
काठमाडौं । अमेरिकी ट्यारिफको मुद्दामा भारत र अमेरिकाबीचको तनाव चुलिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफको मुद्दा नसुल्झिएसम्म दुई देशबीच व्यापार वार्ता नहुने स्पष्ट पारेका छन् ।
यो भनाइ अमेरिकाले भारतमाथि २५ प्रतिशत ट्यारिफ र रुसबाट रक्षा सामग्री खरिदका कारण थप २५ प्रतिशत गरी कुल ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगाएको बेला आएको हो ।
यता, भारतले पनि आफ्ना किसानहरूको हितमा कुनै सम्झौता नगर्ने स्पष्ट गरेको छ ।
ओभल अफिसमा ट्रम्पलाई ‘५० प्रतिशत ट्यारिफको घोषणापछि व्यापार वार्तामा के प्रगति हुने अपेक्षा गर्नुहुन्छ ?’ भनी सोधिएको थियो । यसमा जवाफ दिँदै ट्रम्पले भने, “होइन, जबसम्म हामीले यो मुद्दाको समाधान गर्दैनौँ, तबसम्म त्यसको कुनै आशा छैन ।”
भारत र अमेरिकाबीच व्यापार सम्झौताका लागि ट्रम्पले वार्ता राष्ट्रपति पद सम्हालेको करिब एक महिनापछि फेब्रुअरीमा सुरु भएको थियो । अर्थात्, भारत ती सुरुआती देशहरूमध्ये एक थियो, जसले अमेरिकासँग चाँडोभन्दा चाँडो व्यापार सम्झौतालाई प्राथमिकता दिएको थियो । हालसम्म दुई देशबीच पाँच चरणको वार्ता सम्पन्न भइसकेको छ ।
दुवै देशले व्यापार वार्ताका लागि आफ्ना प्रतिनिधिमण्डलहरूको घोषणा पनि गरेका थिए । यद्यपि, पछिल्ला पाँच महिनामा पाँच बैठकहरू भए पनि भारत र अमेरिकाले सम्झौता गर्न सकेका छैनन् । छैटौँ चरणको वार्ताका लागि अमेरिकी टोलीले आगामी अगस्त २५ मा भारत भ्रमण गर्ने बताइएको छ । पाँचौँ चरणको वार्तापछि सरकारी स्रोतहरूले टोली अगस्टको अन्त्यमा आउने जानकारी दिएका थिए ।