नेपाली राजनीतिमा माओवाद र माओवादी २०५२ सालसँगै जन्मियो । त्यसअघि बिपी कोइरालाको मेलमिलाप र मदन भण्डारीको जबज नेपाली राजनीतिमा प्रतिस्पर्धी नीति थिए ।
मेलमिलाप र जनताको बहुदलिय जनवादबाट राजतन्त्र फाल्न असम्भव छ भन्ने निचोड निकालेर नेकपा माओवादी पार्टी जन्माउदै माओवादको प्रयोग गर्ने व्यक्ति स्वयम् प्रचण्ड हुन् ।
बन्दुकको नालबाट मात्र सत्ता कब्जा गर्न सकिन्छ, राजतन्त्र फाल्न सकिन्छ भनेर २०५२ साल फाल्गुन महिनाबाट शसस्त्र युद्धको संघघोष गर्नुभो । १० वर्षे जनयुद्ध उत्कर्षमा पुग्नैलाग्दा एकाएक विस्तृत शान्ति सम्झौता गर्नुभो । १० वर्षे युद्धको समयमा सयौं बेपत्ता भए, हजारौं मारिए र दशौं हजार जनसेनाको पसिना बगे । फलस्वरूप नेपालमा जरो गाडेको शताब्दीऔंदेखि रहिआएको शाही राजतन्त्रको अन्त्य भयो र लोकतन्त्र हुँदै संघीय गणतन्त्र स्थापना हुन पुग्यो ।
कुनै समय प्रचण्डपथ बनाउन सफल व्यक्ति आज किन एकाएक जबज पश्चगमनको बाटो फर्किराखेका छन् ? १७ हजार सहिदको रगतले निर्देशित गरेको सिद्धान्त परिवर्तन गर्ने कुचेष्टा तपाईंले किन, कसरी, कस्का लागि गर्दै हुनुहुन्छ ? जनयुद्धकालका सहिद , बेपत्ता र पूर्वजनमुक्ती सेनाको अपमान गर्ने कुचेष्टा नगर्न म श्रद्धेय अध्यक्ष कमरेडलाई आग्रह गर्दछु ।
मदन भण्डारीको वहुदलिय जनवाद ठीक भएन भनेर क्रान्तिको नाउँमा बन्दुक बोक्न अपिल गर्नुभो । निर्दोष दशौं हजार सहिद भए, माओवाद स्थापित हुँदै गयो । तपाईं त्यही आफ्नो धरातल भुलेर जनताको वहुदलिय जनवाद ठिक भनेर भन्दै हुनुहुन्छ ? के एमालेका नेताले लडेर आएको हो यो परिवर्तन प्रचण्डजी ? जनयुद्ध, सहिद र बेपत्ता परिवारको कुरा कतै देखिएन तपाईंको ७ बुँदे सहमती पत्रमा । के अब ती सहिदहरु तपाइँलाई बोझ भएकै हो ? सहिदका परिवार तपाईलाई घाँडो भएकै हो ?
अन्तमा म तपाइँलाई स्पष्ट पार्न चाहन्छु, तपाईले आफ्नालाई पराई र पराइलाई आफ्नो देख्दै जानुभो भने तपाईंले वम बनाउन सिकाउनुभो । त्यै वम तपाईंतिर नपट्किएला भन्न सकिन्न । ढाडमा टेकेर टाउकेमा हान्ने नीति तपाईंतिर परिलक्षित नहोला भन्न सकिन्नँ ।
प्रलाद सिलवाल, सहिद परिवार (धादिङ)