site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
बाम कला

"बिन्ती लाग्ला, तपैँलाई पशुपतिनाथको कस्सम, आज त जसरी भए पनि मेरो उद्धार गरिदिनुस् है ?" 

फाइँफुट्टीराज फोनमा पिलपिल गर्दै सकेजति मीठो र चाप्लुस स्वरमा त्यसरी बोल्यो जसरी सरकारी कार्यालयमा आएको नयाँ हाकिमसँग कुनै पुरानो खरदार बोल्छ ।

त्यसमाथि नेपालीहरूको हर समस्याको रामवाण ओखती पशुपतिनाथको 'तडका' । अब त उताको प्राणी नपग्लिई सुख्खै छैन भन्ने कुरामा फाफुरालाई ओलीको बोलीमा नेपाली जनतालाई जति नै विश्वास थियो । तर, उसको सपनामा पानी खन्याउँदै त्यो नास्तिक, पापी र अधर्मी मानिसले भन्यो - "पशुपतिनाथ, दिलीपनाथ, विश्वनाथ, काशीनाथ, आलोकनाथ कसैको कस्सम दिए पनि म केही गर्न सक्दिनँ ।"

KFC Island Ad
NIC Asia

उसको त्यो क्रूर उत्तर सुनेर फाफुराका पहिलेदेखि नै रसाएका दुई आँखाबाट मेलम्चीको पानीभन्दा दुर्लभ आँसुका दुई थोपा तररर्र निस्किएर बगे । ती भुइँमा खसेर खेर जानुअघि फाफुराले हत्तनपत्त तिनलाई हत्केलामा थाप्यो र छेउको एउटा सानो सिसीमा सुरक्षित राख्यो जुन आधा जति भरिइसकेको थियो । फाफुराले पम्प व्यवसायीले पेट्रोलमा मट्टितेल मिसाए जसरी आफ्नो स्वरमा करूण रसको मात्रा मिसायो र त्यो मानिसलाई फकाउन थाल्यो -

"आज चार दिन भैसक्यो मैले यहाँलाई बिन्ती बिसाएको । मानवताको नाताले भए पनि त्यसो नभन्नुस् न ।"

Royal Enfield Island Ad

"थाहा छ, तर मैले के गर्ने ? कसकसलाई मानवता देखाउनु म एकजनाले ? तै पनि तपैँ पुरानो मुर्… मेरो मतलब 'कस्टमर' हो । दया त लाग्छ नि । त्यही भ'र हिजो एक डोज भए पनि कोटा सप्लाइ गरिदिन्छु भनेर आधा बाटोसम्म आएकै हूँ । तर, तपैँको कर्मजस्तै तपैँको डेरातिर आउने बाटो पनि फोडेको रहेछ । अर्कोतिरबाट आउन ट्राफिक जाम हुन्छ, तीन घन्टा त्यसै खेर जान्छ । एक त त्यसै पनि 'माल' छैन आजकल, कस्तो सर्टेज छ ।"

आजकल वास्तवमै 'माल'को सर्टेज छ भन्ने कुरा फाफुरालाई थाहा नभएको त हैन । तर, त्यो 'माल' फाफुराले उपभोग गर्न नपाएको चार दिन भैसकेको थियो । इमर्जेन्सीको लागि अलिअलि रहलपहल राखेको स्टक पनि उसले सकाइसकेको थियो । त्यसैले अब फाफुराको छटपटी र हुटहुटी खप्न सक्ने क्षमताभन्दा बाहिर गैसकेको थियो । 

तपैंहरूलाई यो वार्तालाप सुन्दा पक्कै पनि फाफुरा कुनै दुर्व्यसनी हुनुपर्छ र चरेश, गाँजा, खैरो चिनी वा नाम नखुलेको कुनै कालो पदार्थको सप्लायरसँग उसले अनुनय-विनय गरिरहेको रहेछ भन्ने लाग्यो होला । आंशिक रूपमा तपैंहरू सही हुनुहुन्छ । फाफुरा त्यो मालको दुर्व्यसनी पनि हो, चार दिनदेखि त्यो दुर्व्यसन गर्न नपाएर 'सिक्' भैसकेको पनि हो र सप्लायरसंग रोइकराइ गरिरहेको पनि हो । खालि त्यो पदार्थको नाम मात्र तपैंहरूले अन्दाज गर्न सक्नुभएन । 

