
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको शिखर सम्मेलनमा भाग लिएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको ह्वाइट हाउसले जनाएको छ । ट्रम्पले शनिबार बिहान नेटो नेताहरूसँग पनि फोनमा लामो कुराकानी गरेका छन् ।
यसअघि, अलास्कामा ट्रम्प र पुतिनबीच भएको सम्मेलनमा कुनै सम्झौता हुन सकेको थिएन । दुवै नेताहरूबीच करिब तीन घण्टा भएको बैठकमा के सहमति भयो भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।
पुटिनले बैठकपछि दुवै नेताहरूले युक्रेनमा एक सहमति बनाएको बताएका छन् । पुटिनले युरोपलाई शान्तिका प्रयासलाई बाधा नपुर्याउन चेतावनी पनि दिए ।
ट्रम्पले जबसम्म केही अन्तिम रूपमा तय हुँदैन, तबसम्म कुनै सम्झौता मान्न सकिँदैन भनेका थिए । अलास्काबाट प्रस्थान गर्नुअघि फक्स न्युज च्यानलसँगको कुराकानीमा ट्रम्पले युद्धविरामको मामिलामा अघि बढ्ने जिम्मेवारी युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भएको र उनले यसलाई पूरा गर्नुपर्ने तर युरोपेली देशहरूको पनि केही भागीदारी हुने बताएका थिए ।
जेलेन्स्कीले आफूले अर्को हप्ता वासिङटनमा ट्रम्पसँग भेटघाट गर्ने शनिबार बताएका छन् ।
पुटिनसँगको भेटपछि ट्रम्पले जेलेन्स्की र युरोपेली नेताहरूसँग फोनमा लामो कुराकानी गरेका थिए । उक्त कुराकानीपछि नै जेलेन्स्कीले अमेरिका गएर ट्रम्पसँग भेट्ने इच्छा गरेका थिए । शनिबार ट्रम्पसँग लामो र अर्थपूर्ण कुराकानी भएको जेलेन्स्कीले बताएका छन् ।
उनले सोमबार वासिङटनमा व्यक्तिगत रूपमा भेट्ने निमन्त्रणाका निम्ति ट्रम्पलाई धन्यवाद दिँदै उनीहरूले युद्ध समाप्त गर्नेसम्बन्धी सबै विवरणमा छलफल गर्ने बताए ।
तर, जेलेन्स्कीले सम्झौतामा युरोपलाई समावेश गर्ने महत्त्वमा जोड दिए । युरोपेली आयोगकी प्रवक्ता एरियाना पोडेस्टाले ट्रम्पले जेलेन्स्की, जर्मन चान्सलर फ्रेडरिक मर्ज, फ्रान्सेली राष्ट्रपति इम्यानुएल माक्रोँ, ब्रिटिस प्रधानमन्त्री किएर स्टार्मर, इटालियन प्रधानमन्त्री जर्जिया मेलोनी, फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टब, पोल्याडका राष्ट्रपति कारोल नवरोकी, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र नाटो महासचिव मार्क रुटसँग कुराकानी गरेका थिए । यद्यपि, उनले कुराकानीको कुनै विवरण दिएनन् ।
युद्ध समाप्त गर्ने राम्रो तरिका सिधै शान्ति सम्झौता
यसैबीच, अमेरिकाका राष्ट्रपति ट्रम्पले रुसी समकक्षी पुटिनसँग अलास्का बैठकपछि युक्रेनमा जारी युद्ध समाप्त गर्ने सबैभन्दा राम्रो तरिका सिधा एक शान्ति सम्झौता गर्नु उत्तम भएको बताए । उनका अनुसार, केवल युद्धविराम गरेर मात्र काम चल्दैन ।
युक्रेन र युरोपेली नेताहरूसँग कुराकानीपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल पोस्टमा लेखेका छन्, “सबै नेताहरूको मान्यता के छ भने रुस र युक्रेनबीच जारी भयानक युद्ध समाप्त गर्ने सबैभन्दा राम्रो तरिका सिधा एक शान्ति सम्झौता गनु हो । केवल युद्धविरामको सम्झौता गरेर प्रायः शान्ति टिक्दैन ।”
ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्की सोमबार ह्वाइट हाउसमा उनलाई भेट्न आउँदै गरेका पनि बताएका छन् । सबै कुरा ठिक भए त्यसपछि पुटिनसँग पनि आफ्नो एक बैठकको मिति तय गर्ने उनको भनाइ छ ।
ट्रम्पले ट्रुथ सोसलमा के भने ?
ट्रम्पले लेखेका छन्, “अलास्कामा सानदार र धेरै सफल दिन भयो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको बैठक धेरै राम्रो भयो । त्यसैगरी, युक्रेनका राष्ट्रपति जेलेन्स्की र धेरै युरोपेली नेताहरूसँग राति फोनमा राम्रो कुराकानी भयो, जसमा सम्मानित नेटो महासचिव पनि समावेश थिए । सबैले मिलेर रुस र युक्रेनबीच चलिरहेको भयानक युद्ध समाप्त गर्ने सबैभन्दा राम्रो तरिका सिधा एक शान्ति सम्झौता गर्नु हो, किनभने केवल युद्धविराम गरेर प्रायः अवस्था फेरि बिग्रन्छ, त्यसैले स्थायी समाधानका लागि शान्ति सम्झौता आवश्यक छ ।” एजेन्सीहरू