site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले नर्वेका मन्त्रीसँग नोबेल शान्ति पुरस्कार चाहेको भन्दै फोनवार्ता गरेको खुलासा !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका अर्थमन्त्रीसँग आफूले नोबेल शान्ति पुरस्कार चाहेको बताएको खुलेको छ । गत महिना ट्यारिफ (भन्सार कर)बारे छलफल गर्न फोन गर्दा उनले नोबेल शान्ति पुरस्कार प्राप्त गर्न चाहेको पनि बताएको नर्वेको दैनिक पत्रिका डागेन्स नेरिंग्सलिभले दाबी गरेको छ ।

इजरायल, पाकिस्तान र कम्बोडियालगायत धेरै देशले ट्रम्पलाई शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थताका लागि मनोनयन गरेका छन् ।

यसअघि, चार पूर्वअमेरिकी राष्ट्रपतिले नोबेल शान्ति पुरस्कार प्राप्त गरिसकेका छन् । नोबेल शान्ति नर्वेले प्रदान गर्छ ।

“अचानक, अर्थमन्त्री जेन्स स्टोल्टेनबर्ग ओस्लोको सडकमा हिँडिरहेका बेला डोनाल्ड ट्रम्पको फोन आयो,” पत्रिकाले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, “उनले नोबेल पुरस्कार चाहेको र ट्यारिफबारे छलफल गर्न चाहेको बताएका थिए ।”

यसबारे रोयटर्सले टिप्पणी गर्न अनुरोध गर्दा स्टोल्टेनबर्गले फोन ट्रम्पले नर्वेका प्रधानमन्त्री जोनास स्टोरेसँग कुराकानी गर्नुअघि ट्यारिफ र आर्थिक सहकार्यबारे छलफल गर्न गरेको बताइएको छ । “म कुराकानीको थप विवरणमा जाँन चाहन्नँ,” उनले थपे ।

स्टोल्टेनबर्गले फोनमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरसहित ह्वाइट हाउसका धेरै अधिकारीहरू सहभागी भएको बताए । ह्वाइट हाउस र नर्वेजियन नोबेल समितिले टिप्पणीका लागि अनुरोधको जवाफ दिएनन् ।

नोबेल पुरस्कारका लागि प्रत्येक वर्ष सयौँ उमेदवार मनोनयन हुने गर्छन् । नोबेल पुरस्कार विजेताको घोषणा अक्टोबरमा ओस्लोमा हुन्छ ।

नर्वेजियन समाचारपत्रले ट्रम्पको आग्रह पहिलोपटक नभएको बताएको छ । यसअघि, ट्रम्पले नेटो सैन्य गठबन्धनका पूर्वमहासचिव स्टोल्टेनबर्गसँग कुराकानीमा यो पुरस्कारको कुरा उठाएका थिए ।

ह्वाइट हाउसले जुलाई ३१ मा नर्वेबाट आयातमा १५ प्रतिशत ट्यारिफ घोषणा गरेको थियो, जुन युरोपेली संघजस्तै हो । स्टोल्टेनबर्गले बुधबार नर्वे र संयुक्त राज्य अमेरिकाबीच ट्यारिफबारे वार्ता जारी रहेको बताएका छन् ।

रोयटर्सबाट ।

 

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्