site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अलास्का वार्तामा बेवास्ता गरिएका थकित युक्रेनीलाई अन्यायपूर्ण युद्धविरामको डर

काठमाडौं । युद्धको मैदानमा युक्रेनी सैनिकको जीवनका लागि सबैभन्दा ठूलो खतरा बनेको ड्रोनसँग जुध्नका लागि सञ्चालन गरिएको नयाँ तालिमलाई ड्रोनोसाइड भनिन्छ । युक्रेनले जनाएअनुसार, रुसबाट प्रहार भएका यी मेसिनहरूले अग्रपंक्ति ढाकेका छन् र युक्रेनमा सबैभन्दा धेरै हताहती निम्त्याएका छन् ।

यदि, डोनाल्ड ट्रम्पले शुक्रबार अलास्कामा हुने शिखर सम्मेलनमा भ्लादिमिर पुटिनलाई युद्धविरामका लागि सहमत गराउन सकेनन् भने पूर्वी युक्रेनमा दिइँदै गरेको यो तालिम लडाइँको मोर्चामा अग्रपंक्तिमा रहेका सेनाको जीवन बचाउनका लागि अत्यावश्यक हुनसक्छ ।

लडाइँका लागि भइरहेको यो निरन्तर तयारीले युक्रेनमा थोरैले मात्र यो युद्ध चाँडै रोकिन्छ भन्ने अपेक्षा गरेको देखाउँछ । तालिम खासै परिष्कृत छैन । उनीहरूको रक्षाका लागि एउटा सटगन छ । सैनिकहरू तीव्र गतिमा चल्ने लक्ष्यहरूमा पहिले जमिनबाट र त्यसपछि हिँड्दै गर्दा प्रहार गर्ने अभ्यास गर्छन् । उनीहरूका अनुभवी प्रशिक्षक इहोरका अनुसार, नजिकको दूरीमा ड्रोन खसाल्नका लागि हाल सटगन नै सबैभन्दा प्रभावकारी माध्यम हो ।

इहोर सन् २०१४ देखि युक्रेनको पूर्वी मोर्चामा लडिरहेका छन्, जुन वर्ष रुसले अवैध रूपमा क्राइमियालाई गाभेर डोन्बास क्षेत्रमा सेना पठाएको थियो । उनको सांकेतिक नाम द नाइफर हो । उनी सेनालाई लडाइँमा पनि तालिम दिन्छन् ।

इहोर विगत १० वर्षदेखि रूसी आक्रमण रोक्न मद्दत गर्ने प्रयासमा छन् । भूमि सट्टापट्टाको हिस्साको रूपमा युक्रेनले आफ्नो भूभाग छोड्नुपर्नेछ भन्ने कुनै पनि सुझावप्रति उनी आक्रोशित हुन्छन् ।

“मेरा सबै सहकर्मीहरू यसका लागि तयार छौँ,” उनी भन्छन् । उनी आफ्नो भूभाग मुक्त नगरेसम्म लडाइँ जारी राख्न चाहको बताउँछन् । तर, केही युक्रेनी अग्रपंक्तिका एकाइहरूमा सैनिक संख्या निकै कम भएकाले यो सम्भव देखिँदैन ।

एक सैनिकले हामीलाई भने कि थप सेना परिचालन गर्ने नयाँ प्रयासहरू विनाशकारी भएका छन् । उनीहरूलाई अझै पनि हतियार र संख्या दुवैमा रुसभन्दा कमजोर छन् थाहा छ । 

युक्रेनी सैनिक आफूहरू थाकेको र जमिन गुमाइरहेको पनि स्वीकार गर्छन् । यो एक निर्विवाद तथ्य हो । तर, यो तालिमले उनीहरूले हार मानेका छैनन् भन्ने देखाउँछ ।

सटगन चलाउने सीप तिखारिरहेका सैनिकहरूमध्ये एक ओलेक्सीले युद्धमा आफ्नो बुवा र साथीहरू गुमाइसकेका छन् ।

युद्ध कुनै न कुनै रूपमा रोकिनुपर्ने उनी स्वीकार गर्छन् । तर, युक्रेनले थप भूभाग रुसलाई सुम्पिने सुझावका बारेमा उनी सहमत छैनन् ।

युक्रेनी सेनाका अनुसार, रुसले पनि ठूलो क्षति व्यहोरिरहेको र हरेक दिन करिब एक हजार सैनिक मरिरहेका वा घाइते भइरहेका छन् । रुसका स्रोतहरू पनि बिस्तारै सकिँदै छन् ।

