मेरो घरमा छोरीहरू छन् । छिमेकीले पञ्च कन्या, लक्ष्मी भनेर बोलाउने गर्छन् । उनीहरू हुर्कँदै गएसँगै हामीभित्र डर पनि हुर्कँदै गएको छ ।
धेरै बेर पर्दैन एकैछिन आँखा चिम्लेर सोचौँ त अहिलेबढिरहेको बलात्कारका घटनामा पर्ने तपाईँ हाम्रै आफ्नै छोरीहरू हैनन् ? बालिका छोरी, बहिनी, पत्नी, भाउजु र छोरा नै पनि हुनसक्छन् पाशविक बलात्कारका सिकार ।
ओहो, सम्झँदामात्रै पनि छटपटी हुन्छ । घाँटीमा सास अड्केर मुटु फुट्लाजस्तो हुन्छ । हामी कल्पना गर्नै सक्तैनौ । बलात्कार शब्दलेमात्रै धेरै ठूलो पीडा बोध गराउँदैन वा भनौ त्यस्को भयावहतालाई बुझाउँदैन । तर, सो भोग्नेको मनमस्तिष्क कसरी चिथोरिन्छ भने त्यो घाउ र त्यो स्मृतिको दंशले सपनामा पनि झस्काउँछ । म एक महिला भएको सो पीडाको बोध गर्नसक्छु जस्तो लाग्छ । प्रायः महिलाहरूले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले शारीरिक हिंसाको अनुभव गरेकै हुन्छन् ।
डरको स्वरूप र बालबालिकाको मनोवृत्ति कस्तो हुन्छ भने हिंसा भए पनि उनीहरू बोल्न सकिरहेका हुँदैनन् । कति त कति अबोध हुन्छन् भने आफूसँग के भइरहेको छ भन्नेसम्म पनि तिनलाई थाहा हुँदैन ।
कतिसम्म हुन्छ भने एउटा दर्जीले स्कुलको सर्ट वा स्कर्टको नाप लिने बेलामा हिंसा गर्छ, खलासीले बसभित्र, शिक्षकले विद्यालयमा, हाकिमले अफिसमा, सडक काट्ने बेला होस् वा मेला र भिडमा महिलामाथि हिंसा भएको घटना बाहिर आइरहेकै हुन्छ । महिला अधिकारकर्मीले चलाएको सुरक्षित सहर भन्ने कार्यक्रमको अनुगमनबाट यस्ता हिंसाको पुष्टि गरेको थियो । यस्ता घटनाले गाउँसहर भन्दैन । के तपाईंले केटी वा वयस्क महिलालाई आफ्नो स्तनलाई कापीकिताब वा हातले जोगाएर हिडेर देख्नु भएको छ ? खचाखच बसभित्र बाङ्खो उभिएर महिलाहरुले यात्रा गरेको देख्नु भएको छ ?
शृंखलाबद्धरूपमै सामूहिक बलात्कारका घटना यति बेला मिडियामा प्रमुखता पाइरहेका छन् । चोक र टोलटोलमा पनि लगातारको यस घटनाले चर्चा पाइरहेको छ । समाचार पढेर खासखुस मात्र नभएर घृणा वा आक्रोश पनि बढेको सहजै देख्न सकिन्छ ।
सुरक्षा गर्नुपर्ने प्रहरीले लेनदेनमा बलात्कारीलाई जोगायो, गुपचुपको लेनदेनका आधारमा बलात्कारको घटना लुकाइदैँछ भन्ने समाचारले रक्षकहरूको व्यवहार उदांगो बनाएको छ । हाम्रो बढ्दो असुरक्षाको मापन समेत गरेको छ ।
भक्तपुरमा एक सातामा बलात्कारको पाँच घटना भएको छ । दरबारमार्ग बलात्कार प्रकरणमा इन्स्पेक्टर निलम्वित भएको समाचार सबैतिर पैmलियो । त्यस्तै इटहरीको सामूहिक बतात्कार प्रकरणमा महिला अधिकारकर्मी विरोधमा गर्दै सडकमा उत्रेपछि एसपी र इन्सपेक्टर निलम्वित भएको समाचार आयो र सबभन्दा डरलाग्दो खबर ललितपुर सामूहिक बलात्कारको घटनामा न्यायालयको फैसलाले पीडकलाई सफाइ दिएको आएको थियो ।
यी समाचारको सत्यतथ्यले अभिभावकहरूमा वास्तवमा एक प्रकारको नजानिदो डर पनि उत्पन्न भइरहेको छ । आस्थाको केन्द्र मानिने न्यायालयले नै बलात्कारलाई सामान्य ठानेर पीडकलाई उन्मुक्ति दिने हो भने कसको भर पर्ने ? सो घटनापछि पीडकहरू हैनपीडित महिला र उनका पतिले गाउँ नै छोड्ने निर्णय गरेको समाचार आएको छ ।
ललितपुरमा कार्यालयबाट घर फर्किरहेकी महिलामाथि बाटैमा सामूहिक बलात्कार भएको थियो । त्यसोत, शिक्षकले विद्यार्थीलाई महिनौ यौन शोषण गर्छन् । बाउले छोरी, दाइले बहिनी, मामा, काको समेत यौन शोषण गरेको समाचार आइरहन्छन् । हामी कति असुरक्षामा बाँचेका छौँ !
छोरीहरू स्कुलबाट घर फर्किन ढिला भयो भने डरले आमाहरूलाई ऐठन हुन्छ । अझ आफैं बाहिर काम गर्ने आमाहरूले छोरीलाई कसरी जोगाउने ? बसमा, कार्यालयमा कतै पनि सुरक्षाको ग्यारेन्टी छैन । हामी आफ्नै घर र समाजभित्रै सबभन्दा धेरै असुरक्षित छौँ । त्यसमाथि हालै नेपाल प्रहरी र न्यायालयमा बलात्कारको घटनामा देखिएको संवेदनहीनताले असुरक्षा अझ कसिलो र बाक्लो बनाएको अनुभूति हुँदै गएको छ ।
यौनिकताको बोध नै नभएका बालिकालाई समेत फलानोको काँखमा नजानू भनेर सिकाए पनि किन भन्ने कुरा संभवतः सिकाउँदै जानुपर्ने भएको छ । सबै मान्छे नराम्रा त हुँदैनन् तर नराम्रासँग जोगाउनै पर्ने हुन्छ । छोरीहरूको प्रत्येक लक्षणको गहिरो अध्ययन गर्नुपर्ने बेला भएको छ । उनीहरूलाई कसैले गुप्तांगमा छोयो भने नडराई नलजाई बोल्ने वातावरण बनाउनुु आवश्यक छ । कम्तीमा आफ्ना अभिावकसँग नडराई सबै कुरा भन्नसक्ने संस्कृति बनाउनुपर्ने भएको छ । अब हामी आफैँ अभियानमा लाग्नुपर्ने होइन र ?