कामको सिलसिलामा नर्वेको भ्रमण गर्ने अवसर मिल्यो । अत विकसित मानिएको बेलायतमा बसोबास गरेको पनि एक दशक पुगिसकेछ । बेलाबेलामा अन्य धेरै देशको निजी तथा कामकाजी भ्रमण गरिएकै थियो । लागेको थियो, नर्वे पनि अरु देशजस्तै त होला । तर, निकै फरक रहेछ । लन्डनबाट दुई घन्टाको उडानपछि ओस्लोको आकाशमा पुगेर जहाजको स्यानो झ्यालबाट बाहिर चिहायर हेर्दा निकै रोमाञ्चक दृश्य देखिन सुरु भएको थियो । थुम्काका टाकुरामा हिउँ खासै थिएन तर फेदी र समथर भूभाग भने सेताम्य देखिन्थे । पानीका तालहरु पूरै जमेका थिए, घरहरुमा पिलिकपिलिक बत्तीको उज्यालो र सेताम्य फाँटबीचमा लमतन्न परेको कालो सडक देखिन्थ्यो । ओहो त्यती लामो सडकबाट कसरी तेत्रो हिउँ पन्छाए होलान् ! जहाजमा सँगै रहेका बेलायती यात्रुहरुसँग कुरा गर्दै झ्यालबाट बाहिर नियालिरहँदा मेरो मनमा भने देशको सम्झना आइरहेको थियो । बेलायती यात्रुले भरिभराउ उक्त विमानका आधिकांश यात्री हिउँमा खेल्नैका लागि नर्वे जाँदै थिए । अनि मैले सोच्न थाले हाम्रा हिमाली क्षेत्रहरु पनि त यसभन्दा झनै राम्रा र मनमोहक स्थान छन् । तैपनि हामी किन यसरी हिउँ पर्यटक देश भित्र्याउन सक्तैनौ?
पानी जमेको पोखरीमा आइस स्केटिङ ।
जहाजबाट उत्रिएर टर्मिनल बाहिरको ट्रेन स्टेसनमा पुगेपछि मात्र नर्वेको वास्तविक तापक्रम थाहा भयो । मोबाइलको स्क्रिनमा तापक्रम चेक गर्दा माइनस सात ७ डिग्री सेल्सियस देखायो । अनि बाक्ला पन्जा, कान छोप्ने टोपी र सुटकेसबाट निकालेर बाक्लो ज्याकेट शरीरमा उधिन्न बाध्य भइयो । युरोपभित्रको एउटा राम्रो सुविधा मोबाइल प्रयोग (डाटा सहित) रोमिङ निशुल्क हुनु पनि हो । आफूले पनि त्यही सुविधा प्रयोग गर्दै बेलायतमा रहेका परिवारलाई निरन्तर संपर्क गरियो । रेल चढ्दा अन्धकार भइसकेको थियो तर समय भने बेलुकाको ५ मात्र बजेको थियो । करिब चालीस मिनेटको रेल यात्रापछि होटेल पुगियो । रेल स्टेसनबाट होटेल पुग्दा पुरै हिउँ टेकेर साबधानी पूर्वक हिडनु पर्ने । प्रायः स्थानीयहरुले जुत्ताको तलुवामा हिउँमा नचिप्लिने अर्को तलुवा थपेर लगाएका हुने रहेछन् तर हामीसँग त्यो सुविधा थिएन ।
हिउँले पुरिएको एक गाँउ
मसँग गएको अर्को साथी इटालियन थियो । उसले पनि आफ्नो जीवनमा त्यति धेरै र बाक्लो हिउँ नदेखेको । होटलमा चेकइन गरेर झोलातुम्बा थन्क्याएपछि पुनः सिटी सेन्टर जाने निधो गरियो रातकै समयमा । मेट्रो रेलको ५ मिनेटको यात्रापछि नेसनल थिएटर स्टेसन झरेर बहिर निस्किँदा सम्पूर्ण जमिन सेताम्य कपासजस्तो हिउँले ढाकिएको थियो । सडकका २ छेउमा पातबिनाका रुखका लहर र ती रुखमा झिलीमिली बत्ती । एक छेउमा नर्वेका राजाको दरबार र अर्को छेउमा पर्लियामेन्ट भवन ।
