चैत्रको १५ गते रारा तालको समीप पुग्दा दिनको करिब ३ बजेको थियो । राराको मनमोहक दृश्य अनुभूत गरेर बोकेको झोला भूइँमा छाडेर क्लिक क्लिकको जोशमा हामी थियौं । छोरा विशद ए लेभल सकेर उच्च शिक्षाको लागि बाहिर जान तयार रहेको बेला, छोरी विबक्षाको वैशाखबाट सुरु हुने नयाँ क्लासको प्रतीक्षामा रहेको समय, रमाको आफ्नो कार्यबाट पनि फुर्सद मिल्ने बेला र मैले पनि चैत्रभित्र लिनुपर्ने बैंकको बाध्यात्मक बिदा सक्नुपर्ने अवस्था । राम्रो मौका थियो हामीलाई घुम्नका लागि ।
परिवारसँग एउटा सम्झन लायक स्मरण बनाउन सबैलाई मन पर्ने नै भयो । म अपवाद कसरी हुनसक्थे र । मेरो परिवारको लागि राराको छनोट र भ्रमण अत्यन्त सुन्दर र अवस्मिरणीय रह्यो । चारैतिर हिमालको सेतो शुद्धता अनि रारातालको रंगविरंगी पानीको आकार प्रकारले सबैलाई मन्त्रमुग्ध पार्छ नै । खाना पनि मनग्गै रुच्ने अनि तनावरहित वातावरणको व्याख्या गर्न गाह्रो पर्ने रहेछ । चैत्र १५ को राति अनि १६ गतेको दिउँसोसम्ममा रारामा धेरै हिउँ पर्यो, पानी पर्यो । जाडो मनग्गै भयो । चैत्रमा हिउँ पर्छ भन्ने कल्पना हामीले गरेको थिएनौं । मैले पहिलो पल्ट हिउँ परेको देखेको ।
हामी रारा पुग्ने तय गर्यौं । अत्यन्त सुन्दर छ रारा । राजा महेन्द्रको मनपर्ने ठाउँ रे । रारा करिब ३ किमि चौडाइ र ५ किमि लम्बाइमा अवस्थित रहेको तथ्यांक छ । र, समुन्द्र सतहबाट करिब ३ हजार फिटको उचाइमा रहेको छ । आजभोलि रारा जानेहरुको जमात बढ्दो छ । मुगु जिल्लाको सदरमुकाम गमगढीबाट स्थानीय करिब अढाई घण्टामा पुग्दा रहेछन् । गमगढीसम्म सुर्खेत र नेपालगञ्जबाट जीप लिएर जानेहरुको संख्या बढ्दो क्रममा छ । करिब ४५ हजारमा, आठ जना अट्ने जीप सुर्खेतबाट लिन सकिन्छ ।
कालिकोट, मुगु र जुम्लाको भ्रमण हुँदै करिब पाँचौं दिन सुर्खेतमा जीपले छाडिदिन्छ । खाना सस्तो छ । सुत्न पनि सस्तो छ । करिब २ सय रुपैयाँमा एकछाकको खाना र एउटा कोठाको पनि करिब १ हजारको सेरोफेरोमा उपलब्ध हुन्छ । एक दुई रात बिताउन र स्वच्छ हावाको आनन्द लिन रारा एउटा सुन्दर प्राकृतिक स्थल हो । कर्णाली क्षेत्रको डोल्पाको फोक्सुन्डो ताल पुग्न सदरमुकाम दुनैबाट करिब ४२ घण्टा हिँडेको अनुभव म, भुपेन्द्र र प्रवेशसँग अझै ताजा छ । तर रारा अत्यन्तै राम्रो र पहुँचको हिसाबले सजिलो छ ।
करिब तीन घण्टाको हिडाँँँइलाई सहज नै मान्नुपर्दछ । करिब ८.५ किमि न हो ताल्चा र राराको दूरी । धेरै उकालो ओरालो पनि छैन । जहाज उडेन भने पनि गाडीबाट सुर्खेत तथा नेपालगञ्ज पुगी आफ्नो गन्तव्य समाउन सकिन्छ । गाडीबाट एक हप्ता र जहाजबाट चार– पाँच दिनको कार्यक्रम बनाउँदा पुग्ने देखिन्छ ।
