प्रिय दाइ खुमबहादुर खड्का मेरा निम्ति त नेताभन्दा पनि अभिभावक बढी हुनुहुन्थ्यो । उहाँँको अन्तिम संस्कार सकेर गहभरी आँसु र असीम पीडासहित घर फर्किएको आज तेस्रो दिन भयो । उर्हाँका हजारौं शुभचिन्तक मजस्तै खिन्न मुद्रामा घर फर्किएका छन् अन्तिम बिदाइ गरेर ।
उहाँसँगका धेरै व्यक्तिगत अविस्मरणीय क्षण र संवाद छन् । म त्यतातिर प्रवेश गर्न चाहन्न । भविष्यमा कुनै दिन लेखौंला । आज यत्तिमात्र भन्न चाहन्छु, एक अभिभावकको हैसियतमा धेरै रुवाएर जानु भयो.. कठोरभन्दा पनि कठोर निर्णय लिनुभयो ! उहाँ नेपाली प्रजातान्त्रिक क्रान्तिका शिखर व्यक्तित्वमध्ये हुनुहुन्थ्यो । उहाँको देहावसानले नेपाली प्रजातान्त्रिक आन्दोलन र कमजोर हुँदैगइरहेको नेपाली कांग्रेसलाई अपूरणीय क्षति भएको छ ।
इतिहासको निर्मम र कपटपूर्ण षड्यन्त्रमा उहाँको राजनीतिक जीवनको पहिल्यै हत्या भइसकेकै थियो । मुटुमाथि ढुङ्गा राखी हाँसेको थियौँं, सहेकै थियौँं । तर, अल्पआयुमै भौतिकरूपमा पनि छाडेर जानुभयो । कुन्नि किन उहाँका हकमा जन्मपछि मृत्यु हुनेसत्यलाई स्वीकार्न पनि कठिन भइरहेको छ । कारण, जुन बनावटी दागको अन्धकारमा उहाँ परलोक हुनुभयो त्यो हाम्रो लागि जीवनभर नै पीडा र दुर्भाग्यको काँडा बनेर बिझाई रहनेछ । यसपछाडि एक र त्यससँगै जोडिने अनेक कारण छन् । उहाँभित्रको गतिशीलता र निर्भीकताले जुन राजनीतिक सगरमाथाको नजिक पुग्न खोज्दै थियो सायद त्यही उहाँका लागि अभिशाप सिद्ध भयो ।
मलाई लाग्छ, मेरा प्रिय नेताले यो सब कुरा चिरेरमात्र बिदा लिनुपर्ने थियो । यस विषयमा मैले उहाँलाई भनेको थिएँ — जनतामा परेको नकारात्मक छाप चिर्नुपर्छ । एउटा पुस्तक प्रकाशन गरौँं । त्यसमा आफूमाथि के र कसरी त्यो सब भएको थियो सबै भन्नुहोस् । उहाँको पनि इच्छा थियो । तर, समयले यो महान् कामका लागि हामीलाई अवसर दिऐन । हामी अभागी भयौँं ।
पछिल्ला वर्षमा उहाँ एकातिर हुनुहुन्थ्यो र सिङ्गो पार्टी अर्कोतिर थियो । उहाँमा देशको राष्ट्रियता, नेपाली कांग्रेसको भविष्य, धार्मिक द्वेषका कारण देशमा निम्तिन सक्ने द्वन्द्व र संघीयताको कुशल व्यवस्थापनमा थोरै पनि चुके देश टुक्रिनसक्ने जोखिमको अत्यन्त चिन्ता थियो भने सिङ्गो नेपाली कांग्रेसलाई यी कुनै कुरामा खासै चिन्ता थिएन । तपाई एक्लै.. सिर्फ एक्लै लड्दै हुनुहुन्थ्यो ।
आज उहाँ हाम्रो सामु हुनुहुन्न । उहाँको आँट, हिम्मत र गतिशीलताबाट बीपी कोइराला त लोभिनु भएको थियो भने हामी नलोभिने त कुरै भएन । हो, आज उहाँबाट सिङ्गो कांग्रेस र सिङ्गो पुस्ताले उर्हाँको त्यही क्रान्तिकारी छविको खुमबहादुर पढ्नु र बुझ्नुपर्छ । जुन खुमबहादुर १९ वर्षको कलिलो उमेरमा प्रजातन्त्रका खातिर सात वर्ष निर्वासनमा बस्यो । जुन खुमबहादुर २६ वर्षको युवा उमेरमा प्रजातन्त्रका लागि मेलमिलाप भन्दै ३३ सालमा बीपीसँगै मृत्युको पर्वाह नगरी स्वदेश फर्क्यो । जुन खुमबहादुर प्रजातन्त्रका खातिर झन्डै आठ वर्षभन्दा धेरै जेल बस्यो ।
