटक थुकेबापत मोरू शून्य दशमलव पाँच अर्थात् पचास पैसा प्रोत्साहन भत्ता प्रदान गरिनेछ । खकार्न सक्नेले एक रूपैँया पाउनेछ ।
३.
कुनै पनि ट्याक्सी मिटरमा चलाउन पाइनेछैन । मिटरमा चलेको भेटिएमा त्यो ट्याक्सीको सवारी दर्ता तथा चालकको अनुमतिपत्र ठाउँको ठाउँमै रद्द गरिनेछ । कहाँ जाने वा नजाने भन्ने कुरामा चालकको निर्णयाधिकारलाई संविधानले सुरक्षित गर्नेछ । जाने निर्णय गरेपछि पनि चालकले आफ्नो मानसिक अवस्थाअनुसार जति पनि भाडा तोक्न सक्नेछ । यसमा यात्रुले कुनै विवाद गरेको खण्डमा उसलाई ६ महीनासम्म कैद, दस हजार जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
४.
सरकारी कार्यालयमा भन्ने बेला जति भने पनि दैनिक चार घन्टाभन्दा बढी काम गर्न पाइने छैन । कसैले गरेमा बढी घन्टा बराबरको तलब कट्टी गरिनेछ । सरकारी, अर्धसरकारी, गैरसरकारी, निजी वा कुनै पनि कार्यालयहरूलाई अविलम्ब 'पूर्णतया घुस तथा कमिसनयुक्त क्षेत्र' घोषणा गरिनेछ । बिना घुस वा कमिसनमा काम गर्ने कर्मचारीलाई कारवाही स्वरूप सेवा निवृत्त गरिनेछ । त्यस्ता कर्मचारीहरूको संचयकोष, अक्षयकोष, कल्याणकोष र अण्डकोष जस्ता सबै अन्य कोषहरू जफत गरिनेछ ।
५.
स्वास्थ्य, शिक्षा तथा सार्वजनिक यातायात पूर्णतया व्यक्तिगत सिन्डिकेटको स्वामित्वमा रहने छ । गुन्डा तथा डनहरूको सुरक्षाको जिम्मेवारी सरकारले लिनेछ । प्रहरीले त्यस्ता व्यक्तिलाई आँखा उठाएर हेर्न निषेध गरिनेछ । रातो कुनामा राखिएका अपराधीलाई अति विशिष्ट व्यक्तिको दर्जा प्रदान गरिनेछ । त्यस्ता अपराधीसँग जम्काभेट भएको बखतमा सुरक्षाकर्मीले उनीहरूलाई बुट बजाएर सलाम ठोक्नु पर्नेछ । अन्यथा विभागीय कारवाही स्वरूप एक तह घटुवा गरी दुर्गममा सरूवा गरिनेछ ।
६.
सरकारी ठेक्कापट्टा र टेन्डर घोषणा तथा कार्यान्वयनमा खेर गइरहेको अमू्ल्य समय बचत गर्न नयाँ र प्रभावकारी नियम लगाइनेछ । यसअनुसार अब टेन्डर तथा ठेक्कापट्टा सोझै ग्याङ्ग फाइट खेलाएर विजेतालाई प्रदान गरिनेछ । त्यस्तो फाइटमा हातहतियार प्रयोग गर्न परे घुँडाभन्दा मुनि हिर्काउन पाइनेछ । सबै जनताको समान हकको उच्च सम्मान गर्दै खोलानाला, बालुवागिट्टी, वन पैदावरलगायतका प्रकृतिको दोहन गर्न खुला छुट हुनेछ । त्यसको विरोधमा कुनै सञ्चार माध्यमले रिपोर्टिंग गर्न पाउनेछैनन् । यसको अवज्ञा गरेर फिल्डमा जाने पत्रकारहरूको हातखुट्टाको सुरक्षाको जिम्मा श्री पशुपतिनाथले मात्रै लिनेछन् ।
७.
नेताहरूको खप्परको भित्री भागजस्तै रित्तो भएको देशको ढुकुटीका कारण जर्जर भएको अर्थतन्त्रलाई उकास्नका लागि मुद्रण व्यवसायलाई घरेलु तथा साना उद्योगको रूपमा वर्गीकरण गरिनेछ । सबै प्रिन्टिंग प्रेसलाई विशेष ग्राह्यता दिँदै पाँच, दस, बीस र पचाससम्मका नोटहरू छाप्न खुला छुट दिइनेछ । त्यसका लागि कुनै स्वीकृति लिनुपर्ने वा कतै दर्ता गर्नुपर्ने प्रावधान हुनेछैन । तर गैंडा, बाघ र हात्तीजस्ता ठूला जनावरका चित्र अंकित नोट मुद्रणका लागि भने सरकारसँग स्वीकृति लिनुपर्नेछ । यस्ता स्वीकृति राजनीतिक दलका आसेपासे, भरौटे, कार्यकर्ताहरूलाई मात्र दिइनेछ । सोका लागि निवेदकले कम्तीमा पाँच दसवटा हुलुश, धर्ना, दंगा र बन्दहरूमा ढुंगा हानेको, गाडी जलाएको वा सार्वजनिक संरचनाहरूमा क्षति पुर्याएको सबुत प्रमाणसहित निवेदन दिनुपर्नेछ ।
८.