ताल्चा मुगुको एकमात्र विमानस्थल हो । यहाँबाट करिब ८.५ किमिमा राराको सुन्दरता छ । हामी हिँडेर ताल्चाबाट करिब साढे तीन घण्टामा रारा पुग्यौं । नेपालगञ्जबाट मकालु एयरको जहाजबाट लगभग ४५ मिनेटको उडानबाट ताल्चा विमानस्थल पुग्दा दिनको १२ बजेको थियो । ताल्चामा खाना खाएर रारा हिँडेको करिब डेढ घण्टामा रारालाई पहिलोपल्ट देख्न पाइएको थियो । राराको किनारै किनार करिब दुई घण्टा थप हिँडेपछि रारामा बस्न पाइने केवल दुईवटा होटलमा पुगिन्छ । हिँड्न नखोज्नेहरुको लागि घोडाको व्यवस्था हुँदो रहेछ । हामी डाँफे होटलमा बस्यौं । डोल्पाको सांसद गोपाल बमको होटल रहेछ डाँफे । अर्को भिलेज हेरिटेज एन्ड रिसोर्ट । विवेक स्वारभाइले हवाई टिकट, होटललगायत सबै तयारी गरिदिएका थिए । उनको सहयोगले हाम्रो यात्रा थप सहज र स्मरणीय भएको थियो ।
रारा नेपालको उच्च हिमाली भागमा अवस्थित छ । सो ठाउँमा प्रशस्त हिउँ पनि पर्दछ । तर जाडो मौसममा पनि राराको पानी जम्दैन । वरिपरि हिउँले ढाकिएको हुन्छ तर रारा वरिपरि रहेको जंगल र घेरिएको अग्ला अग्ला सल्ला र धुपी सुसाइरहेको मनमोहक प्राकृतिक सौन्दर्यको वर्णन गर्न कवि र लेखकहरु नै चाहिन्छ जस्तो लाग्छ । बाह्रै महिना राराको आनन्द लिन पुग्न सकिन्छ । जाडो मौसममा हिउँ पर्ने भएकोले चैत्रबाट मात्र वास्तवमा राराको मौसम शुरु भएको मानिदो रहेछ । दशंै र तिहारको बीचमा रारामा राम्रै संख्यामा पर्यटकहरुको उपस्थिति हुँदोरहेछ ।
रारातालमा अवस्थित डाँफे होटलका व्यवस्थापक भाइ बलिराज शाही, तारा एयरका स्थानीय व्यवस्थापक शेरबहादुर बाम, सिता एयरका स्थानीय व्यवस्थापक शिवराज बाम, मकालु एयरका स्थानीय व्यवस्थापक धिरेन्द्र बाम क्षेत्रीले दिनुभएको स्नेहयुक्त स्मरण तथा सिटिजन्स बैंकका व्यवस्थापकहरु विवेक स्वाँर नेपालगञ्ज, सुमन हमाल भैरहवा, कपिल पोखरेल बुटवल, प्रकाश महत हुम्ला, प्रविन केसी सुर्खेत, दिनेश ढुंगाना बढैयाताल र तारजन अधिकारी सानोश्रीले रारा उपयुक्त ठाउँ हो भनी उपलब्ध गराएको सूचना तथा सहयोगले यात्रा स्मरणीय भएको थियो ।
डाँफे होटलमै रहनुभएका भारतीय दूतावासका प्रथम सेक्रेटरी रोशन केप्चा र वहाँको समूहसँगको स्मरणीय गफगाफ तथा हिमाली क्षेत्रमा उड्ने सिंगल र डबल इन्जिन जहाजका बारेमा भएका मिठो गफ सम्झँदा आनन्द महशुस हुन्छ । हामी तारा एयरबाट नै सँगै नेपालगञ्ज फिरेका थियौं । वहाँको समूह काठमाडौंतिर भने हामी रुपैडिया, भारत लागेका थियौं । कहिल्यै नभुल्ने स्मरण र प्राकृतिक माया लिएर हामी काठमाडौं आइपुगेका छौं र आफ्नो कार्यक्षेत्रमा व्यस्त पनि । मुगुको दुई रातको बसाइमा स्थानीय शुभचिन्तकहरुले गाउँगाउँमा बैंकको निकै खाँचो भएकोले सिटिजन्स बैंकलाई मुगु भित्राउनु पर्यो भन्ने माग गर्नुभएको थियो । मैले पनि कुनै न कुनै बैंक मुगुको प्रत्येक गाउँपालिकामा चाँडै पुग्ने सूचना प्रदान गरें र भने– हामी कर्णाली अञ्चलमा राम्रै उपस्थिति लिएर बसेका छौं, यो क्षेत्रको विकासका लागि हामी पनि उत्तिकै सहभागी रहनेछौ ।
(पोखरेल सिटिजन्स बैंक इन्टरनेशनलमा कार्यरत छन्)