
काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी र विदेश जाने आफ्ना ग्राहकका लागि भ्वाइस ओभर लङ टर्म इभोल्युसन (भोल्टे) अन्तर्राष्ट्रिय रोमिङ सेवा सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी एनसेल बनेको छ । अब एनसेलका ग्राहकले विदेशमा पनि स्पष्ट आवाजमा कल गर्न र उच्च गतिको डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।
एनसेलले पहिलेदेखि नेपाल आउने विदेशीलाई इनबाउन्ड भोल्टे रोमिङ सेवा दिँदै आएको थियो । अब सोमबारबाट भारत जाने आफ्ना ग्राहकका लागि एयरटेलसँगको साझेदारीमा आउटबाउन्ड भोल्टे रोमिङ सेवा पनि सुरु गरेको हो ।
भोल्टे प्रविधिले फोरजी नेटवर्कमार्फत उच्च गुणस्तरको एचडी आवाजसहित छिटो कनेक्ट हुने सुविधा दिन्छ । यसले भारत जानेलाई पहिलेको रोमिङ अफरभन्दा अझ परिस्कृत सेवा दिने एनसेलको भनाइ छ ।
कम्पनीले जापान, अमेरिका, चीन, क्यानडालगायत देशका प्रमुख सेवा प्रदायकहरूसँग आउटबाउन्ड रोमिङ सेवा परीक्षण गरिरहेको जनाएको छ । इनबाउन्डतर्फ एयरटेल, जियो (भारत), चाइना मोबाइल, ओरेडू (कुवेत), मोबिली (साउदी अरेबिया), एटी एन्ड टी (अमेरिका) र भियटेल (भियतनाम) का ग्राहकलाई सेवा दिँदै आएको छ ।
एनसेलले भविष्यमा अझ धेरै अन्तर्राष्ट्रिय नेटवर्कहरूसँग साझेदारी विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।