पार्कको छेउमा रहेको पोखरी, पोखरी होइन आइस स्केटिङ खेल्ने पार्क बनेको थियो । राजदरबारदेखि पर्लियामेन्ट भवन जता पनि निर्धक्क जान पाइने कुनै रोकतोक छैन । झिलीमिली बत्तीको प्रकाश सेतो हिउँमा पर्दा निकै मनमोहक दृश्य देखिन्थ्यो । पैदल यात्री, ट्राम र कारहरुको निरन्तर ओहोरदोहोर । सडकबाट हिउँ हटाइएको र फुटपाथमा चिप्लो नहोस् भनेर ग्रीट (स्याना गिटी ) छरिएको अर्थात् मानिसको सुविधा र सुरक्षालाई उच्च प्राथमिकता दिइएको रहेछ ।
इटालिएन साथी अले (अलेज्यान्ड्रोलाई अफिसमा हामी अले भन्ने गर्छौँ ) खानेकुराको सौखिन । प्रस्ताव राख्यो परम्परागत नर्वेली खाना खाने । हामी बेलायतबाट जाँदा नै ओस्लोकै बासिन्दासँग परम्परागत रेस्टुराँको नामहरू सोधेर गएका थियौँ । ओस्लोको हिउँमा आधा घन्टाजति हिँडेपछि एउटा प्रसिद्ध परम्परगत रेस्टुरेन्टमा माइनस सात डिग्रीबाट एक्कासिी वातानुकूलित कक्षमा छिर्दा निकै फरक महसुस भयो अनुहारलाई । अन्य सबै भाग त बाक्ला कपडाले ढाकिएकै थिए । अनि सोचेँ यो सबै विद्युते उत्पादनकै कमाल त हो नी । रेस्टुराँभित्रै फेरि आफ्नो देश सम्झे । हाम्रो हिमाली क्षेत्रमा १२ महिना नै घरभित्र न्यानो बनाउन सक्नेथियौ हामीले पनि । हाम्रा नदीनालाको सदुपयोग गर्दै प्रशस्त बिजुली उत्पादन गरेर उपभोक्तालाई सुलभ मूल्यमा उपलब्ध गराउन सकेको भए । तर, खै कहिले होला हाम्रो देशमा यस्तो ? लेकालीलाई जाडोयाममा घर छाडेर पहाड वा तराई झर्न नपर्ने अवस्था कहिले आउँला ? अनी नर्वेको परम्परागत खाना रेनडियरको स्वाद लिएर पुनः सुरु गरियो हिउँमा पैदल यात्रा ।
पार्लियामेन्ट भवन
दोस्रो दिनको कार्यक्रम अफिसबाट प्रायोजित थियो : केही मिटिङ, नर्वेली परम्परागत खानाको प्रबन्ध र अन्तिममा स्लेजिङ खेल्ने कार्यक्रम । मेट्रो रेलको ५० मिनेटको यात्रापश्चात् फ्रग्नेरसेट्रिन भन्ने ठाँउमा पुगियो । मेट्रोको झ्यालबाट बाहिरको दृश्य हेर्दा निकै आकर्षक र हेरिरहुँजस्तो । जतासुकै सेताम्य, घरका छतहरुमा लगभग एक मिटर हाराहारी बाक्लो हिउँ थुप्रिएको, मुख्यसडकबाट हिउँ पन्छाइएको तर भित्री सडकमा भने पूरै हिउँ । मेट्रो ट्रेन बस्तीको कुनाकुनामा पुग्ने र नजिकनजिक स्टेसनहरु रहेको हुनाले मनिसहरु कारको सट्टा ट्रेनलाई नै प्राथमिकतामा राख्ने रहेछन् । अनि फेरि सम्झिएँ काठमाडौंलाई स्मार्ट सिटी बनाउदै मेट्रो र मोनो रेलको सुविधाको सपना । ओहो यस्तै रेल काठमाडौंमा कहिले गुड्ला ? काठमाडौंको कुनाकुनामा मेट्रो रेल पुग्ने हो भने त्यो ट्राफिक जाम, धुँवा र धुलो कता हराउला ?