रुसी सेनाको अग्रपंक्तिको यो विचार युक्रेनका सहरहरूमा पनि प्रतिविम्बित हुन्छ । नागरिकले पनि यो युद्धको परिणाम अझ प्रत्यक्ष रूपमा भोगिरहेका छन् । गत महिना रुसले युक्रेनमा ६ हजारभन्दा बढी ड्रोन प्रहार गरेको थियो । सन् २०२४ जुलाईमा यो संख्या निकै कम ४०० भन्दा अलिकति बढी थियो ।

राजधानी किभको सडकमा भेटिएका युक्रेनी युद्धको अन्त्य चाहन्छन् भन्नेमा कुनै शंका छैन । अर्का एक बटुवा भोलोदिमिर ट्रम्प र पुटिनबीचको वार्ताको सम्भावनालाई लिएर निराश छन् । किनभने, युक्रेनले युद्धविरामको बदलामा सायद थप भूभाग छोड्नुपर्नेछ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अलास्कामा युक्रेनको आवाज नसुनिने भएकोमा आफ्नो निराशा व्यक्त गरिसकेका छन् । उनले युक्रेनी भूभाग नसुम्पिने कुरा पनि स्पष्ट पारेका छन् । तर, केही हालैका सर्वेक्षणले धेरै युक्रेनीले शान्तिका लागि भूमि त्याग गर्नुपर्ने तथ्यलाई स्वीकार्न थालेका छन् ।

तर, मूल कुरा थोरैले मात्र रुस साँच्चै शान्ति चाहन्छ भन्ने विश्वास गर्दैनन् । युक्रेनको विदेश मामिला समितिका अध्यक्ष तथा सांसद ओलेक्सान्डर मेरेज्को अलास्का बैठकलाई पुटिनका लागि एउटा पीआर स्टन्ट मात्र ठान्छन् ।

“पुटिनसँग सम्झौता गर्ने कुनै इच्छा छैन,” मेरेज्को भन्छन्, “उनलाई के लाग्छ भने उनले युद्ध जितिरहेका छन् । उनी पछि हट्ने छैनन् ।”

तर, धेरै युक्रेनीले आफ्नो घर र जीवन गुमाइसकेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार, देशमा १३ हजारभन्दा बढी नागरिक मारिएका छन्, जबकि ३५ लाख युक्रेनी आफ्नो घर छाड्न बाध्य भएका छन् ।

ती विस्थापितमध्ये ५०० भन्दा बढी मानिस अहिले राजधानीबाहिरको एक अस्थायी गाउँमा बसिरहेका छन् । उनीहरूका नयाँ घरहरू इँटा र सिमेन्टका सट्टा धातुका कन्टेनरहरू हुन् । धेरैजसो पूर्वमा लडाइँबाट भागेका वृद्धवृद्धाहरू छन् । त्यहाँ बालबालिकाका लागि एउटा सानो खेल्ने ठाउँ छ, जसले सायद आफू जन्मेको सहर र गाउँ कहिल्यै देख्ने छैनन् । उनीहरूका पुराना घरहरू अब कब्जा गरिएका क्षेत्रमा छन् ।

७८ वर्षीय हेनाडीले आफूले आफ्नी आमाको चिहान फेरि कहिल्यै देख्न नपाउने बताउँदा उनको अनुहार आँसुले भरिन्छ । उनी आफूले पछाडि छाडेका कुरा अझै पनि सम्झन्छन् । “मलाई त्यहाँ माछा मार्न मन पर्थ्यो, मेरो एउटा सानो जमिनको टुक्रा, मेरा अंगुर र ओखरको रुख थियो,” उनी भन्छन्, “र, अब त्यो अस्तित्वमा छैन ।”

“हामीले यहाँ कुरा गरेका कसैले पनि राष्ट्रपति ट्रम्प र पुटिनबीचको वार्तामा धेरै विश्वास व्यक्त गर्दैनन् । ती वार्ताहरूपछि केही राम्रो हुनेछ भन्ने मलाई धेरै आशा छैन,” आफ्नो परिवारको घर गुमाएकी १८ वर्षीया छात्रा भलेरिया भन्छिन् ।

अलास्कामा ट्रम्प र पुटिनले युक्रेनको भविष्यबारे युक्रेनी प्रतिनिधित्वबिना र उनीहरूलाई बेवास्ता गर्दै वार्ता गर्दै छन् । युक्रेनले बिस्तारै यो युद्ध हारिरहेको हुनसक्छ, तर यो अझै पराजित भएको छैन । यसले अरू कसैलाई पनि युक्रेनले स्वीकार गर्न नसक्ने शान्ति सम्झौता लाद्न गाह्रो बनाउँछ । बीबीसीबाट ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्