site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
एनआरएनए अस्ट्रेलियामा कुँवरको प्यानल विजयी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर निर्वाचित भएका छन् । एनआरएनए अस्ट्रेलियाको २०२५–२७ कार्यकालका निम्ति शनिबार भएको निर्वाचनमा ६ हजार ८३९ मत प्राप्त गरी कुँवर अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

कुँवरका प्रतिस्पर्धी भैरव ढकालले तीन हजार ७२७ र सञ्जीव गोर्खाली ढकालले दुई हजार १२६ मत प्राप्त गरे । कुँवरको टिम पनि भारी मतान्तरले विजयी भएको छ ।

कुँवर विगत एक दशकभन्दा बढी समयदेखि एनआरएनए अस्ट्रेलियाको विभिन्न तहमा क्रियाशील छन् । अन्तर्राष्ट्रिय विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका कुँवरले अध्ययनसँगै सामाजिक सेवामा समेत रुचि राख्दै संस्थागत गतिविधिमा सक्रियता जनाउँदै आएका छन् ।

कुँवरले एनआरएनए अस्ट्रेलियालाई संस्थागत रूपमा बलियो, प्रविधिमैत्री बनाउने, आर्थिक पारदर्शिता कायम गर्ने तथा सरकारी संयोजनमार्फत नेपाली समुदायलाई सेवा पुर्‍याउने कार्यमा आफू निरन्तर क्रियाशील रहने बताए ।

एनआरएन अस्ट्रेलियाको उपाध्यक्षमा बबिन मिश्र, महासचिवमा चूडामणि सापकोटा, सचिवमा कल्याण खड्का, कोषाध्यक्षमा विजन चौलागाईं निर्वाचित भए ।

एनआरएन अस्ट्रेलियाका राज्य संयोजकमा एसीटीमा ललित मल्ल, एनएसडब्ल्यूमा उषा बारीया पोखरेल, भिक्टोरियामा महादेव धानुक, वेस्टन अस्ट्रेलियामा सुमन सन्जेल, साउथ अस्ट्रेलियामा थीर गुरुङ विजयी भए ।

यस्तै, आईसीसी सदस्यमा विष्णु तिवारी, राजेश केसी, साईवाल न्यौपाने, दीपक अधिकारी, हरिकृष्ण अधिकारी, दीपक बस्नेत, सुशील पोखरेल र निराजन पोखरेल विजयी भए । निर्वाचनमा एनएसडब्ल्यूका संयोजकबाहेक सबै पदाधिकारी र आईसीसी कुँवरको टिमबाट विजयी भएका हुन् ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्