site stats
बाह्रखरी :: Baahrakhari
देश
उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सक आन्दोलन : विपक्षमा उभियो नेपाल बार

काठमाडौं । उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकले थालेको आन्दोलनमा नेपाल बार एसोसिएसनले विमति राखेको छ । अदालत र नागरिकबीचको संस्था नेपाल बारले आइतबार विज्ञप्ति जारी गरी फैसलाविरुद्ध आमसञ्चार र सामाजिक सञ्जालमा भएको बहसप्रति ध्यानाकर्षण भएको जनाएको हो । 

फैसलाको पूर्णपाठ तयार भएपछि बारले नै प्राज्ञिक बहस गर्ने भन्दै त्यसविरुद्ध अगाडि नै बहस गर्नु र अवज्ञा गर्नु उचित नहुने आशय सार्वजनिक गरेको हो । “राष्ट्रिय महत्त्वका एवं सार्वजनिक सरोकारका मुद्दाहरू र अन्य मुद्दाहरूमा अदालतबाट भएका फैसलाहरूका बारेमा आमसञ्चारका माध्यम र सामाजिक सञ्जालमा आएका विषयहरूप्रति नेपाल बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,” बारको विज्ञप्तिमा भनिएको छ, “अदालतबाट भएका फैसलाहरूका बारेमा पूर्णपाठ तयार भएपछि नेपाल बार एसोसिएसनले फैसला अध्ययन समितिमार्फत प्राज्ञिक अध्ययन गरी आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी गराइन्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलनका विषयमा बारले इन्जिनियर्स एसोसिएसन, नेपाल मेडिकल एसोसिएसनसँग गम्भीर छलफल भएको जानकारी दिँदै बारले चिकित्सकहरूलाई संवादमा आउन आह्वान गरेको छ । 

“नेपाल मेडिकल एसोसिएसनले सार्वजनिक गरेको विरोधका कार्यक्रमका सम्बन्धमा नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल मेडिकल एसोसिएसनको बीचमा गम्भीर छलफल भएको छ,” बारले भनेको छ, “नेपाल मेडिकल एसोसिएसनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिई वार्ताद्वारा समस्या समाधान गर्न नेपाल सरकार र नेपाल मेडिकल एसोसिएसनलगायत सम्बद्ध सबै सरोकारवालालाई हार्दिक आग्रह गर्दछौँ ।” 

उपभोक्ता अदालतले ओम अस्पताल, ग्रान्डी सीटी अस्पताल र हिमाल अस्पताललाई उपचारमा लापरबाही गरेको ठहर गर्दै चिकित्सकलाई पनि कारबाही हुने फैसला गरेको थियो । अदालतको फैसलामा असहमति राख्दै नेपाल मेडिकल एसोसिएसनको नेतृत्वमा आन्दोलन भइरहेको छ । एसोसिएसनले सार्वजनिक गरेअनुसार सोमबार (भोलि) देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने कार्यक्रम छ । त्यसविरुद्ध बारले सार्वजनिक सरोकार राख्दै सक्रियता देखाएको हो ।

अदालतको फैसलाविरुद्ध बौद्धिक बहस र अदालती प्रक्रियाबाट पुनरवलोकन/पुनरावेदन गर्न सकिने भए पनि फैसलाको अवज्ञा गर्न मिल्दैन । तर, चिकित्सकले भने फैसलाविरुद्ध नै आन्दोलन घोषणा गरेका हुन् । नेपाल चिकित्सक संघले नेतृत्व गरेको आन्दोलनमा निजी मेडिकल तथा डेन्टल कलेजको संगठन, नर्सिङ एसोसिएसन, नेपाल साइकोथेरापी एसोसिएसन, नेपाल भेटनरी एसोसिएसनसहित नौवटा संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्