जुन खुमबहादुरले २०५४ सालमै माओवादी जन्माउने दरबार हो भन्दै गणतन्त्रको प्रस्ताव पार्टीको केन्द्रीय समितिमा लग्यो । जुन खुमबहादुरले कांग्रेसको प्रमुख प्रतिद्वन्दी शक्तिलाई कमजोर बनाउनमा भूमिका खेल्यो । जुन खुमबहादुरले अदालतमै हाजिर भएर आफूविरुद्धको अदालतको निर्णलाई सहजरूपमा स्वीकार गर्यो । हामीले उहाँबाट भविष्यको बलियो कांग्रेस र समुन्नत लोकतन्त्रका लागि अनुसरण गर्नुपर्ने यिनै कुरा हुन् ।
उहाँलाई पार्टीमा कमजोर बनाइँदा आज पार्टी पनि कमजोर भएर गयो । मेरो मन र मस्तिष्कमा अझै पनि त्यो वातावरण ताजै छ जतिखेर गिरिजाबाबु बित्नु भएको थियो र दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि लाखौंको संख्यामा देशैभरका कांग्रेसजनको उपस्थिति थियो । सबैमा दुई कुराको चिन्ता थियो । पहिलो, आफ्नो पार्टीको सर्वाधिक प्रिय नेता तथा पार्टी सभापतिको अवसानको पीडा ।
दोस्रो, त्यो समय पार्टीको नेतृत्वमा आउने जो कसैले पार्टीलाई पार लगाउन सक्ने अवस्था थिएन । पहिलो संविधान सभाको निर्वाचनबाट माओवादी पहिलो शक्तिको रूपमा संसद्मा थियो र त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ’यी हरुवाहरू’ भन्दै कुम हल्लाउँदै भाषणवाजी गरिहिँड्थे । त्यो शोकाकुल कांग्रेसी महासागरमा प्रायः सबैको मनोभावना थियो — खुमबहादुरको बहादुर प्रवृत्ति र पात्रलेमात्र कांग्रेस पार्टीलाई पार लगाउन सक्छ, कुनै पनि अतिवादी तत्वसँग लडेर पार्टीको वैभव, पराक्रम र प्रतिष्ठालाई अग्लो र अक्षुण्ण राख्न सक्छ ।
हुन पनि समयले आज त्यही प्रमाणित गर्यो । कुशल र सक्षम नेतृत्वको अभावले पार्टी पनि संकटमा पुगेको छ । आज कांग्रेस जुन नियतिमा छ त्यो आजभन्दा झन्डै बीस वर्षअगाडि नै पुग्नसक्ने पूर्वाअनुमान गरेर नै कांग्रेसको प्रमुख प्रतिद्वन्द्वी शक्तिमाथि कुशलतापूर्वक रणनीतिक अश्त्रको सफल प्रयोग गर्नुभएको थियो र नै पार्टीले आफ्नो अस्तित्व पहिलोबाट दोस्रोमा बदल्नु परेको थिएन ।
पार्टी भनेको संगठन हो र संगठन मद्दाको आधारमा मात्र जीवन्त हुन्छ भन्ने उहाँ विगत वर्षहरूमा पार्टी माओवादी एजेन्डामा लतारिएको र पार्टीले माओवादीलाई बोकेर हिँडेको भन्ने ठहरमा अडिग हुनुहुन्थियो र भन्नुहुन्थ्यो — बीपीको विचारबाट कांग्रेस बरालियो ।
