
काठमाडौं । बंगलादेश वायुसेनाको एफ–७ बीजेआई ट्रेनर विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कुल परिसरमा दुर्घटनाग्रस्त भएको छ ।
प्रमुख सल्लाहकारका विशेष सहायक प्राध्यापक डा. सैदुर रहमानले विमान दुर्घटनामा १६ जनाको मृत्यु भएको र कम्तीमा १५० जना घाइते भएको बताएका छन् ।
घाइते सबैलाई ढाका मेडिकल कलेज नजिकै रहेको राष्ट्रिय बर्न एन्ड प्लास्टिक सर्जरी इन्स्टिच्युट, कुर्मिटोला अस्पताल, ढाका मेडिकल कलेज अस्पताल, कम्बाइन्ड मिलिटरी अस्पताल र उत्तरा मोडर्न लगायत विभिन्न अस्पतालहरूमा भर्ना गरिएको छ ।
माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामलका अनुसार स्कूल बन्द हुने बेलामा यो घटना भएको थियो । “एउटा लडाकु विमान सिधै भवनमा ठोक्किएको थियो । यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा क्षति गरेको छ । स्कुलको गेट पूर्ण रूपमा ध्वस्त भएको छ भने त्यसमा आगो पनि लागेको छ,” उनले भने ।
इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले एक विज्ञप्ति जारी गर्दै विमान सोमबार दिउँसो १ः०६ बजे उडेको जनाएको छ । उडान भरेको केही समयपछि, विमानले नियन्त्रण गुमाएको थियो र जमिनमा ठोक्किएको थियो ।
अग्नि नियन्त्रक सेवाका नौ वटा युनिट उद्धार कार्यमा संलग्न छन् । विमान दुर्घटनाको कारण बंगलादेश सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । बीबीसी हिन्दी