
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको भेटघाटअघि रुस युक्रेनमा युद्धविरामका लागि सहमत नभए रुसलगायत उसको तेल खरिददारहरूले निकै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । ट्रम्प र पुटिनको भेटघाट स्थानीय समयानुसार अगस्त १५ (आज)मा अमेरिकाको अलास्का राज्यमा हुँदै छ ।
यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भारतमाथि थप ट्यारिफ (कर) बढाउन सक्ने चेतावनी दिएका छन् । भारत रुसको दोस्रो ठूलो तेल खरिदकर्ता हो । भारतमाथि ट्यारिफ लगाउँदा रुसी अर्थतन्त्र प्रभावित हुने र पुटिनमाथि दबाब सिर्जना गर्न सकिने ट्रम्पको तर्क छ ।
बेसेन्टले बुधबार ब्लुमबर्ग टीभीलाई दिएको अन्तर्वार्तामा अमेरिकाले रुसबाट तेल खरिद गर्ने भारतमाथि दोस्रोस्तरको ट्यारिफ लगाएको तर वार्ता ठिक तरिकाले अगाडि नबढे थप प्रतिबन्ध वा दोस्रो करहरू बढ्न सक्ने बताए । यो महिनाको सुरुमा ट्रम्पले रुसबाट तेल खरिद गरेका कारण भारतमाथि पहिलेदेखि लाग्दै आएको २५ प्रतिशत ट्यारिफमा थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।
ट्रम्पले बुधबार वासिङटन डीसीको केनेडी सेन्टरमा पत्रकारहरूसँग कुरा गर्दै पुटिनसँग प्रत्यक्ष भेटघाटपछि पनि उनलाई युक्रेनमा नागरिकको हत्या रोक्न राजी गराउने अवस्था नआउन सक्ने बताएका थिए ।
यसअघि, ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र युरोपेली नेताहरूसँग भर्चुअल बैठक गरेका थिए । यो बैठकमा ट्रम्पले युरोपेली नेताहरूलाई पुटिनसँगको भेटघाटको मुख्य एजेन्डा रुस–युक्रेनबीच युद्धविराम गराउनु रहेको बताएका थिए । बीबीसी हिन्दीबाट ।