त्यसलाई पानी भन्छन् । हो हजुर, पानी । माउवादीबिना बरु चल्लावादी एमाले, केमाले, देमाले र लेमालेहरू टिक्न सक्लान्, तर पानीबिना मानिस कसरी टिक्नू ?
पीडा छ हजुर पीडा । यो देशमा सुघ्घरी हुने त वातावरण नै छैन । 

केही लाख मानिसमात्र धान्ने सक्ने यो काठमाडौं भनिने खाडल पचासौं लाख मानिसहरूको बोझले यसरी किच्चिएर निस्सासिएको छ जसरी भाग पुर्‍याउन नयाँ नयाँ मन्त्रालयको आविष्कार गरेर बनेको जम्बो मन्त्रीमण्डलको खर्च धान्दा गरिब नेपालीले तिरेको कर निस्सासिन्छ । राजधानीबाट राजखानी बनिसकेको यो सहरमा विशेष गरेर यो मौसममा पानी नामक लागु पदार्थको ठूलो अभाव हुन्छ । तिनका व्यवसायीहरूले जुन बेला जति बढाएको पैसा तिरेर भए पनि कमसेकम पानी ल्याइदियो भनेर उसको जयजयकार गर्नु भनेको देशको राजखानीमा बस्नको लागि चुकाउने सानो मूल्य मात्र हो । यस्तो बेला पिउनका लागि 'मिनरल वाटर'का नाममा बेचिने तथाकथित जारको पानीले काम चलाउन सकिन्छ । नुहाउने भनेको त त्यस्तै हो । हात्ती दिनदिनै नुहाएर ठूलो भएको हैन । त्यसमाथि नुहाएको मानिसलाई छोएर "त्वम् स्नानम् मम स्ननानम्" भन्ने मन्त्रोच्चारण गरेपछि त्यसलाई स्पर्श स्नान मानिनेछ र छुने मानिस पवित्र हुन्छ भन्ने कुरा त शास्त्रमै लेखेको छ । लुगा कपडा जति दिन नधोए पनि चल्छ । तर, तपैंहरू सबै सरह यो फाफुराको पनि पृ्ष्ठ भागमा भगवानले एउटा यस्तो अंग टाँसेर पठाएको छ जसलाई हरेक बिहान नधोई सुख्खै छैन । 

त्यसैले चार चार दिनसम्म पानी नामक लागु पदार्थको सप्लायरले धोका दिएपछि फाफुराको के दुर्गति भयो होला भन्ने कुरा तपैंहरू सहजै अनुमान लगाउन सक्नुहुन्छ होला । यो मौसममा पानी व्यवसायीहरू कछुवा लुके जसरी लुक्छन् । उनीहरुको फोनमा 'सम्पर्क हुन सकेन' भन्दै झुर सञ्चारकी युवतीले मीठो स्वरमा माफी माग्छिन् । बल्लतल्ल लागेछ र उठेछ भने त्यस्तो दुर्लभ अवस्थामा मानिसले पानी व्यवसायीहरूलाई आफ्नी प्रेयसीलाई भन्दा बढी फकाउँछ, शत्रुलाई भन्दा बढी थर्काउँछ । रुने, कराउने, भावनात्मक शोषण गर्ने, मानवताको दुहाइ दिने, भगवानको किरिया खुवाउने, लम्पसार पर्नेजस्ता जाने जतिका 'टिडिक'हरू लगाउँछ । कसैको घरमा पानीको ट्यांकर आयो भने छरछिमेकले नजर सुरक्षा कवच नै झुन्ड्याउनुपर्ने गरी ईर्ष्यालु आँखाले हेर्छन् । 

हुन त नवनियुक्त खानेपानी मन्त्रीज्यूले दसैसम्ममा भट्टराई माराज्को मेलम्ची नामक सपना पूरा गरिदिने आश्वासन प्रदान गरिसक्नु भएको छ । त्यो सुनेर काठमाडौंका जनता दंगदास छन् । दीपावली मात्र गर्न बाँकी छ । किनभने, हामी सबैलाई थाहा छ, यो संसारमा ढुक्क भएर विश्वास गर्न सकिने कुनै पनि कुरा छ भने त्यो नेपालका नेता र मन्त्रीहरूको बोली नै हो । त्यसभन्दा सत्य र सुन्दर कुरो शिवले पनि गर्न सक्दैनन् । तसर्थ मेलम्चीको पानी विक्रीवितरण गर्नका लागि जलस्रोत मन्त्रालयले कानमा औषधि हाल्ने ड्रपर खरिदको ग्लोबल टेन्डर आह्वान गर्दैछ भन्ने गोप्य सूचना पनि फाफुराको स्रोतले दिइसकेको छ । तै पनि चक्रपथ बाहिरका दोस्रो दर्जाका नागरिकहरूले त्यो अमृत सुँघ्न पाउने हैनन् । जलस्रोतको धनी भनेर कुर्लने देशको काकाकुल राजखानीबासीहरूको यो ठूलो ‘बाम कला' हो ।