अहिलेको कांग्रेस नेतृत्व कति अनुदार छ भन्ने त उहाँले देखेरै, भोगेरै जानुभएको छ । उहाँले नै हो २०५१ सालमा ४३ वर्षको उमेरमै आफ्नो पक्षमा दुई तिहाईभन्दा पनि धेरै संसद्को समर्थन हुँदाहुँदै पनि गिरिजाबाबुको आग्रहलाई नकार्न नसकेर वर्तमान सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा सर्वसम्मत बनाएको । अरू कसैको व्यक्तित्व उठे आपूmलाई असर पर्छ भन्ने मानसिकता र भयले अधिवेशन भएको झन्डै दुई वर्ष बित्न लाग्दा पनि पदाधिकारी नियुक्त गरिएन । आजको समय हत्केलालाई मुठ्ठी कस्ने समय होइन, थिएन ।
एमाले र माओवादी एकताको सन्दर्भमा अहिले नयाँ बहस बाहिर आएको छ । माओवादीलाई पचास प्रतिशतको हिस्सा दिनुपर्नेमा एमाले नेतृत्व यस मागको लागि पनि सकारात्मक हुँदैछ भन्ने सुनिन थालेको छ । अब यता हाम्रो नेतृत्व भने आफ्नै पार्टीको कसैलाई दिनै पर्ने, बनाउनै पर्ने बाध्यात्मक अवस्थामा पनि चट्टानभन्दा पनि कठोर भएर बसेको छ, बेइमान भएर बसेको छ ।
उहाँको चातुर्य, सावधानी र वीरता अहिलेको कांग्रेस नेतृत्वमा अलिकति पनि हुँदो हो भने आज कांग्रेस ओरालो लाग्ने थिएन । एकले अर्काको अस्तित्वमाथि धावा गरेर, एकले अर्काको अस्तित्वलाई स्वीकार्ने कुरामा कठोर भएर बलशाली हुने कुरा कोरा सपनामात्र थियो । तर, विगत धेरै वर्ष यता यो चरित्र पार्टीको मूल सिद्धान्तजस्तै भएको छ । यस्तो चरित्रबाट विध्वंशमात्र संभव हुन्छ ।
खराब नियतले सुखद परिणाम कहिल्यै हासिल गर्नै सकिन्न । मलाई आजका दिनमा एउटा कुरा निश्चित गरेर भन्नमा कुनै द्विविधा छैन — अहिलेको कांग्रेस नेतृत्वले कांग्रेसका लागि के प्राप्त गर्यो त ? उहाँलाई कांग्रेसको रेलबाट जसरी छुटाइएको थियो आज त्यसैगरी कांग्रेस इतरका शक्तिको घेराबन्दीबाट क्षणभरमै कांग्रेस राष्ट्र निर्माणको रेलबाट छुटेन त ?
अहिले, कांग्रेस पुनःनिर्माणको समय छ । बिरामी कांग्रेसलाई उपचार गरेर सधैँ निरोगी बनाइराख्ने प्रस्थान बिन्दु के हो त्यो निर्दिष्ट गर्नुपर्ने बेला हो । कांग्रेसले कुन बाटोबाट हिँड्दा शिखरसम्मको यात्रा तय गर्न सक्छ त्यो पहिल्याउनुपर्ने समय छ । यस्तो संवेदनशील र चिन्ताजनक समयमा खुमबहादुर दाइको अभावले पार्टीको नवनिर्माण र आधुनिकीकरणका लागि ठूलो क्षति भएको छ । आशा गर्छु यो शोकलाई कांग्रेस र कांग्रेसजनले शक्तिमा रुपान्तरण गर्नेछन् । अनि कांगे्रसको नेतृत्व, संरचना र विचारमा आमूल परिवर्तनका लागि उक्त शक्तिले साहस प्रदान गर्नेछ ।
अन्तिममा नवीन पुस्तालाई सम्बोधन गरेर बिट मार्दैछु — हाम्रो पुस्ताले के बुझ्नुपर्छ भने हामीले प्राप्त गरेको यो स्वतन्त्रता र समृद्धिको फराकिलो आयतन खुमबहादुरहरूको जीवनभरको रगत र पसिना नपरेको भए संभव थिएन ।
उहाँको राष्ट्र र लोकतन्त्रप्रतिको बलिदान र निष्ठा हाम्रो पुस्ताको पनि जीवनको मूल अंश हुनेछ भन्ने वाचा गर्दै खुमबहादुर दाइप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँको आत्माले चिर शान्ति र मुक्ति प्राप्त गरोस् । उहाँ सधै सम्झना र प्रेरणामा रहिरहनु हुनेछ ।