रोयल प्यालेस
गत १५० वर्षदेखि कुनै दिन बन्द नभईकन चलिरहेको फ्रग्नेरसेट्रिन रेस्टुराँमा नर्वेली परम्परगत खानाको स्वाद लिइसकेपछि स्लेजिङ खेल्न हाम्रो टोली तयार भइसकेको थियो । केही मिनेटको सुरक्षा उपायहरु र स्लेजिङ गर्ने सामान्य तरिकाको जानाकारीपछि चस्मासहितको हेल्मेट, बाक्ला पन्जा र चिसो छेक्ने पहिरनमा खेल्न तयार हुँदा साथीहरुले तर्साउन थाले । कोही यो खेलमा बाँच्ने सम्भावना साठी प्रतिशत हो है भन्ने त कोही हिउँमा टाउको डुब्यो भने निस्किन सकिन्न भन्दै तर्साउने ! मेरो जीवनमा यो पहिलो स्लेजिङ खेल थियो तर मनभित्र डर भए पनि उनीहरुलाई म गोर्खाली हो डराउँदिन है भन्न पछि परिन । दुई किलोमिटर लामो सात सय मिटर उचाइको उक्त हिउँको स्लेजिङ सडक निकै भिरालो मात्र होइन ठाँउ ठाँउमा ठूलाठूला खाल्टा र बम्पहरु । स्लेज त उड्ने नै रहेछ बेलाबेलामा । खुट्टाले दाँया र बाँया मोडन सकेन भने पछाडि फर्किन पनि सक्ने निकै डरलाग्दो पो थियो त त्यो खेल । सम्झिदा नै जिउ सिरिङ्ग हुन्छ । कसरी पार गरेँ हुँला मैले त्यो यात्रा ? तल फेदीमा पुगेर सुरक्षा अधिकृतले सबै सकुशल आइपुगेको जानकारी गराएपछि फेरि रेल चडेर पहाडको टुप्पोमा पुगियो अनी सुरु भयो दोस्रो चरणको खेल ।
यसरी तीन चरणको खेल सक्दा शरीर थिलोथिलो भइसकेको थियो । अनि फेरि देश सम्झिएँ । हाम्रा हिमाली पहाडमा यस्ता स्लेजिङ गर्ने ठाँउ त कति छन् कति ? तर, खै किन हामीले हिउँ पर्यटक भित्र्याउन सकेकाछैनौ ? हामीसँगै स्लेजिङ गर्नै सयौँ अरु पर्यटक नै थिए त्यहाँ । विभिन्न देशबाट आएका । ट्रेन, रेस्टुराँ, स्लेजिङ, सामानहरुको व्यापार र भाडामा लिने यी सबै व्यवसायमा पर्यटकहरुकै योगदान थियो । अनि मनमनै भने हामीलाई प्रकृतिले वरदान दिए चाल भने नपाएकै रहेछौँ ।
स्लेजिङ खेल्दै लेखक ।
तीन दिनको छोटो बसाइपछि बेलायत फर्किँदा नर्वे र नेपाललाई निरन्तर हिउँ र पर्यटकको विषयमा दाँज्न मन लागिरह्यो । जलविद्युत्को गुरु भनेर पनि चिनिने यो देश भूगोल र मौसमअनुसारको विकास, देशभर हिउँ हुँदा पनि र नहुँदा पनि उत्तिकै पर्यटक भित्र्याउन सफल यस देशबाट हामीले सिक्नुपर्ने धेरै कुराहरु रहेछन् । हाम्रा नीति निर्माताले अब ढिलो नगरी पर्यटकीय क्षेत्रमा आमूल परिवर्तन हुनेगरी काम गर्नुपर्ने आवश्यकता महसुस भयो । जलविद्युत्, पर्यटन र वातावरण सबै जोडिएर आउने हुनाले समग्र विकासको अवधारणा लागु गर्न ढिलागरिनु हुन्न । प्रकृतिले हामीलाई धेरै दिएको छ समयमै सदुपयोग गरौँ !
(हाल बेलायत)