त्यसबाहेक, सबैभन्दा ठूलो अर्को जनावरको चित्रसहितको पाँच हजारको नोट पनि निष्कासन गरिनेछ । त्यो जनावर कुन हुनेछ भन्नेमा चाहिँ सर्वदलीय बैठक बसेर पू्र्ण बहुमत प्राप्त गरेर दलहरूले आफ्नो जीवित वा दिवंगत कोही एक जना नेताको हाइ रेजुलेसन फोटो प्रस्तुत गर्नुपर्नेछ । मुद्रण व्यवसायको दोस्रो चरणमा विदेशी मुद्राहरूको छपाइ सुरु गरेर विभिन्न देशहरूमा निर्यात गरिने दीर्घकालीन योजनामा काम गरिनेछ । यसरी आगामी केही वर्षमा भारतीय र चीनी रेलको आगमनसँगै सरकारी थैली गह्रुङ्गो हुनेमा कुनै शंका रहनेछैन । विश्वास नलाग्नेले यो कुरा रजिष्टरमा टिपेर राखे हुन्छ ।
९.
धरहरा, भूकम्पमा भत्किएका सांस्कृतिक धरोहरहरू, अन्तर्राष्ट्रिय स्तरका क्रिकेट स्टेडियम, फूटबल तथा अन्य खेल मैदानलगायतका सार्वजनिक महत्त्वका सबै निर्माणकार्य हास्य कलाकारहरूले गर्नेछन् । चुनाव जितेका नेता, मन्त्री, प्रधानमन्त्रीलगायत अरू प्रशासकहरूले चाहिँ दिनहुँ कमेडीबाहेक अरू केही पनि गर्ने छैनन् ।
१०.
प्रधानमन्त्रीको चयन 'राष्ट्रव्यापी हावादारी गफ प्रतियोगिता'को आधारमा हुनेछ । जसले सबैभन्दा हावादारी गफ हाँक्न सक्यो उसैलाई सो पदका लागि चयन गरिनेछ । त्यसको विरोध गर्नेलाई देश निकालासम्म गर्न सकिनेछ । कुनै पनि सरकार र प्रधानमन्त्रीको अवधि बढीमा छ महीनाको मात्र हुनेछ । स्थायित्व, शान्ति, सुरक्षाजस्ता शब्दहरू शब्दकोषबाट हटाइनेछ र तिनको प्रयोगमा समेत प्रतिबन्ध लगाइनेछ । ती शब्दहरू लेख्नेको औँलो भाँच्ने, उच्चारण गर्नेको जिब्रो थुत्ने र श्रवण गर्नेको कानमा तातो झीर घोच्नेसम्मका सजाय हुन सक्नेछ ।
११.
चुनिएका नयाँ प्रधानमन्त्री (जुन महीना पन्ध्र दिनमा बनिरहन्छन्) बन्नासाथ सबैभन्दा पहिले सिल्ली सरह दिल्ली दरबारमा मोहोर चढाउन जानै पर्नेछ । त्यस्ता मोहोर भेटमा गएको बेला देशको कुनै एक नदी बेच्न सकेमा उनलाई 'कुविने'को गौरवशाली उपाधिले सम्मानित गरिनेछ र इतिहासमा स्वर्णाक्षरमा निजको नाम दर्ता गरिनेछ । विषय वा प्रसंगले अर्को अर्थ नलागेसम्म 'कुविने' भन्नाले 'कुशल विक्रेता नेता' बुझ्नुपर्नेछ ।
१२.
कार्यकारी अधिकारविहीन राष्ट्रपतिले हरेक दिन कुनै न कुनै बहानामा कम्तीमा एक औपचारिक सवारी चलाई काठमाण्डौंको जनजीवन अस्तव्यस्त पार्नै पर्नेछ । कुनै पसलको उद्घाटन, पुस्तकको विमोचन, लोकदोहोरी भिडियो छायांकनको शुभारम्भजस्ता महत्त्वपूर्ण कार्यहरू नभएको बेला मन्दिर दर्शन, सिनेमा अवलोकन, सपिंगजस्ता दैनिक जीवनका महत्त्वपूर्ण जिम्मेवारी वहन गरेर भए पनि सवारी चलाउनै पर्नेछ ।
प्रस्तावित 'फाफुरावली' कडाइका साथ पालना गर्नसक्ने हो भने अबका केही वर्षमा नेपाल अवश्य पनि सिंगापोर बन्नेछ । यस कुरामा तपैंहरू आश्वस्त हुनुहुन्छ र यो अभियानमा फाफुरालाई साथ दिन चाहनुहुन्छ भने उसलाई बिदाको दिनबाहेक अरूबेला रत्नपार्कमा टोपीले मुख छोपेर सुतिरहेको अवस्थामा भेट्न सक्नुहुनेछ ।
twitter: @brazeshk
email: brazesh@gmail.com