site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतले रुसको तेल किनेर युक्रेनविरुद्धको युद्धलाई सहयोग  गरिरहेको ट्रम्पको आरोप

काठमाडौं । अमेरिकाले रुसबाट तेल खरिद गरेर भारतले युक्रेनविरुद्धको युद्धलाई आर्थिक सहयोग गरिरहेको आरोप लगाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका एक वरिष्ठ अधिकारीले भारतमाथि रुसबाट तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धलाई आर्थिक पोषण गरेको आरोप लगाएका छन् ।

ह्वाइट हाउसका डेपुटी चिफ अफ स्टाफ र ट्रम्पका सबैभन्दा प्रभावशाली सहयोगीहरूमध्ये एक स्टीफन मिलरले भने, “भारतले रुसबाट तेल खरिद गरेर यो युद्धको वित्त पोषण जारी राखेको छ । उनले यो स्वीकार्य नरहेको ट्रम्पले स्पष्ट पारेको बताएका छन् । 

रोयटर्सका अनुसार, भारतले अमेरिकी धम्कीहरूको बावजुद रुसी तेल खरिद जारी राख्ने भएको छ । भारतले आफ्ना तेल रिफाइनरहरूलाई रुसी तेल खरिद बन्द गर्न कुनै निर्देशन दिएको छैन ।
 
ब्लूमबर्गको एक रिपोर्ट अनुसार, सरकारी र निजी दुवै रिफाइनरहरूलाई मनपर्ने स्रोतहरूबाट खरिद गर्न अनुमति दिइएको र कच्चा तेलको खरिद एक कमर्सियल निर्णय नै रहने बताइएको छ ।

मस्कोसँगको व्यापार बन्द गर्न अमेरिकाले नयाँ दिल्लीमाथि दबाब बनाइरहेको र यसका लागि उसले ट्यारिफको अस्त्र प्रयोग गरिरहेको एनडीटीभीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  ०८:४१
प्रतिक्रिया दिनुहोस्