काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् । परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेशसचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका निम्ति आज काठमाडौं आएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ देखि असोज १ गतेसम्म हुन लागेको भारत भ्रमणको तयारी र औपचारिक निमन्त्रणा लिएर उनी काठमाडौं आइपुगेको बताइएको छ । भारतीय विदेश सचिव मिश्रीले आजै प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । त्यसपछि उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
भारतीय विदेश सचिव मिश्रीले आइतबार नै परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेट गर्ने कार्यक्रम छ । आइतबार नै मिश्री नेपाल–भारत सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साँझ होटेल सोल्टीमा हुनेछ ।
बैठकमा दुई विदेश सचिवहरूले कनेक्टिभिटी, विकास, सहयोग र पारस्परिक हितका अन्य मामिलाहरूमा केन्द्रित रहेर नेपाल–भारत साझेदारीका विभिन्न पक्षहरूमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहँदा मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश सचिव मिश्री सोमबार दिउँसो १ बजे स्वदेश फर्कने कार्यक्रम छ ।