**
शीर्षकमा बाम कला भन्ने शव्द देख्नासाथ तपैंहरू पनि युरोपियन युनियन हाम्रो देशको बारे पुगेजस्तो सिधै निष्कर्षमा पुग्नुभो होला हैन त ? तपैंहरूलाई लाग्यो होला यो कला पनि वाम ए-कता, वाम गठबन्धन, वाम मन्त्रीमण्डल, वाम भाषण, वाम अर्थतन्त्रजस्तै अहिले वाममय भएको मुलुकसँग सम्बन्धित कुनै कला होला । बज्या फाफुरो पनि वाममय भयो भन्ने लाग्यो होला । त्यस्तो लागेको भए तपैँहरू पनि सर्वज्ञाता इयुजस्तै गलत हुनुहुन्छ । बाम कला अर्कै जिनिस हो । जनताजनार्दन बाम कलाबाट पीडित हुनुको पछाडि अरू कलाका हात छन् । ती अरू कलाले गर्दा बाम कलाको अस्तित्व पैदा भएको हो । त्यसैले पहिले अलिअलि तिनको कुरा गरौँ । 

सार्वजनिक यातायातको के कुरा गर्नु हजुर, त्यहाँ छोरी-चेली छाम कलाबाट असुरक्षित छन् । यही छाम कलाका कारण यौनजन्य हिंसा र बलात्कारका घटनाहरू बढ्दा छन् । दिनहुँ बालिका, बृद्धा र मानसिक सन्तुलन गुमाएकाहरूसमेत बलात्कृत भएका घटनाहरू सुनिन्छन्, सेलाउँछन् । सबै कानमा तेल हालेर बस्छन् । प्रहरी थाम कलाबाट पीडित छ । गुन्डा बदमास र अपराधीलाई छोयो कि कुनै न कुनै राजनीतिक दलका नेता 'मसीहा' बनेर प्रकट हुन्छन् र तिनका हात थाम्छन् । इनकाउन्टर गर्‍यो भने मानउ धिक्कारकर्मीले खेद्छन् । त्यो सबको तोडमा ऊ बेलाबेला होटेलमा छापा मार्छ, प्रेमीप्रेमिकालाई समात्छ र आफ्नो निरीहपनको भडास निकाल्छ ।

हरेक ठाउँमा राजनीतिक नियुक्ति र दाम कला हावी भएको छ । जसले शक्तिकेन्द्रहरूमा जति धेरै दाम चढाउन सक्छ, उसैको बोलाबाला हुन्छ । न्यायाधीशदेखि मठाधीशसम्म, डनदेखि डिनसम्म, महाप्रबन्धकदेखि आइजीपीसम्म र लाजदूतदेखि राजदूतसम्मका नियुक्तिका लागि दाम कलाको लागि खाम कलाको बोलाबाला छ । ठेक्कापट्टा र निर्माणआदि हाम कलाबाट पीडित छ । जसले जहाँ सक्यो, बीचमै हाम गरिदिन्छ । त्यसैले निर्माणको स्तर धुस्नु र गति कछुवाको जस्तै तीव्र भैसकेको छ । ठेकेदारहरू खुला हाँक दिन्छन् - "माथिदेखि तलसम्म छ्याकन बुझाउनु नपर्ने भए हामीले पनि बन्दाबन्दै नभत्कने पीच बनाउन जानेका छौँ ।" हाम कलाका अम्मलीहरू नसुनेको जसरी बस्छन् ।  

यस्तै विभिन्न भाम कलाका कारण फाफुरा जस्ता रैतीहरू चाहिँ बाम कलाको सिकार भएका हुन् । त्यसैले यो देशमा बरू काम कला नजाने केही फरक पर्दैन, बाम कला नजाने तपैं बाँच्न सक्नुहुन्न । बाम कला एउटा यस्तो कला हो, जुन अहिले हामी सबै नेपालीको पुर्पुरो बनेको छ । चाहेर पनि नचाहेर पनि हामीले यो सिक्नै परेको छ । चार विभिन्न विदेशी भाषाका एउटै अर्थ लाग्ने चार शब्दहरूबाट बनेको यो समावेशी कला आजको हाम्रो आवश्यकता हो । बाध्यताको बा, मजबुरीको म, कम्पल्सनको क र लाचारीको ला मिलेर बनेको यो बाम कला आज तपैँ हाम्रो नियति हो । चारवटा विदेशी शब्द कसरी मिल्न सक्छ भनेर तपैंले प्रश्न गर्नुहोला । खाओवादी बन्नका लागि माओवादी राप्रपासँग र बेकाँको नेकाँ तपलोपासँग तेल र पानी जसरी मिल्न सक्ने यो महान् मुलुकमा जाबो चार भाषाका शब्दहरू मिल्न नपाउनु ? 

