
काठमाडौं । रूस र युक्रेनबीचको युद्ध सुरु भएको तीन वर्षभन्दा बढी समय भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक यो युद्ध अन्त्य गर्ने दाबी गर्दै आएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै चरणको टेलिफोन वार्तापछि ट्रम्प उनलाई भेट्न अलास्का जाँदै छन् । यो भेटलाई लिएर विश्वभर ठूलो अपेक्षा व्यक्त गरिएको छ । तर, ट्रम्पले एक पत्रकार सम्मेलनमा रूससँग कुनै सम्झौताका निम्ति युक्रेनले आफ्नो जमिनको केही हिस्सा छोड्नुपर्ने बताए ।
यता, भेटअघि रूसले युक्रेनका धेरै क्षेत्रमा सैन्य कारबाही तीव्र पारेको र ठूलो भूभाग कब्जा गरेको छ । यो घटनाक्रमबीच अगस्ट १५ मा अलास्कामा हुने ट्रम्प र पुटिनको भेटको एजेन्डा, युक्रेनको जमिनको सम्झौता र युक्रेनको आत्मसमर्पणप्रतिको उसको धारणा बुझ्नु महत्त्वपूर्ण हुन्छ ।
ट्रम्पले पुटिनसँगको वार्तामा के प्रस्ताव उल्लेख गरे ?
ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले युक्रेनले आफ्नो गुमेको भूभाग फिर्ता चाहन्छ भने उसले रूसलाई केही जमिन दिनुपर्ने बताए । उनले पुटिनले कुनै उपयुक्त प्रस्ताव दिएमा युरोपेली नेतालाई जानकारी दिने र पहिले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई बताउने उल्लेख गरे ।
उनले युक्रेनका तर्फबाट सम्झौता गर्ने जिम्मेवारी आफ्नो नभएको पनि स्पष्ट गरे । पुटिनको प्रस्तावपछि उनी कि त सबै पक्षलाई शुभकामना दिनेछन् या लडाइँ जारी राख्न भन्नेछन् वा सम्झौतामा पुग्न सुझाव दिनेछन् ।
रूस युद्धविराममा सहमत भए युक्रेनले कुन जमिन छोड्नुपर्छ ?
अमेरिकी मिडियाका अनुसार, ह्वाइट हाउसले युरोपेली नेताहरूलाई उत्तरी युक्रेनको डोनबास क्षेत्रमा रूसको कब्जा स्वीकार गर्न मनाउन खोजिरहेको छ । साथै, रूसले सन् २०१४ मा कब्जा गरेको क्रिमिया क्षेत्रमा आफ्नो स्वायत्तताको मान्यता मागिरहेको छ । अमेरिका यो विषयमा सहयोगी देशहरूसँग छलफलमा छ ।
रूसको लक्ष्य डोनबासका डोनेत्स्क र लुहान्स्क क्षेत्रमा आफ्नो पकड बलियो बनाउनु हो, किनभने यी औद्योगिक केन्द्र र प्राकृतिक स्रोतले भरपूर छन् । केही समयअघि अमेरिका स्वयं यी क्षेत्रका खनिज स्रोतका निम्ति युक्रेनसँग सम्झौता गर्न विचार गरिरहेको थियो ।
पूर्वसोभियत संघको केजीबी एजेन्ट रहेका पुटिनले रूसको प्रभाव पुरानो सोभियत सीमासम्म पुर्याउने चाहना बारम्बार व्यक्त गरेका छन् । उनले सोभियत संघको पतनलाई २०औँ शताब्दीको ठूलो त्रासदी भनेका छन् ।
रूस कुन क्षेत्र छोड्न तयार हुनसक्छ ?
ट्रम्पको टोली र क्रेमलिनबीचको वार्तापछि तयार गरिएको योजनाअनुसार यदि पुटिन सम्झौतामा सहमत भए रूसले जापोरिज्जिया र खेर्सनका कब्जा गरिएका क्षेत्रबाट सेना फिर्ता गर्न सक्छ । तर, यसको विस्तृत योजना अझै सार्वजनिक भएको छैन ।
रूसी मामिलासम्बन्धी ‘थिंक ट्यांक’ आरयूएसआईका सैन्य विज्ञान निर्देशक म्याथ्यु स्याभिलका अनुसार, युक्रेनले जापोरिज्जियाको परमाणु ऊर्जा केन्द्र फिर्ता चाहन्छ, किनभने यो प्लान्टले उसको अधिकांश ऊर्जा आवश्यकता पूरा गर्छ ।
युक्रेनले सुमी र खार्किभनजिकका कब्जा गरिएका क्षेत्र पनि रूसले छोडोस् भन्ने चाहन्छ, जसले उसको उत्तरी सीमाको स्थिति बिग्रनबाट जोगिन्छ ।
पुटिनले युक्रेनलाई नाटो र युरोपेली संघको सदस्य नबनाउने सर्त पनि राख्न सक्छन्, जसले क्षेत्रमा रूसको हित सुरक्षित रहोस् ।
यदि, पश्चिमा देशले यी सर्त माने यो रूसको ठूलो जित मानिनेछ । किनभने, पुटिनले युक्रेनको ठूलो हिस्सा र कब्जाको मान्यता प्राप्त गर्नेछन्, जुन आर्थिक रूपमा फाइदाजनक हुनेछ ।
युक्रेन र युरोपको धारणा के छ ?
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले यो भेट र रूसका सर्तहरूको खुलेर विरोध गरेका छन् । युरोपेली संघले पनि युक्रेनको सहभागिताबिना कुनै सम्झौता सम्भव नभएको जनाएको छ ।
“युक्रेनको शान्तिको बाटो युक्रेनबिना सम्भव छैन । हामी अन्तर्राष्ट्रिय सीमाहरूलाई बलपूर्वक परिवर्तन गर्न नदिने प्रतिबद्धतामा छौँ । जहाँ युद्ध छ, त्यहाँको अवस्थाबारे पहिले वार्ता हुनुपर्छ,” फ्रान्स, जर्मनी, पोल्यान्ड, बेलायत, इटाली, फिनल्यान्ड र युरोपेली आयोगको संयुक्त वक्तव्यमा भनिएको छ ।
जेलेन्स्कीले भने, “हाम्रो सहभागिताबिना कुनै निर्णय मृत हुनेछ, त्यसले कुनै काम गर्दैन ।”
उनले पुटिनले अमेरिकालाई प्रभावित गर्न मात्र यो भेटमा सहभागी भएको दाबी गरे ।
पर्दापछाडि अमेरिकाले युक्रेनसँग गरेको कुराकानीअनुसार, यदि ट्रम्प–पुटिनबीच युद्धविराम सम्झौता भएमा युक्रेनले पश्चिमा देशबाट सुरक्षा ‘ग्यारेन्टी’ र रूससँग ‘बफर जोन’ बनाउने माग गर्नेछ, जसले युरोप र अमेरिकालाई युक्रेनको सुरक्षाका निम्ति समयमै कदम चाल्न सहयोग गर्नेछ । एजेन्सीहरूको सहयोगमा