site stats
बाह्रखरी :: Baahrakhari
विदेश
१० देखि १२ दिनभित्र युक्रेनसँग युद्धविराम गर्न पुटिनलाई ट्रम्पको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेन युद्धमा युद्धविरामका लागि नयाँ समयसीमा दिएका छन् । उनले दस वा बाह्र दिनभित्र सहमतिमा आउन आग्रह गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले शान्ति स्थापना कुनै प्रगति नभएको भन्दै अब थप समय कुर्नुको कुनै कारण नभएको बताएको समाचारमा उल्लेख छ ।

दुई हप्ताअघि ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न ५० दिनको समयसीमा दिएका थिए, अन्यथा रुसले कडा भन्सार करको सामना गर्नुपर्ने चेतावनी दिएका थिए ।

स्कटल्यान्डमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले नयाँ समयसीमाबारे सोमबार वा मंगलबार पुष्टि गर्ने बताए । उनले मस्कोमाथि थप प्रतिबन्ध र दोस्रो भन्सार कर लगाउने धम्की दोहोर्‍याए ।

यसअघि जुलाईमा उनले रुससँग व्यापार गर्ने कुनै पनि देशमाथि १०० प्रतिशत भन्सार कर लगाइने बताएका थिए । उनका अनुसार, यसले सामानलाई धेरै महँगो बनाउनेछ र अमेरिकी व्यवसायहरूले ती सामान अन्यत्रबाट सस्तोमा किन्न रुचाउने छन् । यसले रुस र त्यससँग व्यापार गर्ने देश दुवैको राजस्वमा भारी गिरावट ल्याउनेछ ।

स्कटल्यान्डमा बेलायतका प्रधानमन्त्री कियर स्टार्मरसँगको भेटपछि बोल्दै ट्रम्पले युक्रेनमा पुटिनका कार्यहरूप्रति असन्तुष्टि व्यक्त गरे । 

उनले पुटिनले आफूलाई ढाँटेको हो वा होइन भन्ने बताउन भने अस्वीकार गरे । तर, उनले रुसी राष्ट्रपतिको अभिव्यक्तिहरू र युक्रेनी सहरहरूमा लगभग हरेक रात हुने मिसाइल प्रहारबीचको भिन्नता उजागर गरे ।

“हामी युद्धविराम र शान्तिको कुरा गर्दै थियौँ । अचानक तपाईंले किभ र अन्य ठाउँमा मिसाइल उडिरहेको देख्नुहुन्छ,” ट्रम्पले भने ।

यसअघि ट्रम्पले भनेका थिए, “म अब वार्तामा चासो राख्दिनँ ।” यो वाक्य तुरुन्तै प्रमुख रुसी मिडिया आउटलेटहरूमा प्रकाशित भयो । 

यता, पुटिनले भने अहिलेसम्म कुनै पनि समयसीमाबारे टिप्पणी गरेका छैनन् । जब सुरुमा ५० दिनको समयसीमा घोषणा गरिएको थियो, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले यसलाई धेरै गम्भीर भन्दै मस्कोलाई यसको विश्लेषण गर्न समय चाहिने बताएका थिए ।

सोमबार दिउँसोको ताजा घटनाक्रममा, रुसी सांसद आन्द्रे गुरुल्योवले ट्रम्पको अल्टिमेटम अब अग्रमोर्चा र मस्को कतै पनि काम नलाग्ने बताएका थिए । बीबीसी

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्