
म केटाकेटी छँदा
सातैजना हजुरबा र तिनका सपरिवार
दसैँमा मूलघरमा जम्मा भएर
बुढी हजुरआमाका हातबाट
टीका थापेको देखेथेँ
हामीजस्ता भन्ट्याङभुन्टुङको पालो त कहिले हो कहिले !
चुलामा तामाको खड्कुँलोमा छड्किएको भात
फलामे कराहीको तरकारी
पित्तलको कुँडेबाट उडिरहेको घिउको मगमग बास्ना
दारको ठेकीबाट बिर्को उचालिरहेको दहीको आवाज
यस्तैयस्तै धूमिल स्मृतिहरू !
यस्तैयस्तै स्वप्निल भोगाइहरू !
अलि वर्षपछि बुढीआमा बित्नुभयो
आमाको मृत्यु शोकमा
हजुरबाहरू रुँदा घर होइन गाउँ थर्किएको थियो
नांगो मुडुलो भएर घाट जाँदा
मलामी होइन एकता हिँडेको थियो
किरियापुत्रीहरू एउटै ओछ्यानमा सुत्दा
दाजुभाइ होइन विश्वास सुतिरहेको थियो
दिनहुँ घरदेखि थलोसम्म जाँदा
भातृशान्ति हिँडिरहेको हुन्थ्यो
यस्तैयस्तै समयका बाछिटाहरू !
यस्तैयस्तै अनुभूतिका रङहरू !
मान्छे हो, आखिर जन्मिन्छ र मर्छ
कोही बाँचेर मर्छन्
कोही मरेर बाँच्छन्
कोहीचाहिँ मर्नकै लागि बाँचेर मर्छन्
मेरा हजुरबा बाँचेरै मर्नुभयो
म सम्झन्छु,
बेलाबेलामा बसाइँ सर्ने वmुरा हुन्थ्यो
हजुरबा भन्नुहुन्थ्यो–
म मरेपछि बसाइँ जाओ
सुतेको ओछ्यान र मुतेको रछ्यान छोड्नेले दुःख पाउँछ बाबु !
बेलाबेलामा टाउकामा हात राखेर घोरिन्छु
अक्षर नचिन्ने मेरा हजुरबाले
यो दिव्यज्ञान कसरी पाउनुभयो होला ?
विद्यालय र विश्वविद्यालय पढ्नेहरूभन्दा
जीवन र जगत् पढ्नेहरू महान् हुँदा रहेछन्
किताबभन्दा अनुभव पढ्नेहरू सफल हुँदा रहेछन्
यस्तैयस्तै खुद्रा विचारहरू !
यस्तैयस्तै खण्डित दर्शनहरू !
अहिले तिनै सात हजुरबाका सन्तानहरू
एकले अर्कालाई देख्न सक्दैनन्
एकापसमा आउजाउ छैन
परस्परमा बोलचाल छैन
सबैसँग आआफ्ना गुनासा मात्र छन्
सम्बन्ध कसैसँग राम्रो छैन
केटाकेटी छँदा पुलिस देख्दा डराउने काका
ज्यानको सुरक्षा खातिर
पुलिससँग गुहार मागिरहेछन्
खर्चको गर्जो टार्न दिनरात हाड घोट्ने दाजु
मुद्दामा पैसाको खोलो बगाइरहेछन्
मचाहिँ सुरक्षाको घेराभित्र नियतिको हत्या देखिरहेछु
अदालतको प्रांगणमा रगतको पराजय देखिरहेछु
यस्तैयस्तै जीवनका खण्डहरहरू !
यस्तैयस्तै अभिमानका खाल्डाहरू !
यस्तो ठानिरहेछु कि वाचाल भएर
हजुआमासँगै चाडबाड सकियो
हजुरबासँगै सम्पत्ति सकियो
बा, काका र दाजुहरू नसकिँदै घर सकियो
घर नै सकिनेसँग बाँकी त के नै हुन्छ र,
अब त केवल घरको कविता मात्र बाँकी छ !