ठूला कुराहरू नेताहरूको भाषणमा मात्रै अटाउने यो देशमा हामी बराहरूले ससाना कुरामा समेत बाम कलाले चित्त बुझाउनु परेको छ । तथाकथित 'भीआईपी' का 'सवारी' का कारण सँधैजसो राजखानीका सडकहरूमा एनाकोन्डा जत्रो लामो गाडी र भटभटे पसारिन्छन् । तिनको बीचमा फसेर आर्तनाद गरिरहेको एम्बुलेन्समा छटपटाइरहेको सिकिस्त बिरामीलाई निरीह भएर हेरिरहनु पर्ने आफन्तको बाम कला कति पीडादायी होला, कल्पना गर्दा पनि हाम्रो आङ् जिरिङ्ग हुन्छ । तर, परपीडामा रमाउन पल्केकाहरूले यो बुझ्लान् भन्ने आशै नगरे हुन्छ । 

हामी बबुरा नागरिकहरूले सँधै बाम कला मै चित्त बुझाउनुपर्छ । बेलाबेला यो देशका प्रधानमन्त्रीहरू दुईवर्षमा नेपाल सिंगापुर बन्छ भन्छन् । तर, त्यति कम समयमा कसरी सिंगापुरलाई नेपालको स्तरमा झार्न सम्भव छ भन्ने बारेमा चाहिँ केही पनि भन्दैनन् । देशका ठेकेदारहरू रारा तालदेखि जुवाको खालसम्मबाट हामी रैतीहरूलाई सपना बेच्ने गर्छन् । हामी बाम कलाका साथ त्यो सुन्छौँ अनि दुई खेमामा बाँडिन्छौँ । एउटा खेमा त्यो फाइँफुट्टीराजको भन्दा ठूलो फाइँफुट्टी सुनेर पत्याउँछ, करतल थपडी बजाउँछ । अर्को खेमा त्यसको विरोधमा घोक्रो सुक्ने गरी गाली गर्छ । सामाजिक सञ्जालमा चिन्नु न जान्नुका नेपालीहरू एकआर्काको हुर्मत लिन्छौँ, आमाचकारी गालीगलौज गर्छौँ र भडास पोखेर शान्त हुन्छौँ । यो भन्दा ठूलो बाम कला अरू के हुनसक्छ ? यहाँ त यातायात सिन्डिकेटले समेत ठग्न पाइएन भनेर राजमार्ग नै बन्द गर्न सक्छ । जिन्दगीका हरेक सानाठूला कुरामा हामीले बाम कलाको कुशल अभ्यास नगरी सुख्खै छैन । 

त्यसैले यो कलाको अभ्यास गरेर अनुभवी भैसकेको फाफुरा एउटा बाम कला प्रशिक्षण केन्द्र खोल्ने सुरमा छ । 'फाफुरा बाम कला केन्द्र'मा तारानाथ अँग्रेजी प्रशिक्षण केन्द्रमा महीना दिनभित्रै भटटटटटटटटटटट अँग्रेजी बोल्ने कला सिकाए जसरी, कम्निस्ले सपना बेच्ने कला सिकाए जसरी, विवेकशील-साझा र काउँरेस्ले चुनाप् जित्ने कला सिकाए जसरी नै ग्यारेन्टीका साथ प्रभावकारी बाम कलाको अभ्यास गराइनेछ, सिकाइनेछ । त्यसैले यो सुनौलो अवसरको फाइदा उठाएर फाफुरासँग नि:शुल्क बाम कला सिक्न चाहनुहुन्छ भने शनिवारबाहेक अरू दिन दश बजेदेखि पाँच बजेसम्म रत्नपार्कमा आउनुहोला । ऊ तपैंहरूको प्रतीक्षामा त्यहाँ टोपीले मुख छोपेर घाम कलाको उपभोग गरेर सुतिरहेको हुनेछ । 

twitter: @brazeshk 
email: brazesh@gmail.com
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २०, २०७४  १०:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro